हिमाली र उच्च पहाडी भेगमा जटिल बन्दै हेपाटाइटिस बी
गोरखा : गोरखाको हिमाली तथा उच्च पहाडी भेगमा हेपाटाइटिस बीको संक्रमण विकराल बन्दै गएको छ । वडा नं ३ मा मात्र ६३ जनामा ‘हेपाटाइटिस बी’को संक्रमण पुष्टि भएको छ ।
वडा नं. ५ मा २८ जनामा संक्रमण पुष्टि भएको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए । वडा नं ३ का ३५ महिला र २८ जना पुरुषहरूमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै वडा नं. ५ को १७ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको गुरुङले बताए । हाल चुमनुब्रीको वडा नं ४ र ५ मा हेपाटाइटिस बीविरुद्धको १० दिने खोप शिविर सञ्चालन भइरहेको छ । वडा नं. ३ मा भने गतवर्ष खोप शिविर सञ्चालन गरिसकेको छ ।
किमोलुङ फाउन्डेसन नेपालले गाउँपालिकासँग समन्वय गरेर खोप शिविर सञ्चालन गरेको हो । शिविरमा संक्रमण भए, नभएको पहिचान गर्ने काम पनि गरिएको फाउन्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए । सडक सञ्जालले नछोएको सो वडामा सदरमुकामबाट तीन दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोली पुगेको थियो । टोलीले गाउँगाउँमा शिविर सञ्चालन गरिरहेको छन् ।
‘मंगलबारसम्म ४९९ जनामा स्क्रिनिङ गरिएकोमा २८ जनामा हेपाटाइटिस बी पोजेटिभ देखियो । उनीहरूमध्ये ३१६ जनालाई हेपाटाइटिस बीविरुद्धको खोप दिइएको छ’, उनले भने । पालिकाको वडा नं ५ मा १६ वर्षमुनिका १८० जनाको परीक्षण गरिएको थियो । पोजेटिभ देखिएका २८ जनालाई खोप दिन नमिल्ने उनले जानकारी दिए । सो खोप शिविर बुधबारदेखि वडा नं ४ मा स्क्रिनिङ तथा खोप कार्यक्रम सञ्चालन हुँदैछ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणको क्रममा त्यहाँँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको किमोलुङ फाउन्डेसनका अध्यक्ष लामाले बताए । समस्याको न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको
उनले बताए ।
असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरूको सम्पर्क, वीर्य, र्याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ । धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने चुमनुब्रीका स्वास्थ्य शाखा प्रमुख गुरुङ बताउँछन् । हेपाटाइटिस संक्रमण भएका बिरामीमा कुनै अर्को रोगले आक्रमण गरेमा ज्यानै जानसक्ने अधिक सम्भावना रहने स्वास्थ्यकर्मीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !