काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा पहिलो पटक ‘वाटर ड्रपलेट’ व्यवस्था मिलाइएको छ। हरितालिका तीज पर्वको अवसरमा दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर परिसरमा कृत्रिम वाटर ड्रपलेट (पानीको शीतल फोहरा) प्रयोगमा ल्याएको हो।
गर्मीका कारण असहज हुने समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरको पश्चिम ढोकामा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट (पानीको शीतल फोहरा) प्रयोगमा ल्याएको जनाएको छ।
यो उपाय परीक्षणका रूपमा गरिएको भए पनि सफल भए भविष्यमा पनि प्रयोग गरिने कोषको तयारी छ। विगतका वर्षमा भक्तजनको घुइँचो हुने र गर्मीले महिलाहरू बेहोस हुने घटनालाई ध्यानमा राख्दै यस्तो सुविधा थपिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानैबाट मूल मन्दिरका चार ढोका खोलिएको छ। कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइनको व्यवस्था गरिएको बताए ।
तस्बिर : अभिषेक महर्जन / अन्नपूर्ण पोस्ट















प्रतिक्रिया दिनुहोस !