घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु
गुल्मी : गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका–६ स्थित घ्युउपानीकी ३१ वर्षीय लक्ष्मी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुले बताए।
थापा बिहीबार दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीहरूले खोजी गर्दा किरा चौर भीरमुनि उनको शव फेला परेको थियो।
प्रहरी उपरीक्षक सारुका अनुसार गाउँकै सामुदायिक वनमा घाँस काट्न गएकी लक्ष्मीको करिब १५–२० मिटर तल भीरमा थापाको मृत शव फेला परेको थियो। स्थानीय र घर परिवारले खोजीको क्रममा थापालाई भीरमा लडेर मृत अवस्थामा देखेपछि उनीहरूले इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको थियो।
मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ। लक्ष्मीका दुई छोरा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !