गन्तव्यको स्वर्ग बन्दै लुम्बिनी
बुटवल : लुम्बिनी प्रदेशका विभिन्न पालिकाले गाउँमै घुम्नलायक पर्यटकीय गन्तव्यको विकास गरेका छन्। प्राकृतिक सम्पदालाई सिंगारेर चिटिक्क बनाएका छन्। थोरै लगानी गर्दा पनि ती गन्तव्यहरूले पर्यटकको मन तानेका छन्। युद्ध संग्रहालयदेखि, शान्तिपार्क र साहसिक जिपलाइनदेखि
ढुंगेबगैजा बनाएर पालिकाहरूले पर्यटक लोभ्याएका छन्। लुम्बिनीका १२ वटै जिल्लाका थरीथरीका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा छन्।
मालिकाको ‘पिसपार्क’ गतिलो गन्तव्य
आन्तरिक एवं बाह्य पर्यटकहरू दिन प्रतिदिन पुग्ने गर्छन्। चारैतिर हरियाली जंगल। छेउमै मदन भण्डारी राजमार्ग। र, बीचमा गाउँपालिकाले बनाएका पर्यटनका पूर्वाधार साँच्चिकै लोभलाग्दा छन्। पहिलो नजरमै पर्यटकहरूको यो पार्कले मन तान्ने गर्छ। वृद्धदेखि बालबालिकाहरू भुल्ने पूर्वाधार छन्। पिकनिक खाने बेग्लै व्यवस्था छ। बीचमै बनाइएको शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको शालिक अर्को आकर्षण हो। पार्कभित्रै मालिका भगवतीदेवी मन्दिर मालिकाको भगेनी पालिका ललितपुर महानगरपालिकाले बनाइदिएको छ। 
‘गाउँपालिकाको यो गौरवको आयोजना हो’, पालिका अध्यक्ष देविराम अर्यालले भने, ‘पर्यटकहरूको दिनहुँ भीड लाग्ने गर्छ। यसलाई अझ व्यवस्थित गर्दै छौं। चालु आर्थिक वर्षका लागि ३ करोड बजेट विनियोजन भएको छ।’ अघिल्लो जनप्रतिनिधिकै कार्यकालदेखि निर्माण थालिएको यो पार्कलाई अहिले व्यवस्थित बनाउने काम गरिएको अर्यालले सुनाए।
चालु आवको साउनदेखि विद्यार्थी र वृद्धका लागि प्रतिव्यक्ति १५ र अन्यका लागि २० रुपैयाँ शुल्क तोकिएको छ। पिकनिक खान पुग्नेहरूका लागि ५ सय रुपैयाँ स्टल शुल्क कायम गरिएको छ। स्थानीय ढुलढुंगा सामुदायिक वनको क्षेत्रफललाई गाउँपालिकाले घुम्नलायक पार्कका रूपमा निर्माण गरेको हो। पार्कको दैनिक हेरचाहका लागि गाउँपालिकाले दुई कर्मचारी राखेको छ। यस पार्कबाट धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालहरूको नजिकबाट दृश्वालोकन गर्न सकिन्छ।
मल्लरानीमा जिपलाइन
प्यूठानको अग्लो डाँडामा रहेको मल्लरानी क्षेत्र पछिल्लो समय जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। समुद्र सतहदेखि १ हजार ६ सय ५५ मिटर उचाइमा अवस्थित मल्लरानीमा मल्लरानी गाउँपालिकाले पर्याप्त पूर्वाधार निर्माण गरेको छ। यहाँ पुग्ने सडक अहिले कालोपत्रे गरिएको छ।
धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्वालोकन गर्न सकिने यो क्षेत्र विशेषतः शिलता खोज्ने र पिकनिक खानेहरूको प्रमुख गन्तव्य हो। दसैंै, तिहार, नयाँ वर्ष लगायत पर्वमा हजारौं पर्यटक पुग्ने गर्छन्।
यहाँ एक वर्षअघिदेखि निर्माण गरिएको साहसिक खेल मानिने जीपलाईन महत्वपूर्ण आकर्षणका रूपमा रहेको छ। तर, यसले गति लिन भने सकेको छैन। मल्लरानी टुरिजम इन्भेसमेन्ट कम्पनीमार्फत करिब ६० लाख रुपैयाँ लगानी गरिएको जिपलाइन अहिले निरन्तर चल्न सकेको छैन। मल्लरानी–४ का नागरिकहरूको साझा लगानीमा निर्मित जिपलाइन स्थानीय कासीपानी सामुदायिक वन क्षेत्रमा निर्माण भएकाले केही कानुनी जटिलता थपिएको सञ्चालकहरूले बताएका छन्।
‘तर, जिपलाइनलाई सबै कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन अनुमति दिने तयारीमा छौं’, मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले भने, ‘मल्लरानीको पर्यटकीय गन्तव्यका लागि यो एउटा महत्वपूर्ण माध्यम हो। आईईको काम भइरहेकाले अब निरन्तर चल्छ।’ उनले मल्लरानी क्षेत्रमा पूर्वाधार निर्माणका लागि ५ करोड रुपैयाँका बहुवर्षीय योजनाअनुसार काम भइरहेको बताए। ७० प्रतिशत संघ सरकारको पर्यटन मन्त्रालय र ३० प्रतिशत गाउँपालिकाले लगानी गरेको छ।
युद्ध बुझ्न रुकुमको महत जाऊँ
पूर्वीरुकुमको भूमे गाउँपालिका–६ मा पर्ने महत गाउँ युद्ध पर्यटनको रूपमा विकास भएको छ। नयाँ पुस्ताका लागि युद्धका बारेमा सिकाइ केन्द्रका रूपमा यो ठाउँ विकास भइरहेको छ। २०५२ देखि ०५९ सालसम्मको जनआन्दोलनमा महत गाउँबाटै ५७ जना नागरिकहरूले ज्यान गुमाएका थिए। राज्यपक्षबाट ५० र विद्रोही पक्षबाट ७ जनाले ज्यान गुमाएका थिए।
२०५६ असोज ५ गते राति माओवादीले प्रहरी चौकी आक्रमण गरी प्रहरी नायव उपरीक्षक (डीएसपी) ठूले राईलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा परेको थियो। माओवादीले युद्ध अबधिभर प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको घटना पहिलो भएकाले पनि महत गाउँ खुबै चर्चामा रहेको थियो।महत मगरवस्तीको बाहुल्यता भएको गाउँ हो।
‘महतलाई युद्ध स्मारिकाका रूपमा परिचित बनाउने योजना हो’, महत युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले भने, ‘यसले नयाँ पुस्तालाई कसरी युद्ध भएको रहेछ भन्ने कुराको ज्ञान दिन्छ। युद्ध पर्यटनका रूपमा हामीले यस गाउँलाई प्रबद्र्धन गरेका छौं।’ महतचौकी आक्रमणका मुख्य कमान्डर एवं पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र अन्य सहायक कमान्डर गरी जम्मा ६ जनाको यहाँ मोडल निर्माण गरिएको छ। युद्धका बेला कमाण्डरले सहायक कमाण्डरलाई कसरी युद्धमा भिड्ने बारेको कोचिङ गर्दाको अवस्थालाई झल्को दिने गरी निर्माण गरिएको छ। भूमे गाउँपालिकाको ३५ लाख र संसद् विकास कोषबाट २० लाख गरी ५५ लाख लगानीमा युद्ध फिचर निर्माण गरिएको बुढाले बताए।
रमणीय दृश्य बंगलाचुली भ्यूटावरबाट
दाङको बंगलाचुली गाउँपालिका–५ रहेको बंगलाचुली भ्यूटावर यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो। जहाँबाट रातको समयमा भारतको कोइलावासमा रेल गुडेको र तराइको कपिलवस्तुमा रहेको चन्द्रौटा र कृष्णनगरको बजार दृश्यावलोकन गर्न सकिन्छ। दाङ देउखुरीका समतल फाँटसहित सिस्ने र माछापुच्छ«े हिमाल पनि हेर्न सकिन्छ। स्थानीय बंगलाचुली सामुदायिक वनको करिब ८ बिघा क्षेत्रफल जग्गालाई व्यवस्थित गरी गाउँपालिकाले यसलाई आफ्नो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिए। ‘करिब ६० लाख रुपैयाँ लगानी गरेर पालिकाको शिरमा रहेको डाँडालाई चिटिक्क पारेका छौं’, पुनमगरले भने, ‘तराईबाट घुम्न आउनेको लर्को लाग्छ।’ उनले यसलाई अझ व्यवस्थित बनाउनका लागि पालिकाले थप लगानी गर्नेसमेत जानकारी गराए।
वार्षिक २५ हजारभन्दा बढी पर्यटकले भ्यूटावरबाट दृश्वालोकन गर्ने बंगलाचुली पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष कुलबहादुर वलीले जानकारी दिए। ‘समुद्र सतहदेखि १ हजार ८ सय मिटर उचाइमाा छ’, वलीले भने, ‘खासगरी पिकनिक स्थलको रुपमा धेरुले रुचाउने गर्नुहुन्छ। रमणीय दृश्व हेर्नका लागि पनि पर्यटकहरूको घुइँचो लाग्छ।’ यहाँबाट संकलन हुने शुल्कबाटै समितिले यसलाई व्यवस्थित सञ्चालन गरेको छ।
स्वर्ग जस्तै लाग्ने लोहोरीको लेक
अर्घाखाँचीको मालरानी गाउँपालिका–६ मा पर्ने लोहोरीको लेक आफैंमा स्वर्गीय आनन्दको स्थल हो। यहाँको तस्बिर देख्ने जो कोही पनि मोहित हुन्छन्। सालझन्डी ढोरपाटन सडक छेउँमै पर्ने यो स्थल छिमेकी जिल्ला प्यूठान र गुल्मीको संगममा पर्छ। तीन जिल्लाको संगम सौतामारे नजिकै पर्ने लोहोरी पुगेपछि फर्किन मनैले मान्दैन। बाटोमा यात्रा गर्नेहरू पनि ओर्लिएर यहाँको प्रकृतिसँग साइनो गासेर अघि बढ्छन्।
१२ वटै जिल्लाका कुना–कुनामा लुकेर बसेका पर्यटकीय स्थलहरूलाई मूलधारमा ल्याउने गरी प्रबद्र्धनका कार्यक्रम बनाएका छौं। ३ सयभन्दा बढी त्यस्ता स्थलहरूको पहिचान भएको छ। गत आवमा अर्घाखाँचीको पाणिनीमा गरिएको पाणिनी सम्मेलन कोशेढुंगा सावित भयो। घुम्न जाउँ बर्दिया पनि अर्को महत्वपूर्ण कार्यक्रम थियो। यसवर्ष दाङमा घुम्न जाउँ धारापानी सञ्चालन हुनेछ। धारापानीमा विश्वकै अग्लो त्रिशूल छ। तर, प्रदेशको नीति, कार्यक्रममा पर्यटन र कृषि भए पनि त्यसलाई बजेटले सम्बोधन गर्न सकेको छैन्।
प्रचण्ड विक्रम न्यौपाने - मन्त्री, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशगर्मीमा शीतलता खोज्न आउनेहरूको मालिका पिसपार्कमा लर्को लाग्छ। हामीले यो क्षेत्रलाई अर्गानिक नै राख्छौं। अप्राकृतिक संरचना बनाएर बिगार्ने पक्षमा छैनौं। गाउँपालिकाको यो गौरवको योजना हो। प्राकृतिक संरचनालाई नै अझै चिटिक्क पार्ने गरी काम गर्ने योजना छ। पार्कभित्रै मालिका भगवतीदेवी मन्दिर भगेनी पालिका ललितपुर महानगरपालिकाले बनाइदिएको छ। अघिल्लो जनप्रतिनिधिकै कार्यकालदेखि निर्माण थालिएको यो पार्कलाई अहिले व्यवस्थित बनाउने काम गरेका छौं।
देवीराम अर्याल - अध्यक्ष, मालिका गाउँपालिका गुल्मीमल्लरानी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँ बर्सेनि पर्यटकहरूको आकर्षण बढ्दो छ। त्यहाँ पुग्ने सडक कालोपत्रे गरिएको छ। धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्यावलोकन गर्न सकिन्छ। नजिकै निर्माण गरिएको जिपलाइन महत्वपूर्ण आकर्षण हो। निजी क्षेत्रबाट निर्माण गरिएको भए पनि त्यसको प्रबद्र्धन र कानुनी जटिलता फुकाउने काममा पालिकाले सहजीकरण गर्छ। मल्लरानी क्षेत्रमा पूर्वाधार निर्माणका लागि ५ करोड रुपैयाँको बहुवर्षीय योजनाअनुसार काम भइरहेको छ। जसमा ७० प्रतिशत संघ सरकार र ३० प्रतिशत गाउँपालिकाले लगानी छ।
रमेशकुमार श्रेष्ठ - उपाध्यक्ष, मल्लरानी गाउँपालिका प्यूठान
लोहोरीलाई मालरानी गाउँपालिकाले पर्यटन प्रबद्र्धन गर्ने गरी वार्षिक रूपमा कार्यक्रम गर्ने गर्छ। ‘यो ठाउँ आफैंमा लेक हो। धेरै पूर्वाधार बनायौं भने स्वरूप बिग्रन सक्छ’, गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले भने, ‘आउने पर्यटकलाई सहज होस् भन्नका लागि वडामार्फत व्यवस्थापनमा बजेट विनियोजन गरेका छौं।’ उनले यस क्षेत्रमा पर्यटकहरू घुम्न आउने र बसाई लम्बाउने गरी नजिकैका क्षेत्रमा अन्य संरचना बनाउने सोंच बनाएको जानकारी गराए। छिमेकी जिल्ला गुल्मीको पर्यटकीयस्थल क्वांकेदेउरालीमा पुग्ने पर्यटकहरू नजिकैको लोहोरीलेकमा पुगेर फर्किनेसमेत गरेका छन्। योसँगै मालरानी मन्दिर, घेराको लेकलगायतका स्थलहरू मालारानीका अरू गन्तव्य हुन्।
लुकेका गन्तव्यलाई मूलधारमा ल्याउँछौं
लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका १२ वटै जिल्लाका कुनाकुनामा लुकेर बसेका पर्यटकीय स्थलहरूलाई मूलधारमा ल्याउने गरी प्रबद्र्धनका कार्यक्रम बनाएको जानकारी दिए। ‘तीन सयभन्दा बढी त्यस्ता स्थलहरूको मन्त्रालयले पहिचान गरिसकेको छ’, न्यौपानेले भने, ‘कार्ययोजना बनाएर सवैको विस्तारै प्रबद्र्धनका कार्यक्रम बनाउँछौं।’
उनले गत आर्थिक वर्ष अर्घाखाँचीको पाणिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पाणिनी सम्मेलन गरेपछि त्यहाँको पर्यटन पूर्वाधार निर्माणमा संघ सरकारले लगानी विस्तार गरेको जानकारी दिए। ‘घुम्न जाउँ बर्दियाले पनि बर्दियाको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दियो’, न्यौपानेले भने, ‘यसवर्ष पनि लुम्बिनीसहित विभिन्न जिल्लामा कार्यक्रम गर्ने योजना बनाएका छौं। दाङमा घुम्न जाउँ धारापानी यसैवर्ष संचालन हुनेछ।’ धारापानीमा विश्वकै अग्लो त्रिशूल निर्माण गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३८ अर्ब ९१ करोड बजेट ल्याएको छ। प्रदेशको नीति, कार्यक्रममै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने भने पनि त्यसको तालमेल बजेट बाँडफाँटमा नमिल्दा सोंचेअनुसार कार्यक्रम ल्याउन नसकिएको मन्त्री न्यौपानेले गुनासो गरे।
‘नीतिमा पर्यटन र कृषि छ तर बजेटले त्यसलाई सम्बोधन गर्न सकेको छैन’, उनले भने, ‘लुम्बिनी हिमाल, पहाड र तराईको भूभाग मिलेर बनेको हो। यहाँ प्रशस्त संभावना छन्, तर उजागर गर्ने र पूर्वाधार बनाउने बजेटको अभाव छ।’ चालु आर्थिक वर्षका लागि १२ वटै जिल्लामा पर्यटनका कार्यक्रम सञ्चालन गर्न चालु र पुँजीगतसहित मन्त्रालयको बजेट ६५ करोड हो।
गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा एक महिनासम्म उत्तर गण्डकी महाकुम्भ मेला, लुम्बिनी अन्तर्रास्ट्रिय, पूर्वीरुकुमको सिस्ने हिमाललाई लक्षित गर्दै हिमालयन पर्यटन हब र ट्राभल रुट निर्माण, प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको डिजिटल प्ल्याटफर्मसहित पर्यटकीय गन्तव्यहरूमा भौतिक पूर्वाधार संरचना निर्माण एवं सौन्दर्यकरणका कार्यक्रम चालु आवमा राखिएको न्यौपानेले बताए। लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउनका लागि मायादेवी मन्दिरमा साझ बिहान साधनासहितको पूजा गरिने कार्यक्रम रहेको समेत उनले सुनाए।
मालिका गाउँपालिका गुल्मीले अर्खावाङको देउरालीमा निर्माण गरेको मालिका पिसपार्क।
प्रतिक्रिया दिनुहोस !