बिरीङ खोलामा आएको बाढीले बगायो दुई वर्षअघि भासिएको पुल

बिरीङ खोलामा आएको बाढीले बगायो दुई वर्षअघि भासिएको पुल
सुन्नुहोस्

झापा : झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्ड अन्तर्गतको बिरीङ खोलामा दुई वर्षअघि भासिएको मोटरेबल पक्की पुल बाढीले बगाएको छ। अविरल वर्षापछि बिरीङ खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका-७ स्थित मोटरेबल पक्की पुल बुधबार दिउँसो बगाएको हो। 

झापा र इलाम जोड्ने सो पुलको अन्दाजी २०–२५ मिटर भाग बगाएको जनाइएको छ। 

जिल्ला प्रशासन कार्यालय झापाले गत जेठ १२ गतेदेखि बिरिङ खोलाको सो क्षतिग्रस्त पुलबाट आवागमन पूर्णरुपमा बन्द गराइएको थियो। पुल बन्द गराउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सर्वपक्षीय बैठकमा निर्देशन दिएका थिए। 

पुल बन्द भएपछि शनिश्चरेबाट मिलडाँडा तर्फको वैकल्पिक बाटो प्रयोगमा ल्याएर सवारीसाधन आवागमन भइरहेको जनाइएको छ।  दुई वर्षअघि २०८० साउन २९ गते बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको थियो। 

पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले यसअघि नै प्राविधिक रुपमा पुल मर्मत गरेर प्रयोगमा ल्याउन उपयुक्त नभएको जनाएका थिए। आयोजना कार्यालयले सो जीर्ण पुल प्रयोग गर्नुको साटो विकल्पमा झन्डै २.२३ किमी दुरीमा रहेको सिस्ने–जयपुर सडकको पुल प्रयोग गर्न उपयुक्त रहेको वा इलामको माई तर्फ जाने/आउने सवारी साधनले बिर्तामोड–लक्ष्मीपुर–सुखानी सडक प्रयोग गर्न उपयुक्त हुने भनिएको थियो।  

बहुवर्षीय स्रोत सहमति प्राप्त नभएका कारण गत आर्थिक वर्षमा  ८५ लाख रकम विनियोजन भएपनि ठेक्का प्रक्रियामा जान नसकेको आयोजनाले जनाएको छ । विसं २०६५ सालमा भारत सरकारको दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.