पुस्तान्तरण कुर्दै ‘लाखे’ संस्कृति
भोजपुर : नागपञ्चमीको सुरुवातसँगै भोजपुरका विभिन्न नेवार बस्तीमा यतिबेला सांस्कृतिक पर्व लाखेजात्रा सुरु भएको छ । भोजपुर बजार, दावा बजार, टक्सार बजार, चम्पे बजार, दिङ्ला बजारलगायतका नेवार बस्तीहरूमा लाखेजात्रा सुरु भएको हो ।
पहिले–पहिले लाखेजात्रा हेर्न गाउँगाउँबाट मानिस भोजपुर बजार, दावा बजार, चम्पे बजार, दिङ्ला बजार आउँथे । लाखे हेर्न मानिसको बाक्लो घुइँचो लाग्थ्यो । केही दशकअघिसम्म पनि भोजपुर, डबलीबजार, टक्सार र दावा भनेपछि मानिस टाढाटाढाबाट धाएर लाखेजात्रा हेर्न आउँथे । तर पछिल्ला वर्षहरूमा यसको रौनक सेलाएको देखिन्छ ।
धेरैजसो नेवार समुदाय बसाइँसराइ, विदेश पलायन हुनु र पछिल्लो पुस्तामा चासो कमी हुनाले जात्राको रौनक क्रमशः सेलाउँदै गयो । लाखेनाच हेर्ने मानिसको भीडभाडले खुट्ट राख्ने ठाउँसम्म नहुने भोजपुरमा पछिल्ला केही वर्षमा लाखेजात्राको रौनक खस्किँदै गएको थियो ।
सांस्कृतिक पर्व ओझेलिँदै गएका बेला पछिल्लो समय भने संस्कृति जगेर्नामा स्थानीय नेवार समुदाय जुर्मुराएका छन् । पुस्ता हस्तान्तरण, जात्राको संरक्षण संवद्र्धनमा भोजपुरका नेवार समुदाय जुट्न थालेका छन् । विशेषगरी नेवार समुदायको सांस्कृतिक महत्त्व बोकेको लाखे संस्कृति यहाँका अग्रज बूढापाका नहुनु, स्थानीय अग्रजहरू बसाइँ जानु र युवा पुस्तालाई चासो नहुनुले ओझेलमा परेको भोजपुर नगरपालिका— ८ का स्थानीय युवा अग्रज नवीन प्रधान बताउँछन् ।
‘लाखे संस्कृति ओझेलमा पर्नुका आफ्नै कारणहरू छन् । आफ्नै कमी, कमजोरीहरूले हो, चासो नहुनाले हो, संस्कृति संरक्षणप्रति बेवास्ता गर्नाले हो’, उनले भने, ‘लाखेजात्रा जगेर्नाका लागि अग्रजहरूको पथप्रदर्शन र अगुवाइ तथा पछिल्लो पुस्तामा संरक्षण संवर्धन गर्ने कुरामा जागरुक हुनपर्छ ।’ युवा जनशक्तिको कमी र पश्चिमा संस्कृतिको बढ्दो मोहसँगै भोजपुरको नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक घट्दै गइरहेको छ । युवा पिँढीमा संस्कृति जगेर्नाप्रति चासो कमी हुनाले लाखेजात्रा ओझेलमा परेको हो ।
दशक लामो सशस्त्र द्वन्द्वका कारण पनि कतिपय स्थानीय नेवार समुदाय पलायन र युवा पुस्ताको चासो नदिएका कारण यो सांस्कृतिक पर्व ओझेलमा पर्दै गएको छ । आफ्नो संस्कृतिलाई जोगाई राख्नुभन्दा पनि आधुनिक चलनचल्तीका संस्कारले पनि लाखे संस्कृतिको चहलपहल घटेको स्थानीय नेवार अग्रजहरू गुनासो गर्छन् । ‘हाम्रा संस्कृति हाम्रा सम्पत्ति हुन्, धरोहर हुन् । यो संस्कृतिलाई निरन्तर अघि बढाउन नयाँ पुस्तामा तालिमसहितका सांस्कृतिक वाद्यवादनको जगेर्ना गर्नुपर्दछ’, भोजपुर टक्सारका स्थानीय प्रेम शाक्य बताउँछन् ।
साउनको नागपञ्चमीदेखि श्रीकृष्ण रथयात्रासम्म स्थानीय नेवार समुदायले धूमधामका साथ लाखेजात्रा निकालिन्छ । नेवारी समुदायको प्रचलित गठेमंगल, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाइँजात्रा, हिलेजात्रा, सैनिकजात्रा निकालिने गरिन्छ । विगतका वर्षमा झैं यो वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत भेषभूषा र चरित्रमा लाखेजात्रा देखाइने गरिएको नेपाल भाषा मंका खलः भोजपुरका प्रतिनिधि गणेश प्रधानले बताए ।
लाखेजात्राको महत्त्वलाई पुस्तान्तरण गर्न लाखे संस्कृतिलाई जगेर्ना गर्न लागि पर्नुपर्ने सरोकारवालाहरू सुनाउँछन् । यसरी लाखेजात्राको रौनक घट्नु एकातिर र आफ्नो परम्परा र संस्कृति जगेर्नामा पनि ध्यान नदिनु अर्कोतिरको कारणले स्थानीय सांस्कृतिक परम्परा धराशायी बन्दै गएको भोजपुर टक्सारका नेवार संस्कृतविद् अम्रिका ताम्राकार सुनाउँछन् । ‘हाम्रा परम्पराको संरक्षण र संवद्र्धनमा सम्पूर्ण नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ, संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्यो, पश्चिमा शैलीका नाच र वाद्यवादनले मात्रै लाखेनाच हुँदैन, एकजनाले मात्रै संस्कृति जगेर्ना हुँदैन’, ताम्राकार थप्छन्, ‘परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवद्र्धन गर्न सकेमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ ।’
शताब्दी अघिदेखि नै भोजपुर बजारमा साउन, भदौको नागपञ्चमीदेखि श्रीकृष्ण रथ यात्रासम्म धूमधामका साथ लाखेजात्रा निकाल्ने गरिन्छ । दशक पहिलेसम्म दुर्गम गाउँगाउँबाट मानिस लाखेजात्रा हेर्न हप्तौं लगाएर सदरमुकाम आउने गर्थे । तर बढ्दो आधुनिकतावाद र विदेशी संस्कार र संस्कृतिप्रतिको लगावले लाखेजात्रामा पहिलेजस्तो रौनक हुन छाडेको छ ।
प्रतिक्रिया दिनुहोस !