दर खाँदै तिजमा छमछमी नाच्छन् मधेसका महिला पनि

दर खाँदै तिजमा छमछमी नाच्छन् मधेसका महिला पनि

जनकपुरधाम :‘तिजको लहर आयो बरिलै’, यो गीत बज्नेबित्तिकै ४७ वर्षीया आशा यादव छमछमी नाच्न थालिन् । ‘नाच्न आउँदैन’ भन्दाभन्दै कम्मर भाँच्न थालिन् । अनि, अरु महिला पनि आशालाई साथ दिँदै तिजको माहोलमा रम्न थाले । घरायसी काम, पारिवारिक दायित्व, आफन्तका गुनासा र समाजले कुरा काट्न सक्ने डरलाई पन्छाउँदै आशा एकैछिन भए पनि जनकपुरमा आयोजित तिजको दर खाने कार्यक्रममा रमेकी थिइन् । 

आशासँगै मधेसी समुदायका सबै उमेरसमूहका दिदीबहिनीहरू पनि तिज गीतमा छमछमी नाचे । कतिपयले नेपाली भाषामा बजेका गीतका थुप्रै शब्दहरू बुझ्न पनि सकेका थिएनन् । मातृभाषाको फरकले गीतका शब्दहरू बुझ्न अप्ठ्यारो भए पनि गीतसंगीतको भाव सबैले बुझेका थिए । तिजको रमझमले सबैलाई छपक्कै छोपेको थियो । महिलाको सम्मान र स्वतन्त्रताको प्रतीक बन्दै गएको तिजले मधेसलाई सांस्कृतिक बन्धनमा बाँधिसकेको छ । 
विगतमा मधेसमा तिज त मनाइन्थ्यो । तर, दर खाने र महिलाहरू छमछमी नाच्ने कार्यक्रम हुँदैनथे । तर, केही वर्षयता मधेसमा तिजको व्रत सँगसँगै दर खाने रमाइला कार्यक्रम पनि संस्कृतिको रूपमा विस्तार हुन थालेका छन् । मधेसी महिलाहरू निर्धक्क नाच्ने र रमाउने गरेका छन् । अझभन्दा पहाडी र मधेसी समुदायका महिलाहरू एकसाथ दर खाने, नाचगान गर्ने र सुखदुःख साटासाट गर्न थालेका छन् । 

विगतमा मधेसमा  पूजापाठ र निर्जला व्रतमा मात्रै तिज सीमित हुन्थ्यो । तर अब मधेसमा पनि उत्सव बन्न थालेको छ । पहाडी समुदायका महिलाले व्रत लिनुभन्दा पहिला दर खाने चलन भए पनि हाल मधेसमा समेत दर खाने र रमाइलो गर्ने चलन विस्तार भएको छ । अझभन्दा, तिजको दर खाने कार्यक्रम मधेसी महिलाहरूबीच सांस्कृतिक सम्बन्ध विस्तार र स्वतन्त्रताको अनुभूति गर्ने अवसर बन्न थालेको छ । अर्कोतिर, पहाडमा सीमित तिज हाल सबै नेपाली महिलाको साझा पर्व बन्न पुगेको छ । null

‘जातीय विविधताअनुसारको धर्म, संस्कृति, रीतिरिवाज र परम्परा नै नेपालको विशेष चिनारी हो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक तथा बहुधार्मिक राष्ट्र भएको हुँदा यहाँ आफ्नो धर्म अनुरूपका विशेष चाड पर्व मनाउने परम्परा पहिलादेखि नै चलिआएको हो,’ मधेस मिडिया काउन्सिलकी सदस्य रिंकु मिश्र गायत्री भन्छिन्, ‘तिनै विविध पर्वमध्येको एक तिज हो । पछिल्लो समय सांस्कृतिक चेतनाको अभिवृद्धिले नै होला देशभरि सांस्कृतिक पर्व तिजको अपनत्व बढेको छ । जसको उदाहरण हो पहाडको तिज मधेस झर्नु र मधेसको छठ पहाड चढ्नु ।’

दर कार्यक्रम मनको पीडा पोख्ने थलो 

१० वर्ष अघिसम्म पनि मधेसमा विशुद्ध व्रत, उपासना र पूजापाठमा सीमित थियो तिज । तर, समय र परिवेश फेरिँदै गएपछि तिज व्रतको स्वरूप पनि फेरिएको छ । मधेसमा तिजको व्रत बस्दा दर खाने चलन थिएन् । झन् मधेसी महिलाहरूमा त व्रतको अघिल्लो दिन अरबाअरबाइन् (चोखो भोजन) गर्ने परम्परा छ । मधेसी समुदायमा विशेषगरी क्षेत्रीय र कायस्थ समुदायका महिलाले तिज व्रत मनाउने चलन बढी थियो । केही ब्राह्मण समुदायका महिलाहरू पनि यो व्रत लिन्थे । तर, अहिले यो घरघरमा मनाउन थालिएको छ । 

सिन्धुली घर भएकी सुभद्रा आलेले ४४ वर्षअघि विवाह गरेर जनकपुरमा घरजम गरिन् । जनकपुरमै हुँदा प्रहरी सेवामा जागिर खाइन् र आफ्नो जागिर अवधिभरि मधेसमै बसिन् । जागिरबाट अवकाश पाएपछि महिला अधिकार पक्षमा काम गर्दै आएकी ५७ वर्षीया आले आफू मधेस झरेको बेलाको तिज र अहिलेको तिज हेर्दा महिलाको अवस्थामा निकै परिवर्तन आएको बताउँछिन् ।

‘म प्रहरी सेवामा भएकोले थुप्रै मधेसी महिलाहरूसँग चिनजान थियो । त्यतिबेला पहाडी समुदायका महिलाहरू तिजका बेला राममन्दिर अगाडि पूजापाठ गरी नाचगान गथ्र्यौं । मधेसी समुदायका महिलाहरू नाचगान हेर्न आउनु हुन्थ्यो,’ आलेले पुराना दिन सम्झिँदै भनिन्, ‘१५ वर्ष अगाडिसम्म मधेसका महिलाहरू यसरी स्वतन्त्र भएर तिजको अवसरमा नाचगान गर्ने अवस्था थिएन् । तर, पहाडी समुदायका महिलाहरूको चलनसँग घुलमिल हुँदै उहाँहरू पनि रमाउन थाल्नुभयो । चोकचोकमा तिज कार्यक्रम गर्न थाल्यौं । जहाँ पहाडी र मधेसी समुदायका महिलाहरू मिलेर दर खाने कार्यक्रम मनाउन थाले । अहिले त तिजको एक महिनादेखि नै मधेसमा रमझम सुरु हुन्छ ।’ सामाजिक परिवेशले गर्दा प्रायः घरभित्रै बस्ने मधेसी समुदायका महिलाहरू पनि खुलेर तिज मनाउन थाल्नु महिलाहरूको अवस्थामा भएको परिवर्तनको ठूलो उदाहरण भएको आले ठान्छिन् । 

नेपाली संस्कृतिमा तिजको अघिल्लो दिन खाइने दरको विशेष महत्त्व छ । दर भन्नेबित्तिकै माइती गएर आमाले बनाएको खानेकुरा खाने भन्ने मान्यता छ । तिजको अघिल्लो दिन खाने परिकारलाई दर भनिएको हो । हिन्दु वैदिक परम्पराअनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खाने चलन छ । खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि निकै महत्त्व दिइन्छ । व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्टका लागि ऊर्जा दिन मद्दत गर्छ । शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको मानिन्छ ।

नेपाल कृषि प्रधान मुलुक भएकाले यहाँ मनाइने हरेक पर्वका पछाडि कृषिकर्म र संस्कार पनि जोडिन्छन् । ‘यो पर्व बालीनाली रोपिएपछि फुर्सदको समयमा मनाइने हुनाले यसमा आपसी प्रेम र महिलाहरूको घरव्यवहारको दुःखेसो पोख्ने वातावरण पनि सिर्जना हुन्छ,’ मधेस प्रदेशसभाकी सांसद शारदा थापा भन्छिन्, ‘कृषि कर्म सकिएपछि फुर्सदको बेला माइतीबाट बुवा, दाजुभाइ आएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइतीनै लिएर जाने चलन पहिला थियो । पहिला यस्तो मोबाइल फोन, अनि मुखै देखाएर कुरा गर्न मिल्ने खालका एपहरू थिएन्न । सञ्चारको साधनको सीमितता थियो । छोरीचेलीहरूले दुःखपीडा पर्दा पनि बिसाउने ठाउँ हुँदैनथ्यो । त्यस्तो समयमा तिजले छोरीहरूका लागि अवसर जुटाउने गथ्र्यो र उनीहरू माइती गएर तिज मनाउँदा आफ्ना दुःखहरू बिसाउँथे । आमा दिदीबहिनीबीच पीडा पोख्थे ।’

अहिले यो चलन फेरिएर दर खाने कार्यक्रमहरूमै परिणत भएको छ । महिलाहरू साथीसँगी साथै दर खाने कार्यक्रम गर्छन् र त्यहाँ पनि रमाउने र वर्षभरिका दुःखसुख बिसाउने गर्छन् ।

मधेसमा तिजको छुट्टै विधिविधान
पहाडमा मनाइने तिज र मधेसमा मनाइने तिज व्रतको विधिविधानमा पनि विविधता छ । तिजको अघिल्लो दिन नुहाइधुवाइ गरेर बिना प्याज, लसुन चोखो अन्न खाने र अर्को दिन पानी पनि नखाई निर्जला व्रत बस्ने परम्परा मधेसमा छ । व्रतको बेला नयाँ लुगा विशेषगरी सारी र लाहाबाट बनेको लहठी अनिवार्य लगाउनुपर्छ । सारी रातो नै हुनुपर्छ भन्ने छैन् तर नयाँ हुनुपर्छ । 

१७ वर्षको उमेरदेखि तिजको व्रत बस्दै आएकी ५८ वर्षीया अधिवक्ता रेखा झालाई तिजको बदलिँदो परिवेशले महिलाका पक्षमा केही नकारात्मक तर, धेरै सकारात्मक परिवर्तनहरू ल्याएको जस्तो लाग्छ । ‘मधेसमा तिजको व्रत लिँदा दिनभरि निर्जला व्रत गर्ने र राति केराको बोटको मण्डप बनाएर शिवपार्वतीको प्रतिमा स्थापना गरी भजनकीर्तन गर्ने एवं जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट बिहान पूजा गरेको प्रतिमाको विर्सजनपछि मात्रै पारन (अन्नजल ग्रहण) गर्ने गरिन्छ । तर, पहाडी समुदायले त्यसो गर्नुहुन्न । उहाँहरू दिनमै पूजापाठ गरेर शिव मन्दिरमा दर्शन गर्ने र नाचगान तथा मनोरञ्जन गर्दै तिज मनाउनुहुन्छ,’ महिला मानवअधिकार रक्षक सञ्जाल मधेस प्रदेशकी अध्यक्षसमेत रहेकी झा भन्छिन्, ‘हामी आफ्नै विधिविधान अनुसार तिज मनाउँछौं तर, पहाडी समुदायको रमझम गर्ने चलनलाई मधेसका महिलाहरूले पनि अपनाएका छन् । अहिले त सबै संघसंस्थाहरूले तिजको बेला महिलाहरूका लागि दर खाने कार्यक्रम राख्छन् र वर्षभरिमा महिलाका लागि मात्रै रमाइलो गर्ने आफ्नो मनोरञ्जन र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गराउन पनि सहयोगी सिद्ध भएको छ । ’ 

मधेसी महिलाहरूले तिजको राति पूजापाठ गरेर जाग्राम बस्दा शिवपार्वतीको प्रेमगाथाहरू र नचारी (शिवको गीत) गाउने चलन पनि छ । 
हम नहीँ शिवसँग गौरी वियाहब । 
भले गौरी रहथु कुमारी गे माई ।। 
भूत, प्रेत बरिआती अनलनी । 
मोर जिया गेल डेराइ गे माई ।।
गौरी लए भागब, गौरी लए जायब । 
गौरी लए नइहर पडायब गे माई ।। 

मैथिली भाषाका महाकवि विद्यापतिले लेखेको यो शिवको यस  नचारी गीतमा पार्वतीको विवाह शिवसँग गर्न माता मैनाले नचाहेको कुराहरूलाई वर्णन गरिएको छ । तिजका अवसरमा मिथिलावासी  महिलाहरूले गाउने यो नचारीले पार्वती र शिवको विवाहमा उनका अभिभावकहरूबाट उब्जेका संशयहरूलाई प्रष्ट्याउँछ । 

शिव, पार्वतीको जीवनका उतारचढावलाई वर्णन गरेर बनाइएका नचारी गीतहरू मधेसमा तिजका बेला विशेष रूपमा गाउने चलन छ । ‘पहिला यसरी दर खाने चलनै थिएन । उल्टै तिजको व्रत गर्ने भएपछि एकदिन अगाडिदेखि नै नियमनिष्ठा गर्नुपर्ने हुन्थ्यो । अहिले पनि मिथिलावासी महिलाहरू नियमनिष्ठाका साथनै यो व्रत गर्नुहुन्छ । फरक यतिमात्रै हो कि तिज आउनु १५ दिन अगावैदेखि यसको मनोरञ्जन र उल्लासको कार्यक्रमहरू सुरु हुन्छन,’ मधेसकी महिला नेतृ विभा ठाकुर भन्छिन्, ‘ हाल विभिन्न कार्यालय, सामाजिक संघसंस्था र राजनीतिक दलले दर खाने कार्यक्रम राख्छन् । घरघरमा महिलाहरूले दर खाने कार्यक्रमहरू आयोजना हुन थालेका छन् ।  कार्यक्रमहरूकै बहानामा भए पनि महिलाहरू सबै कामधन्दा छोडेर एकदिन मनोरञ्जन गर्ने भनि हिँड्छन् मलाई पछिल्लो समय मधेसमा आएको यो परिवर्तन निकै मन पर्छ ।’

तिजको सांस्कृतिक महत्त्व
भदौ शुक्लपक्षको तृतीयाको दिन हिन्दु महिलाहरूद्वारा उपवास बसेर उल्लासपूर्वक मनाइने चाड हो तिज । पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामी पाउनका लागि निराहार व्रत बसेर कठिन तपस्या गरेकी थिइन् । उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तिजको रूपमा मनाउन थालेका हुन् ।null

पार्वतीले महादेवलाई श्रीमान्को रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरेपछि १ सय ८ औं जन्ममा बल्ल उनको तपस्या पूरा भएको कुरा केही धर्मग्रन्थहरूमा उल्लेखित छ । यही मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाहरूले आफ्नो श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तिजको व्रत बस्ने चलन छ । 

सांस्कृतिक चेतनाको अभिवृद्धिले नै होला देशभरि सांस्कृतिक पर्व त्योहारको अपनत्व बढेको छ । जसको उदाहरण हो पहाडको तिज मधेस झर्नु र मधेसको छठ पहाड चढ्नु ।
रिंकु मिश्र गायत्री,मधेस मिडिया काउन्सिल सदस्य

सामाजिक परिवेशले गर्दा प्रायः घरभित्रै बस्ने मधेसी समुदायका महिलाहरू पनि खुलेर तिज मनाउन थाल्नु महिलाहरूको अवस्थामा आएको परिवर्तनको ठूलो उदाहरण हो । १५ वर्ष अघिसम्म पनि मधेसका महिलाहरू यसरी स्वतन्त्र भएर तिजको अवसरमा नाचगान गर्ने अवस्था थिएन् । 
सुभद्रा आले, अधिकारकर्मी

तिज पर्वको चलन मिथिलाञ्चलमा बढ्नु राम्रो हो । तिजलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वका रूपमा पनि पछिल्लो समय प्रचार गर्न थालिएको छ । तर, यो कामनाको पर्व पनि हो । तिज पतिको दीर्घायुको कामनासहित मनाउने गरिन्छ ।
धीरेन्द्र प्रेमर्षि, साहित्यकार

भाद्रशुक्ल पक्ष तृतीयाको दिन हस्त नक्षत्र र सोमवार परेमा तिजको महत्त्व झनै बढ्छ । तिजको सन्दर्भमा भनिन्छ, पार्वतीले शिवलाई थोरै परिश्रमले बढी फल पाउने व्रत उपवासको बारेमा सोधेकी थिइन् । पार्वतीको जिज्ञाशामा शिवजीले उनलाई हरितालिका तिजको विधान बताएका थिए । 
तिज व्रतको इतिहास शिव र पार्वतीसँग जोडिएको हुनाले यो अनादिकालदेखि मनाइँदै आएको पर्व रहेको बुझिन्छ । 
भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् । 
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।। 

शिवजीले भनेका थिए महिना, नक्षत्र र दिन गरी तीन चिजको संयोग भएको समयमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापहरूबाट मुक्ति पाउन सकिन्छ । तर, यस्तो संयोग वर्षौंमा कहिलेकाहीँ मात्रै मिल्ने गर्छ । 

शिवजीलाई पतिको स्वरूपमा मानेर पार्वतीले उनको चाहना गर्दै तपस्या गर्न थालेपछि उनको तपस्या भंग गरी पार्वतीको विवाह विष्णुसँग गरिदिने योजनामा रहेका पार्वतीका बुवा हिमालयको योजना थियो । तर, सो योजनालाई निस्तेज पार्न पार्वती संगी साथीहरूको सहयोगमा  जंगलमा लुकेर व्रत बस्थिन् । सोही कारण यस पर्वलाई हरितालिका भनिएको हो । तिजको नामका विषयमा धर्मग्रन्थमा यसरी वर्णन गरिएको छ । 
नामस्य व्रतराजस्य श्रृणु देवी यथाभवम् । 
आलिभिर्हिता यस्मात्तस्मात्सा हरितालिका ।। 

संस्कृत भाषामा हरत र आलिका मिलेर बनेको हरतालिका शब्दको अर्थ हुन्छ हरत भनेको लुकाउनु र आलिका भनेको साथीसंगीहरू । हरतालिकाको अर्थ साथीहरूद्धारा लुकाइएको भन्ने हुन्छ । साथीसंगीले पार्वतीलाई लुकाएर घना जंगलमा राखेपछि उनी त्यहीँ माटोको शिवलिंग बनाएर शिवजीको कठिन तपस्या गरेकी थिइन् ।

तिजसँगै चौरचन पर्वको पनि बढ्दै विस्तार
मधेस र विशेषगरी मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व हो चौठीचन्द्र वा चौरचन । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेको हुँदा मिथिलाञ्चलमा चन्द्रमालाई देउताको रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ । 

प्रायःजसो तिज र चौरचन एउटै तिथिमा पर्ने हुँदा पनि मधेसमा तिजभन्दा चौरचन व्रत गर्ने प्रचलन छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्त्व दिन्छ । 

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व भएको हुँदा यसमा प्रयोग हुने अधिकांश सामग्रीहरू घरआँगनबाटै उत्पादित हुन्छन् । माटोको भाँडो (मटकुरी) मा जमाइएको दही, कृषिकर्मबाट उत्पादित मकै, केरा र घरेलु फलफूलहरू, गहुँको पिठोमा सक्खर राखेर बनाइएको ठेकुवा प्रसादका रूपमा बनाइन्छ । दिनभरि व्रत बसेर साँझ चन्द्रोदय हुनेबित्तिकै आँगनमा गाईको गोबरले लिपपोत गरी चामलको पिठोलाई पानीमा घोलेर कलात्मक अरिपन बनाउने गरिन्छ । त्यसपछि चन्द्रमालाई अर्घ दिने चलन छ । चौरचन पर्व विशेषगरी घरका ज्येष्ठ महिला सदस्यले लिने गर्दछ । 

भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वले संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो । लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन र गरेमा दोष लाग्ने मान्यता पनि छ । हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यता पनि छ । 

‘मिथिलाञ्चलमा कामनाका पर्वलाई मात्रै नभई कर्मशीलताको पर्वलाई पनि विशेष प्राथमिकता दिने गरिन्छ । चौरचन पनि कर्मशीलताको पर्व हो,’ साहित्यकार धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘तिज व्रतको प्रचलन मिथिलाञ्चलमा बढ्नु राम्रो हो । तिजलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वका रूपमा पनि पछिल्लो समय प्रचार गर्न थालिएको छ तर, यो कामनाको पर्व हो । तिज पतिको दीर्घायुको कामनासहित मनाउने गरिन्छ । मिथिलाञ्चलमा यस्ता कामनाका पर्वहरू महिलाका लागि थुप्रै छन् । जस्तै जितिया पर्व जूनकी आमाहरूले आफ्नो छोराछोरीको दीर्घायुको कामनासहित लिने गर्छिन् ।

त्यसैगरी सामा चकेवा लोकपर्व दाजुभाइको दीर्घायुका लागि गरिन्छ । यसै क्रममा तिज पनि समावेश हुँदै गएको हो । तर, मिथिलाको लोकपर्व चौरचनको आफ्नै विशेष महत्त्व छ ।’

मैथिल समाजमा भाव, कल्पना र विचार चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गरिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.