हिमाली भेगका ६४१ जनालाई लगाइयो हेपाटाइटिस बीविरुद्धको खोप
गोरखा : चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र ५ मा हालै सम्पन्न हेपाटाइटिस बीविरुद्धको १० दिने खोप शिविरमा ६४१ जनालाई खोप लगाइएको छ। गत साउन २८ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालित १० दिने शिविरमा वडा नम्बर ४ का ३२६ जना र वडा नम्बर ५ का ३१५ जनालाई खोप लगाइएको शिविर सञ्चालक संस्था किमोलुङ फाउण्डेशन नेपालले जनाएको छ।
गाउँपालिकाको समन्वय र हिरो र एलिभेट नेपाल नामक दातृ संस्थाको सहयोगमा शिविर सञ्चालन भएको किमोलुङ फाउण्डेशनका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए। दुई वडाका ९२३ जनामा गरिएको परीक्षण(स्क्रिनिङ) मा ३७ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए।
सो संस्थाले यसअघि वडा नम्बर ३ मा पनि खोप शिविर सञ्चालन गरिसकेको थियो। सो वडामा सञ्चालित खोप शिविरमा कूल एकहजार ४४७ जनामा स्क्रिनिङ गरिएकामा ६३ जनामा हेपाटाइटिस बी संक्रमण पुष्टि भएको थियो। तीनवटा वडामा सञ्चालित सो अभियानमा एकहजार ६८१ जनालाई खोपसमेत लगाइएको फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए।
उनका अनुसार वडा नम्बर ५ बिहीका ४९७ जनामा हेपाटाइटिस बी संक्रमण भए नभएको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्य २८ जनामा पोजेटिभ देखिएको लामाले जानकारी दिए। सो वडामा १६ वर्ष उमेर कटेका ३१५ जनालाई हेपाटाइटिस बीविरुद्धको खोप लगाइएको अध्यक्ष लामाले जानकारी दिए।
त्यस्तै वडा नम्बर ४ मा सञ्चालन गरिएको स्क्रिनिङ तथा खोप शिविरमा ४२६ जनाको स्क्रिनिङ गरिएको थियो। परीक्षण गरिएकोमध्ये त्यहाँ ९ जनामा पोजेटिभ भेटिएको थियो। सो वडामा १६ वर्ष कटेका ३२६ जनालाई खोप लगाइएको लामाले बताए। गोरखाको हिमाली तथा उच्च पहाडी भेगमा हेपाटाइटिस बीको संक्रमण बढ्दै गएपछि खोप शिविर सञ्चालन गरिएको किमोलुङ फाउण्डेशनका अध्यक्ष लामाले जानकारी दिए।
वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणका क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको किमोलुङ फाउन्डेशनका अध्यक्ष लामाले बताए। समस्याको न्यूनिकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए।
असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरूको सम्पर्क, वीर्य, र्याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ। धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने चुमनुब्रीका स्वास्थ्य शाखा प्रमुख गुरुङ बताउँछन्।
प्रतिक्रिया दिनुहोस !