अन्तरजातीय बिहेको कहर : तीन महिनासम्म न बच्चाको न्वारान, न भेटिए श्रीमान्

अन्तरजातीय बिहेको कहर : तीन महिनासम्म न बच्चाको न्वारान, न भेटिए श्रीमान्
सहिद लखन गाउँपालिका—१ बक्राङकी मनिका परियार । तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : सहिद लखन गाउँपालिका—१ बक्राङकी मनिका परियारले छोरा जन्माएको ठ्याक्कै तीन महिना भयो । तर, यत्तिका दिन भइसक्दा पनि छोराको न्वारान भएको छैन । छोरा जन्मिएपछि खुसियाली मनाउने उनीसँग कोही पनि साथमा छैनन् । 

भागेर गरेको बिहे हुनाले माइती यसै खुसी छैनन् । ढाँट छल गरी भित्र्याएको हुनाले घर परिवारले गाउँ निकाला गरिसके । जीवन काट्ने भनेको एउटा श्रीमान् पनि गर्भ रहेको थाहा हुने बित्तिकै फरार भए । मनिकाका दिन अहिले रोएरै कट्ने गरेका छन् ।

उनले जेठ १० गते गोरखा अस्पतालमा छोरा जन्माइन् । केही दिन त अस्पतालले खुवायो, पिलायो पनि । त्यसपछि जाने ठाउँ भएन । ‘घरबाट निकाले, माइती गाउँमा एकजना काकीले एउटा सानो टहरो दिनुभएको छ । त्यहीँ ओत लागेकी छु’, मनिका भन्छिन्, ‘बच्चाको न्वारान नभएकाले माइतीले पनि घरभित्र छिर्न दिँदैनन् । यही सानो घरमा रोएरै दिनरात बिताइरहेकी छु ।’

कमाइ गर्ने कोही छैनन्, आम्दानी शून्य छ । आफ्नो सुत्केरी ज्यान र शिशुलाई पोषण छैन । ‘मेरो दूध आउँदैन । अलिअलि आएको दूध नि बच्चाले खान मान्दैन । दूध किनेर खुवाउनुपर्छ । केले किन्ने ?’, हरेक शब्दमा रुँदै उनी भन्छिन्, ‘खान नपाएर होला, बाबु दिनरात रुन्छ । म सहन नसकेर रुन्छु । आफू त जे जसो गरुँला बच्चालाई खुवाउनै गाह्रो भयो ।’ साँघुरो कोठाभित्र बस्दा गर्मीले बच्चाको ज्यानभरि घमौरा र टाउकामा खटिरा आएको तर बाटो खर्च र उपचार खर्च नहुँदा स्वास्थ्य संस्था पनि जान नसकेको उनको दुःखेसो छ ।

माइतीको पनि आर्थिक अवस्था नाजुक छ । ‘आमा छैनन्, बुवा केही गर्न नसक्ने बुढो हुनुहुन्छ । हामीले नै उहाँलाई हेर्नुपर्ने अवस्था छ । एउटा भाइ छ, ऊ पनि पोखरातिर ज्याला मजदुरी गरेर बस्छ’, उनी भन्छिन्, ‘गाउँपालिकाले अलिअलि सहयोग गर्‍यो । छरछिमेक, इष्टमित्रले हेर्नुसम्म हेरिसके । कति मागुँ, कति दुःख दिउँ । अधिकारका लागि श्रीमान्सँग लडदने कोही छैनन् । म यस्तो कमजोर छु, काखको बच्चा बोकेर कहाँ जाउँ ?’ बल्लतल्ल एकपटक न्याय माग्न जिल्ला प्रहरी कार्यालयसम्म पुगेकी थिइन् । प्रहरीले घरतर्फका ससुरालगायतलाई झिकाएको पनि थियो । तर न ससुराहरूले प्रहरीसामु गरेको प्रतिबद्धता पूरा गरे, न प्रहरीले श्रीमान् खोजिदिन सक्यो ।

‘श्रीमान्लाई खोजी गरिपाउँ भनेर प्रहरीमा निवेदन दिएको पनि महिना दिन बितिसक्यो । अझै खोज्न सकेको छैन’, उनी भन्छिन्, ‘मेरो पक्षबाट जोडदार आवाज उठाइदिने माइती पनि छैनन् । सीधासाधा भएर हो कि, न्याय पाइएन ।’

मनिकाले २०८० मंसिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग विधिवत् विवाह गरेकी थिइन् । मिलनकै करकापमा परेर प्रेममा परेको, उनकै करपाकमा थर झुक्याएर विधिवत् बिहे पनि गरेको उनी बताउँछिन् । तर, केही दिनमा सत्यतथ्य खुलेपछि फेरि भागेर काठमाडौंमा काम खोज्दै गएको उनले बताइन् ।

‘घरबाट निकाले पनि हामी दुवैजना आफ्नो सुरले चितवनमा काम गथ्र्यौं । त्यहाँबाट पनि पोहोरको वैशाखमा काठमाडौं गयौं’, उनले भनिन्, ‘भदौमा पेटमा बच्चा बसिहाल्यो । त्यसपछि हामी यतै माइतीमा आयौं । घर खर्च जुटाउन भनेर उनी (श्रीमान्) मंसिरमा काम गर्न झापा गए । त्यसपछि अहिलेसम्म अत्तोपत्तो छैन । यत्रो बाबु जन्मिँदा पनि न उनी आए, न कुनै खबर आयो ।’ 

अहिले न्वारान गर्ने अभिभावक नहुँदा आफू वल्लो घाट न पल्लो तीर भएको उनको दुःखेसो छ । ‘न खानेकुरा छ, न बस्ने ठाउँ’, उनी भन्छिन्, ‘न्वारान गर्ने मान्छे नहुँदा माइतीगाउँको पनि हेलाँहोचो भएको जस्तो भएको छु ।’ त्यतिबेला आफूले मायामा फँस्न र विवाह गर्न इन्कार गरे पनि मिलनले फकाएर फँसाएको उनी सम्झन्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.