पुस्तान्तरण कुर्दै ‘लाखे’ संस्कृति

पुस्तान्तरण कुर्दै ‘लाखे’ संस्कृति
सुन्नुहोस्

भोजपुर : नागपञ्चमीको सुरुवातसँगै भोजपुरका विभिन्न नेवार बस्तीमा यतिबेला सांस्कृतिक पर्व लाखेजात्रा सुरु भएको छ । भोजपुर बजार, दावा बजार, टक्सार बजार, चम्पे बजार, दिङ्ला बजारलगायतका नेवार बस्तीहरूमा लाखेजात्रा सुरु भएको हो ।

पहिले–पहिले लाखेजात्रा हेर्न गाउँगाउँबाट मानिस भोजपुर बजार, दावा बजार, चम्पे बजार, दिङ्ला बजार आउँथे । लाखे हेर्न मानिसको बाक्लो घुइँचो लाग्थ्यो । केही दशकअघिसम्म पनि भोजपुर, डबलीबजार, टक्सार र दावा भनेपछि मानिस टाढाटाढाबाट धाएर लाखेजात्रा हेर्न आउँथे । तर पछिल्ला वर्षहरूमा यसको रौनक सेलाएको देखिन्छ । 

धेरैजसो नेवार समुदाय बसाइँसराइ, विदेश पलायन हुनु र पछिल्लो पुस्तामा चासो कमी हुनाले जात्राको रौनक क्रमशः सेलाउँदै गयो । लाखेनाच हेर्ने मानिसको भीडभाडले खुट्ट राख्ने ठाउँसम्म नहुने भोजपुरमा पछिल्ला केही वर्षमा लाखेजात्राको रौनक खस्किँदै गएको थियो ।

सांस्कृतिक पर्व ओझेलिँदै गएका बेला पछिल्लो समय भने संस्कृति जगेर्नामा स्थानीय नेवार समुदाय जुर्मुराएका छन् । पुस्ता हस्तान्तरण, जात्राको संरक्षण संवद्र्धनमा भोजपुरका नेवार समुदाय जुट्न थालेका छन् । विशेषगरी नेवार समुदायको सांस्कृतिक महत्त्व बोकेको लाखे संस्कृति यहाँका अग्रज बूढापाका नहुनु, स्थानीय अग्रजहरू बसाइँ जानु र युवा पुस्तालाई चासो नहुनुले ओझेलमा परेको भोजपुर नगरपालिका— ८ का स्थानीय युवा अग्रज नवीन प्रधान बताउँछन् ।

‘लाखे संस्कृति ओझेलमा पर्नुका आफ्नै कारणहरू छन् । आफ्नै कमी, कमजोरीहरूले हो, चासो नहुनाले हो, संस्कृति संरक्षणप्रति बेवास्ता गर्नाले हो’, उनले भने, ‘लाखेजात्रा जगेर्नाका लागि अग्रजहरूको पथप्रदर्शन र अगुवाइ तथा पछिल्लो पुस्तामा संरक्षण संवर्धन गर्ने कुरामा जागरुक हुनपर्छ ।’ युवा जनशक्तिको कमी र पश्चिमा संस्कृतिको बढ्दो मोहसँगै भोजपुरको नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक घट्दै गइरहेको छ । युवा पिँढीमा संस्कृति जगेर्नाप्रति चासो कमी हुनाले लाखेजात्रा ओझेलमा परेको हो ।

दशक लामो सशस्त्र द्वन्द्वका कारण पनि कतिपय स्थानीय नेवार समुदाय पलायन र युवा पुस्ताको चासो नदिएका कारण यो सांस्कृतिक पर्व ओझेलमा पर्दै गएको छ । आफ्नो संस्कृतिलाई जोगाई राख्नुभन्दा पनि आधुनिक चलनचल्तीका संस्कारले पनि लाखे संस्कृतिको चहलपहल घटेको स्थानीय नेवार अग्रजहरू गुनासो गर्छन् । ‘हाम्रा संस्कृति हाम्रा सम्पत्ति हुन्, धरोहर हुन् । यो संस्कृतिलाई निरन्तर अघि बढाउन नयाँ पुस्तामा तालिमसहितका सांस्कृतिक वाद्यवादनको जगेर्ना गर्नुपर्दछ’, भोजपुर टक्सारका स्थानीय प्रेम शाक्य बताउँछन् ।

साउनको नागपञ्चमीदेखि श्रीकृष्ण रथयात्रासम्म स्थानीय नेवार समुदायले धूमधामका साथ लाखेजात्रा निकालिन्छ । नेवारी समुदायको प्रचलित गठेमंगल, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाइँजात्रा, हिलेजात्रा, सैनिकजात्रा निकालिने गरिन्छ । विगतका वर्षमा झैं यो वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत भेषभूषा र चरित्रमा लाखेजात्रा देखाइने गरिएको नेपाल भाषा मंका खलः भोजपुरका प्रतिनिधि गणेश प्रधानले बताए ।

लाखेजात्राको महत्त्वलाई पुस्तान्तरण गर्न लाखे संस्कृतिलाई जगेर्ना गर्न लागि पर्नुपर्ने सरोकारवालाहरू सुनाउँछन् । यसरी लाखेजात्राको रौनक घट्नु एकातिर र आफ्नो परम्परा र संस्कृति जगेर्नामा पनि ध्यान नदिनु अर्कोतिरको कारणले स्थानीय सांस्कृतिक परम्परा धराशायी बन्दै गएको भोजपुर टक्सारका नेवार संस्कृतविद् अम्रिका ताम्राकार सुनाउँछन् । ‘हाम्रा परम्पराको संरक्षण र संवद्र्धनमा सम्पूर्ण नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ, संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्‍यो, पश्चिमा शैलीका नाच र वाद्यवादनले मात्रै लाखेनाच हुँदैन, एकजनाले मात्रै संस्कृति जगेर्ना हुँदैन’, ताम्राकार थप्छन्, ‘परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवद्र्धन गर्न सकेमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ ।’

शताब्दी अघिदेखि नै भोजपुर बजारमा साउन, भदौको नागपञ्चमीदेखि श्रीकृष्ण रथ यात्रासम्म धूमधामका साथ लाखेजात्रा निकाल्ने गरिन्छ । दशक पहिलेसम्म दुर्गम गाउँगाउँबाट मानिस लाखेजात्रा हेर्न हप्तौं लगाएर सदरमुकाम आउने गर्थे । तर बढ्दो आधुनिकतावाद र विदेशी संस्कार र संस्कृतिप्रतिको लगावले लाखेजात्रामा पहिलेजस्तो रौनक हुन छाडेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.