मृत्युको न्यायिक घोषणा भएको दुई वर्षपछि जब जुठे फर्किए

मृत्युको न्यायिक घोषणा भएको दुई वर्षपछि जब जुठे फर्किए
सुन्नुहोस्

गोरखा : गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।

उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो । मोटो न मोटो, अग्लो न अग्लो मान्छे, मैले चिन्नै सकिन । अक्क न बक्क भएर हेरेको हेरै भएँ ।’ त्यतिबेलाको खुसीलाई बयान गर्ने शब्द नपाएर उनी अकमक्क परिन् ।

जुठे २९ वर्षको कल्कलाउँदो जवानीमा घर, घरबार छोडेर मुग्लान पसेका थिए । अहिले घर फर्कँदा ६३ वर्ष टेकिसकेका छन् । ‘कान्छो छोरो पेटमा आठ महिनाको हुँदा छोडेर कलकत्ता गएका हुन् । अहिले कान्छोपट्टि पनि दुइटा नाति भइसके । चिन्नु पनि कसरी’, उजेलीले भनिन्, ‘मै हो क्या मै हो भनेपछि बल्लबल्ल चिनियो ।’ पोखरा बसमा आएका उनले खैरेनीबाट आएको ट्याक्सी फिर्ता पठाइदिए । फिनामसम्म जान फेरि अर्को ट्याक्सी खोजे । अनि घरका लागि हिँडे । ‘जेठो छोरो बाटोसम्म पर्खिरहेको थियो । सानोमै छाडेर जानुभा’को बाउलाई उसले नि चिन्ने कुरै भएन’, उजेलीले भनिन्, ‘घर पुग्यौं । कान्छाले त बाउको मुखै देखेकै थिएन । ३५ वर्ष हराएका बाउ घर फर्की आएको देखेर सबैजना छक्कै परे ।’ 

गाउँकै एक जना दाइको पछि लागेर जुठे २०४८ साल चैत १० गते मुग्लान पसेका थिए । ‘सधंै आउने जाने दाइ थिए । मलाई कलकत्ताको एउटा कम्पनीमा छाडेर ती दाइ कता गए कता । त्यतिबेला फोन पनि थिएन । चिठी लेख्न आफूलाई कालो अक्षर भैंसी बराबर’, जुठेले एकसासमा भने, ‘पछि फोनको चलन त आयो तर आफ्नो फोन नम्बर घरकालाई थाहा छैन, घरको फोन नम्बर आफूलाई थाहा छैन । यता नेपालका एकजना पनि चिनेको थिइन । म त नराम्ररी हराएँ ।’ 

जुठे हराएको ३३ वर्ष पुग्यो । यत्तिका समय अत्तोपत्तो नभएपछि घरमा व्यावहारिक, कानुनी गाँठोहरू फुकाउने प्रक्रिया सुरु भयो । अंशबन्डाको दाबी गर्न पनि कानुनी बाटो खुलाउनु पर्ने अवस्था आयो । त्यसैले उजेलीले २०७९ साल कात्तिक २१ गते गोरखा जिल्ला अदालतमा आएर पतिको मृत्युको न्यायिक घोषणा गर्न निवेदन दिइन् । अदालते जाँचबुझ, खोजतलासको प्रक्रिया पूरा गरेपछि पुसको २६ गते जुठेको मृत्यु भएको न्यायिक घोषणा गर्‍यो । त्यसकै आधारमा वडा कार्यालयले पुसको २८ गते मृत्यु दर्ताको प्रमाणपत्र बनाइदियो ।

कामको सिलसिलामा उनीसँग आँबुखैरेनीका एक जनासँग चिनजान भयो । आफ्नो सबै कथा कहानी सुनाएपछि उनले घर फर्कन आफूले मद्दत गर्ने बचन दिए । उनकै सहयोगमा अहिले उनी फर्केका हुन् । आगमनपछि उनलाई कानुनी रूपमा पनि जियाउने काम भएको अदालतले जनाएको छ । ‘उहाँको आगमन भएपछि फेरि उजेली बिकले आफ्नो पतिको मृत्युको न्यायिक घोषणा बदर गरिपाउँ भनेर निवेदन दिइन् । व्यक्ति स्वयं उपस्थित भएपछि हामीले हालसालै बदर घोषणा गरेका छौं’, गोरखा जिल्ला अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले भने ।
अहिले जुठेको दम्पती राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.