हिमाली गाउँ ल्होमा आगलागीबाट ६ घर जले
गोरखा : जिल्लाको बिकट हिमाली गाउँ ल्होमा आगलागीबाट ६ घर जलेर नष्ट भएक छन्। चुमनुब्री गाउँपालिका वडा नं २ ल्होमा गएराती १० बजेतिर भएको आगलागीमा परी स्थानीयका ६ घर जलेर नष्ट भएको हो।
स्थानीय साम्दुक लामा, टासी लामा, छेवाङ रिक्देन, ओर्गेन लामा र तेनजिङ्ग लामाको घर जलेर नष्ट भएको चुमनुब्री–२ का वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए। आगलागीबाट साम्दुक लामाको दुईवटा घर जलेर ध्वस्त भएको उनले जानकारी दिए।
स्थानीय साम्दुक लामाको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी भरत बहादुर विकले बताए। ‘घरमा कोही नभएको बेला आगलागी विद्युत सर्ट भएर आगलागी भएको रहेछ,’ एसपी विकले भने, ‘आगलागीबाट ६ वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रूपमा नष्ट भएको छ।’ घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए। मानवीय र पशुचौपायको क्षति भने नभएको उनको भनाइ छ।
आगलागीबाट करिब तीन करोडको क्षति भएको वडाध्यक्ष मिङ्गयुर दोर्जे लामाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !