हिमाली भेगमा गहुँ काट्ने सिजन सुरु

हिमाली भेगमा गहुँ काट्ने सिजन सुरु
सुन्नुहोस्

गोरखा : गोरखाको हिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएको छ । स्थानीय धावा छिरिङ लामाका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको सुरुवात गरिएको हो ।

बुधबार पहिलो दिन लामागाउँस्थित चुमगुम्बाको जग्गाको गहुँ भित्र्याइएको हो । ‘दुई दिनअघि गाउँलेहरूको सभा बस्यो । त्यहाँ लाप्राङ लामाले दिन जुराउनु भयो’, उनले भने, ‘त्यहीअनुसार सबै गाउँलेहरू मिलेर बुधबार चुमगुम्बाको गहुँ भित्र्याइयो । अब बिहीबारदेखि किसानहरूको गहुँ काटिन्छ ।’ गाउँलेहरू मिलेर आलोपालो गरी सबैको गहुँ भित्र्याउने प्रचलन रहेको उनले बताए ।

‘ङाक्यु, लेरुदेखि गहुँ काट्न सुरु हुन्छ । एक दुई दिन ङाक्यु र लेरुको काटेर सकिन्छ । अर्को एक दुई दिनमा लामागाउँको काटिन्छ’, चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले भने, ‘त्यसपछि बुर्जी, लार, पाङदुन, छुले, निलेको काटिन्छ ।’ करिब १५ दिनमा सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने उनले बताए ।

चुमनुब्री गाउँपालिका—७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो । ३३ सयदेखि ३५ सय मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ । ‘गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ’, उनले भने, ‘अब खाली बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ । यहाँ गहुँ, फापर र आलुमात्र खेती गर्ने गरिन्छ ।’

हिमाली भेगमा पनि खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने क्रम बढेको छ । ‘सबैले तिब्बतबाट मेसिन ल्याउँछन् । घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ । केही दिन सुकाएपछि गहुँ कुट्न पनि मेसिनकै प्रयोग गरिन्छ’, पासाङ फुञ्जोले भने, ‘१० जना मान्छेले गर्ने जति काम एउटा मेसिनले गर्न सक्दो रहेछ । धेरै सजिलो भएको छ ।’ १० वर्षअघि सबैभन्दा पहिले आफूले गहुँ काट्ने मेसिन ल्याएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.