जनकपुर र पुनौराबीच सीताको साइनो
जनकपुरधाम : माता सीताको माइती जनकपुरधामबाट ४० किलोमिटरको दूरीमा अवस्थित छ, पुनौराधाम । नेपाल र भारतको सीमा क्षेत्रमा रहेको सीतामढी जिल्लामा पर्ने पुनौराधाम पछिल्लो समय सीता मन्दिर निर्माणको विषयलाई लिएर निकै चर्चामा छ ।
भारतका गृहमन्त्री अमित साहले गत साउन २२ गते सीतामढीस्थित पुनौराधाममा निर्माण हुने माता सीताको भव्य मन्दिरको शिलान्यास गरेका हुन् । भारत सरकारले मन्दिर र पुनौराधामको विकासका लागि ८ अर्ब ८० करोड भारतीय रुपैयाँ (१४ अर्ब ८ करोड) नेपाली रुपैयाँको बजेट छुट्याएको छ ।
पुनौराधामलाई सीताको जन्मस्थलीको रूपमा प्रचारप्रसार गरिएको छ । परापूर्वकालमा जब नेपाल र भारतको मिथिलाञ्चल क्षेत्र एक थियो । सो बेला मिथिलाका राजा जनकले आफ्नो राज्यमा अकाल परेको पर्दा ऋषिमुनिहरूको सल्लाहअनुसार आफैं खेतमा किसान बनी हलो जोत्न गएका थिए । सोही हलोको मुनिको भाग जसलाई सीत भनिन्छ जमिनमुनि केही वस्तुसँग ठोक्कियो र त्यहाँ खन्दा एक बालिका फेला परिन् । हलोको सीत लागेर भेटिएको हुँदा उनको नाम सीता राखियो । सो बेला जनकले हलो चलाएको खेत सीतामढीको पुनौरा रहेको मान्यता छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीतालाई पालनपोषण गरे र जनकपुरलाई सीताको माइती भनी धर्मग्रन्थहरूमा उल्लेख गरिएको छ । सीताको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भयो र सो बेला जोडिएको जनकपुर र अबध बीचको साइनोले अहिलेसम्म नेपाल र भारतलाई सांस्कृतिक रूपमा जोडेको छ । बिहार राज्यको सीमावर्ती क्षेत्रमा रहेको पुनौराधाम लामो समयदेखि संरक्षण र संवद्र्धनको पर्खाइमा थियो ।
पछिल्लो पटक भारत सरकारले यसलाई जगेर्ना गर्ने कार्य सुरु गरेको छ । पुनौराधामको विकास र संवद्र्धनले भारतीय पर्यटकहरूलाई जनकपुरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास जनकपुरको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको छ । ‘माता सीताको जन्मलीला जुनजुन स्थानमा भएको छ त्यो सबैको विकास आवश्यक छ । पुनौराधाममा भारतीय सरकारको लगानी निकै ढिलो भएको हो । अब पुनौरामा सीता मन्दिर घुम्न आउनेहरू माता सीताको माइतमात्रै ४० किलोमिटर टाढा छ र त्यहाँ पनि घुम्न जानुपर्छ भनेर पक्कै पनि जनकपुर आउँछन् । अहिले पनि जनकपुर जानकी मन्दिर दर्शनका लागि आउने ८० प्रतिशत पर्यटक भारतीय नै छन् त्यसैले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन यो सीता साइनोले काम गर्छ,’ उत्तराधिकारी महन्थ दास भन्छन्, ‘हामीले पनि सीमा क्षेत्रमा जनकपुर आउन पर्यटकहरूलाई उत्साहित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । त्यसैगरी सीतामढीबाट जनकपुर पर्यटक भिœयाउनका लागि भारत सरकारसँग समन्वय गरेर पर्यटकीय योजनाहरू बनाउन सकिन्छ ।’
पुनौराधामको विकासले जनकपुरको पर्यटन प्रवद्र्धनमा समस्या आउने जस्ता थोरबहुत आशंकाहरू पनि उत्पन्न भइरहेको छ । तर, सीताको जीवनलीला जहाँ जहाँ भएको छ ती स्थानहरूको विकास र संवद्र्धनले धार्मिक पर्यटकीय सूत्रलाई अझ बलियो बनाउने सम्भावना जनकपुरका महाशंकर ठाकुर देख्छन् । ‘छिमेकी देशमा भएको विकासले हाम्रो पर्यटनलाई प्रभावित गर्छ भन्ने कुरामा म विश्वस्त छैन्,’ ठाकुर भन्छन्, ‘अहिले पनि हामी १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको क्रममा सीमापारिका तीनवटा वि श्राम स्थलहरू पुग्ने गर्छौ । त्यस धार्मिक यात्रालाई वर्षौंदेखि जारी राखिएको छ । त्यसैगरी अयोध्यामा राममन्दिर बन्दा त्यसले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ गरेको हो ।’ मधेस प्रदेशको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा भारतको अयोध्यामा जानकी मन्दिरको प्रचारका लागि बिल बोर्ड जडान गर्न दुई करोड रुपैयाँ बजेट नै विनियोजन गरेको छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा विशेष कार्यक्रम बनाएरै जनकपुर आएका थिए । उनले जानकी मन्दिरमा पूजापाठ गर्दै जनकपुरबिना अयोध्या अधुरो रहेको सन्देश पनि दिएका थिए । सो बेला जनकपुरधामको धार्मिक तथा सांस्कृतिक समृद्धिका लागि मोदीले एक सय करोड भारतीय रुपैयाँ जनकपुरलाई सहयोगस्वरूप उपलब्ध गराएका थिए । तर, मधेस प्रदेश सरकारले सो रकमलाई कसरी खर्च गर्ने भन्ने सन्दर्भमा कुनै ठोस योजना बनाउन नसक्दा हालसम्म उक्त रकम उपयोग हुन सकेको छैन् । जनकपुरमा प्रत्येक वर्ष भव्यताका साथ मनाइने रामजानकी विवाहमहोत्सवमा दुई वर्ष अगाडि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपाका निकै प्रभावकारी नेता योगी आदित्यनाथसमेत सहभागी भएका थिए ।
यसरी नेपाल र भारतबीच धार्मिक रूपमै जोडिएको साइनोलाई अझ बलियो र प्रभावकारी बनाउन धार्मिकस्थलहरूको लगानीले भूमिका निर्वाह गर्ने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !