क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्दै

क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्दै
सुन्नुहोस्

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण गर्न लागिएको छ । चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै युनिट बनाउन लागिएको हो । 

भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम दिने काम चीन सरकारले व्यवस्थापन गर्नेछ । यसका लागि चिनियाँ विशेषज्ञसहितको चिकित्सक टोलीले अस्पतालमा अनुगमन र अध्ययन थालेको छ । अस्पतालमा वातावरणीय मूल्यांकनको काम भइरहेको क्यान्सर अस्पतालले जनाएको छ । संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिन चीन सरकारले व्यवस्थापन गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

‘हामीले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन बुझाएपछि चीन सरकारले काम थालनी गर्नेछ । अबको एक महिनाभित्र हामीले प्रतिवेदन बुझाउनेछौं,’ डा. पौडेलले भने, ‘हाम्रो तर्फबाट छिटो गरेका छौं । भवन निर्माण र उपकरण खरिद चीनले नै गर्ने भएको कारण बजेट र प्राविधिक पक्षमा ढिलाइ नहुने हुनाले समयमै काम पूरा हुने आशा गरेका छौं ।’

करिब ९ करोडको लागतमा चार कट्ठामा भवन बनाउन लागिएको हो । चिनियाँ टोलीले अबको एक साता अस्पतालको विभिन्न विभागको अनुगमन गर्नेछ । बोनम्यारो प्रत्यारोपणसँग सम्बन्धित आईसीयू, प्याथोलोजी, रेडियोलोजी, मेडिकल अंकोलोजीलगायतको सेवाको अवस्थाबारे अनुमगन गरेपछि त्यसको स्तरोन्नतिको आवश्यकताबारे सुझाव दिनेछन् । 

अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले सेवा सुरु भएपछि नेपाली बिरामीका लागि सहज हुने बताए । ‘पूर्वाधार निर्माणका लागि हाम्रो तर्फबाट सक्दो सहजीकरण गरेका छौं,’ उनले भने, ‘सकेसम्म छिटो सेवा दिने हाम्रो लक्ष्य हो ।’

सुरुवातमा चार शय्याबाट सेवा सुरु गरिनेछ । एउटा बिरामी २१ देखी २८ दिनसम्म अस्पतालमै राख्नुपर्छ । नेपालबाट उपचारका लागि महँगो शुल्क तिरेर भारत जानुपर्ने बाध्यता छ । नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने बिरामी वार्षिक ५० को हाराहारीमा छन् । अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाहले प्रत्यारोपण केन्द्र बनेपछि बिरामीलाई भारत जाने बाध्यता हट्ने बताए ।

 ‘कतिपय बिरामी खर्च अभावले अस्पताल नै आउँदैनन् । हामीले जतिसक्दो कम शुल्कमा सेवा दिने भन्नेमा छौं’, उनले भने,‘ यसका लागि स्रोत व्यवस्थापन हो । सरकारले केही गरे बिरामीलाई सुविधा हुन्थ्यो ।’

बोनम्यारो ट्रान्सप्लान्ट वार्ड परिजोजनाका लागि काम तीव्र पारिने चिनियाँ विशेषज्ञ टोलीका प्रमुख डा. चाओ गुइमिनले बताए । चीन–नेपाल मेडिकल सहयोगको एक विजर्डिसिपको रूपमा यस परियोजना २०२२ मा प्रस्ताव गरिएको हो ।

‘उच्च–गुणस्तर बोनम्यारो ट्रान्सप्लान्ट क्षमता निर्माण दक्षिण एसियाका बिरामीहरूको लागि ठूलो रणनीतिक महŒव राख्छ । हामी अनुभव आदानप्रदान, प्राविधिक मापदण्ड, कर्मचारी प्रशिक्षणसहित चीनको अनुभवलाई खुसीसाथ साझा गर्दछौं,’ उनले भने , ‘यो भ्रमणलाई हाम्रा दुई अस्पतालहरूको बीचमा साझेदारीलाई सुदृढ पार्न नयाँ सुरुवातको बिन्दुको रूपमा देखेका छौं । प्रत्यारोपण टेक्नोलोजीको लागि व्यावहारिक र कुशल तरिकासँगै काम गर्ने आशा गरेका छौं ।’

२०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियू झाओ हुईले यससम्बन्धी सम्झौतामा गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.