नेपाललाई बंगलादेश 'ए'ले दियो १८४ रनको लक्ष्य
काठमाडौं : टप एण्ड टी-२० सिरिजको दोस्रो खेलमा नेपालले १८४ रनको लक्ष्य प्राप्त गरेको छ।
डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेश 'ए'ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको हो।
बंगलादेश 'ए'का लागि ओपनर ब्याटर जिसन आलमले ४५ बल खेल्दै सर्वाधिक ७१ रन बनाए। पावरप्लेमा बंगलादेश 'ए'ले बिना विकेटको क्षति ५३ रन बनाएको थियो।
६.३ ओभरमा ओपनर नैम शेख २५ रन बनाउँदै सन्दीप लामिछानेको बलमा रोहित पौडेलको हातमा क्याच भए। ११.३ ओभरमा १ विकेट गुमाउँदै बंगलादेश एले १०० रन पूरा गर्यो ।
सैफ हसन १६ रन बनाउँदै रन आउट भए। नुरुल हसन सोहन ५ रनमा करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। माहिदुल इस्लाम आकोन ७ रन बनाउँदै रिजन ढकालको बलमा गुल्सन झाको हातमा क्याच भए।
अफिफ होसिन ४८ रनमा अविजित र मृत्यून्जय चौधरी शुन्यमा अविजित रहे। नेपालका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !