मिहिनेती किसानलाई इनामै इनाम

मिहिनेती किसानलाई इनामै इनाम
बर्दिया राजापुरको महाकालेश्वर मन्दिरस्थित स्वस्तिकधाममा बनाइएको १०८ शिवलिंग । तस्बिर : यादव आचार्य

गोरखा : यस वर्षको धान दिवसमा कृषि ज्ञानकेन्द्र गोरखाले गाईपाला किसान भीमसेन बस्नेतलाई उत्कृष्ट कृषकका रूपमा पुरस्कृत गर्‍यो । गाई, भैंसी तथा डेरी व्यवसायमा ३० वर्ष बिताएका उनलाई यसै वर्ष गण्डकी प्रदेश सरकारले पनि उत्कृष्ट किसान भनी पुरस्कृत गर्‍यो ।

कृषि र पशुपालनमा उल्लेखनीय काम गरेका उनी अहिलेमात्र होइन, यसअघि पनि पटकपटक पुरस्कृत भएका थिए । ‘२०७५ सालमा नगरपालिकाले उत्कृष्ट किसान भनेर पुरस्कृत गरेको थियो’, उनी सम्झन्छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजार निवासी ५७ वर्षका बस्नेत काम गर्न सक्ने उमेरदेखि नै श्रमप्रति सम्मान गर्ने व्यक्ति थिए । सुरुका दिनमा उनी घर बनाउने काममा ज्याला मजदुरी गर्थे । सिकर्मी, डकर्मी गरेर २५ वर्ष बिताएका उनले त्यसपछि बिस्तारै गाई, भैंसी पालनतर्फ खुट्टो घुमाएका हुन् ।

त्यसयताका तीन दशक उनी अविराम दुग्ध उत्पादन व्यवसायमा तल्लीन छन् ।

‘२०५१ सालबाट दूध उत्पादन व्यवसाय गर्न थालेको हुँ’, उनी भन्छन्, ‘त्यतिबेला घरमा दुईवटा गाई, सातवटा दुहुना भैंसी थिए । २०५४ सालमा चन्द्रज्योति दुग्ध उत्पादक सहकारी संस्था २०५६ सालमा गोरखकाली गाईफर्म दर्ता गरेँ ।’ दूध उत्पादन गरेर अरूको डेरीमा बेच्दा बक्यौता धेरै रहने र कहिल्यै पनि भुक्तानी नपाउने समस्याले पीडित हुने भएकाले आफंैले सहकारी गठन गरी डेरी उद्योग सञ्चालन गरेको उनको अनुभव छ । तर, चन्द्रज्योति दुग्ध उत्पादक सहकारी संस्था तथा चन्द्रज्योति डेरी उद्योगले पनि उनलाई सुख दिएन । व्यवस्थापनमा खटपट भएपछि सो सहकारी तथा डेरी उद्योग पनि सदाका लागि बन्द भयो ।

जय गोरखकाली एग्रो एन्ड डेरी फर्म दर्ता गरेर सञ्चालन गर्न थालेदेखि भने उनको सुखका दिन सुरु भएजस्तो लागेको छ । ‘चन्द्रज्योति सहकारीसँग, सुजल फुड्ससँग लाखौं रुपैयाँ लिनुछ तर कसरी लिने ? ,’ उनको पिरोलो छ, ‘बरु आफंै डेरी उद्योग सञ्चालन गर्छु भनेर चन्द्रज्योतिका उपकरणहरू सबै उठाएर घर लगेँ र आफैंले डेरी चलाएको छु ।’ विभिन्न डेरीसँग गरी उनले ३० लाख रुपैयाँभन्दा धेरै रकम पाउनुपर्ने छ । चन्द्रज्योतिका केही उठौती उपकरण ल्याएर उठाए पनि अझै धेरै रकम उठ्न बाँकी रहेको उनको भनाइ छ । घरमा डेरी भएपछि भने उनलाई लगानी फस्ने समस्याबाट बचेको अनुभूति भएको छ ।

‘अहिले यहाँबाट दैनिक करिब पाँच सय लिटर दूध उत्पादन हुन्छ’, उनी भन्छन्, ‘आफ्नै डेरीमा लैजान्छु । प्रशोधन गर्छु । दूध र घिउबाट बन्ने अरू परिकार पनि उत्पादन गर्छु । गोरखा बजारमै आनन्दले बिक्री हुन्छ ।’ आफ्नै कामदारबाट गोरखाका पसल र घरघरमा दूध पुर्‍याउने गरेको उनको भनाइ छ । ‘तर दुःखको कुरा के छ भने रक्सी उत्पादन गरेको भए टाढाटाढादेखि लिन आउँथे । दूध उत्पादन गरेको छु, घरघरै पुर्‍याउन जाँदा पनि अझै नजरअन्दाज गर्छन्’, उनी भन्छन् ।

गोरखा बजारमा दैनिक पाँच हजार लिटर दूधको उपभोग हुने गर्छ । त्यसमध्ये आफ्नो पाँच सय लिटर दूध सजिलो गरी बिक्री हुने उनको भनाइ छ ।
लक्ष्मीबजारभन्दा धेरै तल सिर्दीमा उनको गोठ छ । त्यहाँ दुहुना ५९ वटा गाई छन् । ब्याउने तरखरमा रहेका, बाच्छाबाच्छी गरी उनीसँग अहिले ८० भन्दा धेरै गाई छन् । ‘सबैभन्दा धेरै भएका बेला दुई वर्षअघि १ सय ७ वटा गाई थिए । अहिले ८० वटा जति छन्’, उनी भन्छन्, ‘दैनिक पाँच हजार लिटर दूधको माग छ । मैले आपूर्ति गर्ने पाँच सय लिटर मात्र हो । जति गाई, भैंसी पाले पनि गोरखाको माग धान्न सकिँदैन । त्यसैले सबैले यो व्यवसाय गरे पनि जीवन निर्वाह हुन्छ ।’ यहाँका व्यापारीले हेटौंडा, चितवन, मार्किचोक, पोखराबाट दूध ल्याएर बजारको माग सम्बोधन गर्ने गर्छन् ।

सिर्दीमा उनको फर्मसँग दुई सय रोपनी जग्गा छ । ‘६५ रोपनी चाहिँ फर्मकै नाममा छ । अरूचाहिँ भाडामा हो’, उनी भन्छन्, ‘गोठमा, डेरीमा र बजारमा गरेर सात जना कामदार, कर्मचारीहरू छन् । दुई वर्षअघि दुई करोड रुपैयाँ कर्जा लिएको थिएँ । आधा जसो तिरिसकेँ । आधाजसो बाँकी छ । ऋण तिरेपछि आनन्द हुन्छ ।’ 

उनलाई संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पनि सहयोग गरिरहेका छन् । ‘एक वर्ष सरकारले ब्याजमा अनुदान दियो । बेलाबेला तालिम पनि दिइरहेको छ’, उनी भन्छन्, ‘नाम्ले, माटे, जुकाको औषधी पनि ५ महिना गोरखा नगरपालिकाले र ६ महिना गण्डकी प्रदेश सरकारले सहयोग गरिरहेको छ ।’ तैपनि केही चर्कै समस्यामा उनी गुज्रिरहेका छन् ।

‘गोठसम्म आउने बाटो पूरै कच्ची छ । दूध बोक्ने बोलेरो जिप, मल बोक्ने ट्र्याक्टर हिँड्न पनि धौधौ हुन्छ’, उनी भन्छन्, ‘गोठमा म्याट ओछ्याउन पाए गाई पनि निरोगी हुन्थ्यो । दूध उत्पादन पनि बढ्थ्यो । तर, सकेको छैन । किसानले उत्पादन गरेको दूध पालिका सरकारले बजारको ग्यारेन्टी गरिदिए सुनमा सुगन्ध हुन्थ्यो ।’ बाहिरबाट आउने कम गुणस्तरका दूध सस्तोमा बजारमा पाइने हुनाले आफूहरू पनि कम गुणस्तरको दूधको बजारभाउसँग प्रतिस्पर्धा गर्नु परिरहेको उनको गुनासो छ ।

अहिले सबै युवा वैदेशिक रोजगारीमा गएकाले फर्ममा काम गर्ने कामदार पाउन कठिन भएको पनि उनी सुनाउँछन् । जति बिघ्नबाधा भए पनि अझै कम्तीमा १५ वर्ष यही व्यवसाय गर्ने लक्ष्य रहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.