खोर्लावेशीमा नवनिर्मित बेलिब्रिजको उद्घाटन
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बूढीगण्डकी जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ। तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ खोलामा निर्माण गरिएको पुलको आइतबार उद्घाटन गरिएको हो।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीका अध्यक्ष हिम पाठकले पुलको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखाको लाइफ लाइनका रुपमा रहेको सो बाटोमा पुल निर्माण गरेकामा आयोजनालाई धन्यवाद दिए। साथै समयमै आयोजनाको सुरुवात गरी समयमै सम्पन्न गर्न शुभकामना दिए।
आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जाका हिम पाठकले आयोजना र गाउँपालिकाको समन्वय र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे। साथै उनले पुल बनेपछि आयोजनाको बाँधस्थलसम्म सवारी साधन पुग्न सजिलो हुने भएकाले भदौदेखि नै काम सुरु गर्ने जानकारी दिए।
कार्यक्रममा चुमनुब्री गाउँपालिका-३ का वडाअध्यक्ष रामकुमार गुरुङ, धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ, धार्चेका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पुल ३७ मिटर लामो र ४ मिटर चौडा फराकिलो रहेको छ। सो पुल बनेपछि धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का बासिन्दा तथा चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दालाई सदरमुकाम तथा राजधानी लगायतका सहरी क्षेत्र आवतजावत गर्न सहज भएको छ। ‘यसअघि बर्खाका बेला खोर्लाखोला बढेर सवारी साधन चलाउन सकिँदैनथ्यो। अब पुल बनेपछि सजिलो भएको छ’, धार्चे ३ का पूर्व वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, ‘अब तातोपानी, दोभानसम्म ढुक्कले हिउँद बर्खै सवारी साधन चल्छ।’ चुमनुब्रीका बासिन्दा सवारी साधन चढ्न माछाखोलासम्म आइपुग्नु पर्नेमा अब सजिलो भएको उनको भनाइ छ।
३४१ मेगावाटको सो जलविद्युत आयोजना चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी ७ किलोमिटर सुरुङबाट पानी लगेर धार्चे ३ तातोपानीमा पावर हाउस निर्माण गरिनेछ। यहाँ उत्पादित विद्युत ४५ किलोमिटर पर नुवाकोटको रातमाटे सवस्टेशनमा लगेर केन्द्रीय प्रशारणमा जोडिनेछ।
प्रतिक्रिया दिनुहोस !