संसद् बुझ्दै विद्यार्थी

संसद् बुझ्दै विद्यार्थी
नमुना संसदीय अभ्यासका क्रममा सभामुख रामचन्द्र मण्डलसँग छलफल गर्दै युवा विद्यार्थीहरू । तस्बिर : मनिका झा

जनकपुरधाम : मधेस प्रदेशसभा सभामुख रामचन्द्र मण्डल कक्षा १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूसँग एक सातादेखि व्यस्त छन् । धनुषा र महोत्तरीका विभिन्न क्याम्पसमा अध्ययनरत छात्रछात्राहरूलाई सदन कसरी सञ्चालन हुन्छ र सभामुखको भूमिका कस्तो हुन्छ ? भन्ने विषयमा निकै सहज रूपमा बुझाउने प्रयास गरिरहेका छन्, सभामुख मण्डल । विद्यार्थीहरूले सभामुखसँग थरीथरीका जिज्ञासाहरू राख्छन् र त्यसको सहज उत्तर पनि पाइन्छ । 

मधेस प्रदेशसभा सचिवालयले युवा र विशेष गरी विद्यार्थीहरूलाई संसदीय प्रक्रिया, नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता एवं क्षमता विकास गर्ने तथा नीति विश्लेषणमा दक्ष बनाउने उद्देश्यका साथ दुई जिल्लामा आयोजना गरेको ‘नमुना युवा संसदीय अभ्यास’ का क्रममा युवाहरूले संसद् बुझ्ने अवसर पाएका हुन् । 

‘आजका युवा नै भविष्यमा देश, प्रदेश र स्थानीय तहको नेतृत्व गर्ने छन् उनीहरूलाई अहिले देखिनै संसदीय अभ्यासबारे ज्ञान दिन सकियो भने भोलि मधेसमा दक्ष जनप्रतिनीधि उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ सचिवालयले यस्तो कार्यक्रम आयोजना गरिएको हो,’ मधेस प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइराला भन्छन्, ‘यसले विद्यार्थीहरूमा नेतृत्व विकास मात्रै गर्दैन् कि हाम्रो देशमा चलिरहेको संसदीय प्रणालीका विषयमा पनि प्रष्ट हुन सहज बनाउँछ ।’

सभामुखसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो जिज्ञासा राख्न पाउनुका साथै विद्यार्थीहरूलाई प्रदेशसभामा अवलोकन, भ्रमण गराउने संसदीय दलको भूमिका, सांसदहरूले के काम गर्छन् ? बजेट र योजनाहरू कसरी निर्माण हुन्छन् ? नीति तथा कार्यक्रम कसरी बन्छन् ? भन्ने विषयहरूमा समेत प्रशिक्षकहरूद्वारा जानकारी गराइएको हो । ‘कलेजका किताबहरूबाहेक अन्य कुराहरू त्यक्ति बुझ्दैनथ्यौं । 

हुनत यो मन्त्रीहरू, सांसदहरू, प्रदेशसभाका बारेमा थाहा त थियो तर, तिनीहरूले के र कसरी काम गर्छन् भन्नेबारे बुझेका थिएनौं, तर अहिले यो अभ्यासमा सहभागी भएपछि संसद्का बारेमा बुझाइहरू प्रष्ट भएका छन्,’ स्नातक तहका विद्यार्थी निशान्त ओझा भन्छन्, ‘आचारसंहिता भनेको के हो ? संसद्मा बोल्दा कसरी बोल्ने ? सभ्य र असभ्य भाषाहरू के हुन् ? सदनमा पक्ष, विपक्ष, मन्त्रीहरू कसरी बस्छन् ? भन्ने कुरा सिक्यौं । सभामुख कसरी चयन हुन्छन् ? मुख्यमन्त्री कसरी बन्छन ? र, मन्त्रिपरिषद्ले के कस्ता कामहरू गर्छन् भनेर पनि सिक्ने अवसर पाएकाले जीवनभरि काम लाग्छन् ।’

युवाहरूलाई नमुना संसदीय अभ्यासमा विधेयक र कानुन निर्माण प्रक्रियाका विषयमा समेत जानकारी गराउने गरिएको छ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले आजका युवा नै भोलिका सांसद भएको हुनाले उनीहरूलाई संसदीय प्रणालीका विषयमा अवगत हुनु आवश्यक रहेको बताए । 

‘अहिलेका युवाहरूले प्रक्रिया र प्रणाली बुझेर राजनीतिमा प्रवेश गर्न सक्ने अवसर पर्याप्त छ यसले भोलिको भविष्य सुनौलो हुने देखिन्छ । तर, हाम्रो पालामा यस्ता अभ्यासहरू थिएन् । गर्दै सिक्दै सदनमा पुगिन्थ्यो,’ जसपा सचेतक यादवले भने । 
‘हजारौं जनताको बलिदान पछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाउने अभिभारा अब हाम्रा युवाहरूकै काँधमा आउने छ,’ सभामुख मण्डल भन्छन्, ‘आफ्नो देशमा चलिरहेको संवैधानिक व्यवस्था अनुसारको सरकारको विषयमा युवाहरू अवगत हुनुपर्दछ ।’ नमुना संसदीय अभ्यासमा युवाहरूलाई विभिन्न दलका सांसदहरूले सदनमा हुने अभ्यासहरूका विषयमा अवगत गराउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.