सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। उनको विश्वासको मतका लागि आज अपराह्न ५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
आर्थिक अनियमिततामा मुछिएपछि असार १९ गते मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। त्यसपछि नाउपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
त्यसपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने आवाज उठ्दै आएको थियो । ‘आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिने भनेपछि प्रदेश सभा बोलाइएको हो,’ प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने ।
५३ सदस्यीय प्रदेश सभामा अहिले ५२ सदस्य छन्। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारी भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा छन् भने बाँकी रहेका ५१ सदस्य मध्ये विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।
प्रदेश सभामा कांग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नाउपाका ७, समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन्।
प्रदेश सरकारमा अहिले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सदस्यको मुख्यमन्त्रीलाई समर्थन छ। यद्यपि उनले आजको विश्वासको मतका लागि नाउपाको पनि समर्थन खोजिरहेका छन्। कांग्रेस र एमालेले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप नै जारी गरिसकेका छन्।
तर नाउपाका ७ जनाले मुख्यमन्त्रीलाई मत दिने नदिने भन्ने कुरा अहिले नै टुंगो लागि सकेको छैन। ‘मुख्यमन्त्रीले हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरेका छन्। न कुनै मुद्दा लागेको छ । न अख्तियारले नै मुद्दा लगाएको छ। त्यत्तिकै मन्त्रीलाई बर्खास्त गरेका छन्। उनलाई पुनर्बहाली गरेमा मात्रै हामी विश्वासको मत हाल्छौँ, हैन भने विपक्षमा भोट हाल्ने सल्लाह भइरहेको छ’, नाउपाका संरक्षक रेशमलाल चौधरीले भने।
नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी बिरामी भएर काठमाडौंमा छन् भने बाँकी रहेका ६ जना मध्ये ३÷३ जना विश्वासको मत दिने र नदिने पक्षमा विभाजित भएका छन्।
तर मुख्यमन्त्री शाहले भने आफूले विश्वासको मत पाउने बताए। ‘कांग्रेस एमालेकै बहुमतभन्दा बढी सदस्य छन्, त्यसैले विश्वासको मत पाउँछु, तर अरू दलहरूलाई पनि मिलाएर लैजाने प्रयास जारी रहन्छ,’ मुख्यमन्त्री शाहले भने ।
प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्र, प्रतिपक्षमै रहेको समाजवादी बाहेक स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशी र राप्रपाले पनि विपक्षमा मत हाल्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !