भन्नोस् त, देश कसले बनाउँछ ?
राजनीतिक नेतृत्वले दीर्घकालीन सोचसहितका योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । अन्यथा नेपाल जहीँको तहीँ हुनेछ ।
बलिउड एवं हलिउड फिल्महरूमा सुपरहिरोका कथा एवं कला हेर्न र सुन्न पाइन्छ । यी फिल्ममा देखाइएका सुपरहिरोहरू सामान्य व्यक्तिको तुलनामा असाधारण शक्ति, क्षमता वा गुण भएका हुन्छन् । उनीहरूसँग कुनै पनि समस्याको सजिलै र छोटो समयमै समाधान गर्न सक्ने क्षमता भएको देखाइन्छ ।
सबैका प्रिय पात्र बनेका यस्ता हिरोहरू सधैं सत्य र न्यायका लागि लडाइँ लड्ने, विकृति र विसंंगतिविरुद्ध आवाज उठाउने र समाजलाई शान्त, समृद्ध एवं सम्पन्न बनाउन अग्रसर बन्ने गरेको पाइन्छ । उदाहरणको रूपमा, स्पाइडरम्यान, सुपरम्यान, आइरन म्यान र वन्डर वुमनजस्ता पात्रहरू सुपर हिरोका रूपमा प्रसिद्ध छन् । अहिलेको समयमा नेपाली समाजले समेत यस्तै सुपर हिरोको खोजी गरिरहेको देखिन्छ । मुलुकमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक समस्याहरू समाधानका लागि सुपर हिरो आउनेछ र क्षणभरमै सबै समस्याको समाधान गर्नेछ भन्ने आशामा आमनागरिक बसेका देखिन्छन् ।
पछिल्लो समय मुलुकको अवस्थालाई लिएर नागरिकहरू चिन्तित छन् । विशेषगरी, राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, बेरोजगारी एवं विभिन्न क्षेत्रमा देखिएको बेथितिका कारण उनीहरूमा असन्तुष्टि छाएको छ । दैनिकजसो बाहिर आउने भ्रष्टाचारका काण्ड र यसमा मुछिएका पूर्वप्रधानमन्त्री, मन्त्री, सचिव, पूर्वसचिव एवं आफूलाई विशिष्ट भन्न मन पराउने नेता तथा कार्यकर्ता, व्यापारी एवं उद्योगपतिहरू देखेर यिनीहरूप्रति विश्वास गुम्दै गएको छ । स्थापित राजनीतिक दलका नेतृत्वहरूले बारम्बार मुलुकको शासनसत्ताको बागडोर सम्हाल्ने मौका पाउँदासमेत यस्ता समस्या सम्बोधन गर्न सकेको छैन ।
यसैकारण अहिलेको अवस्थाबाट पार पाउन नागरिकहरू आतुर देखिन्छन् । उनीहरू समस्याहरूको तत्काल समाधान खोजिरहेछन् । जसले गर्दा भ्रष्टाचार अन्त्य हुनेछ । देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई चुस्त दुरुस्त एवं निष्पक्ष हुनेछ । मुलुकमा विद्यमान बेरोजगारीको समस्या समाधान गर्दै आर्थिक एवं सामाजिक रूपले मुलुकलाई रातारात समृद्ध बन्नेछ । जसरी फिल्महरूमा देखाइएका सुपरहिरोहरूबाट हुन्छ ।
नयाँ जनवादी व्यवस्था कायम गर्ने भन्दै करिब ३० वर्षअघि अर्थात् १ फागुन २०५२ मा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह घोषणा गर्यो । समाजमा विद्यमान आर्थिक विभेदको अन्त्य गर्ने, जातीय, लैंगिक र क्षेत्रीय विभेद अन्त्य गर्ने, विभिन्न भाषाभाषी, धर्म, कलासंस्कृति आदिको संरक्षण गर्दै उनीहरूको अधिकारको रक्षा गर्ने, मुलुकको आर्थिक विकास विकसित मुलुकको दाँजोमा पुर्याउनेजस्ता आश्वासन दिएर गरिएको दसवर्षे कथित जनयुद्धमा सत्र हजारभन्दा बढीले ज्यान गुमाए । हजारौं बेपत्ता भए, सयौं अंगभंग भए । परिवर्तनको आशामा २८ चैत २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा नेपाली जनताले माओवादीलाई पहिलो राजनीतिक शक्ति बनाउन लागिपरे र बनाएरै छाडे । तथापि, एकपटक सत्ताको स्वाद चाखेको क्रान्तिकारी भनिएको पार्टीले आफ्ना सबै प्रतिबद्धता भुलेको देखिन्छ । आफूलाई परिवर्तनका संवाहक मान्नेहरूले सत्ता मात्र परिवर्तन गरिरहेका देखिन्छन् । सत्ताका निमित्त आफ्ना सिद्धान्त, उद्देश्य तथा विचारधारालाई समेत तिलाञ्जली दिन तयार देखिन्छन् ।
यसपछि उनीहरूबाट समस्याको समाधान नहुने निष्कर्षमा अहिले समाज पुगेको देखिएको छ । पछिल्ला निर्वाचनको परिणामले यसलाई पुष्टि गरेको छ । यही अवस्थामा केही नयाँ राजनीतिक दल एवं स्वतन्त्र व्यक्तिहरूले आफूले सबै समस्याको समाधान गरिदिने भन्दै अगाडि बढेको पनि देखियो । वितृष्णा र निराशाले अत्तालिएका नेपाली जनताले उनीहरूका आश्वासन र प्रतिबद्धतामाथि सजिलै विश्वास गरेको पाइयो । विशेषगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएको ६ महिनामै संसदीय निर्वाचनमा होमिएर अप्रत्याशित नतिजा ल्याउन सफल भयो ।
रास्वपाले निर्वाचनमा २० सिट प्राप्त गर्दै प्रतिनिधिसभामा चौथो दल बन्न सफल भयो भने उपनिर्वाचनबाट अर्काे एक सिटसमेत थप्न सफल भयो । तथापि, जुन प्रतिबद्धता र सपना देखाएर पार्टी अगाडि बढेको थियो, अहिले त्यो दिवास्वप्न जस्तै बन्न थालेको छ । पार्टी सभापति विभिन्न काण्डमा मुछिएर जेलजीवन बिताइरहेका छन् भने पार्टी अस्तव्यस्त बनेको छ । यस्तै, काठमाडौं र धरानका मेयरबाट पनि समाजले ठूलो आशा गरेको थियो । उनीहरूको नेतृत्वले सबै समस्याको समाधान एकैपटक हुने विश्वास उनीहरूको थियो । तर, त्यस्तो हुन सकेको छैन ।
नेपाली समाजको आशा राजनीतिक दल र तिनका नेतामा मात्र सीमित देखिन्न । केही समयअघि सहकारीबाट लिएको ऋण तिर्न नपर्ने भन्दै एक व्यक्तिको पछि लगेर काठमाडौंमा हजारौं मानिसहरू जम्मा भएका थिए । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने ती व्यक्ति अरू कोही नभई दुर्गा प्रसाईं थिए । उनले आफ्ना सबै समस्या समाधान गर्नेछन् भनेर समेत केही मानिस उनको पछि लागेका थिए । करिब ६ महिना लामो जेल बसाइपछि प्रसाई भर्खरै छुटेका छन् । यतिमात्र होइन अहिले कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाहबाट समेत आशा गरेर उनलाई पुनः गद्दीमा ल्याउनु पर्छ भन्दै हिँडेका देखिन्छन् । उनले मुलुकको विद्यमान समस्या समाधान गर्नेछन् भन्नेको पनि कमी छैन । यी केही प्रतिनिधि उदाहरणमात्र हुन् । भोलिका दिनमा अन्य व्यक्ति पनि अगाडि आउनेमा दुईमत छैन । किनकि समाज सुपरहिरोको प्रतीक्षामा छ । सुपरहिरो नयाँ युवा नै भन्ने पनि छैन, होइन, पुरानैबाट पनि त्यो स्वरूपमा काम भइदिए आमनागरिकलाई पुग्नेछ ।
भ्रष्टाचार गर्दै अकुत सम्पत्ति जोडेका मानिसलाई समाजले बहिष्कार गर्न सक्दैन। उल्टै सम्मान दिन्छ। यस्तो अवस्थामा मुलुकमा रहेका विद्यमान समस्याहरू राजनीतिक दलका नेताले गर्दा मात्र समाधान हुन नसकेको भन्न कत्तिाको जायज होला ?
कुनै पनि मुलुकको समृद्धिमा त्यस देशको राजनीतिक नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नेमा कुनै दुई मत देखिँदैन । मुलुकको शासनसत्ताको बागडोर सक्षम, दूरदर्शी एवं अनुशासित व्यक्तिको हातमा रहँदा धेरै समस्याहरूको निदान हुन सक्छ । तथापि, समस्याको समाधानमा आमजनता र नागरिक समाजको समेत उत्तिकै भूमिका छ । मुलुकका बासिन्दाहरूले राज्यप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्व बिर्सिंदा अहिलेको अवस्था आएको हामीले बिर्सिन मिल्दैन । आफ्ना सन्ततिलाई सरकारी छात्रवृत्तिमा डाक्टर बनाएर विदेश पठाउने अनि मुलुकमा स्वास्थ्य सेवा कमजोर भयो भनेर आरोप लगाउने समाज यही छ । इन्जिनियर बनेका छोराछोरीले विदेशमा बाटोघाटो, भवन, पुल, खानेपानी, जलविद्युत्, सिँचाइका परियोजनाहरू निर्माण गरेका छन् । त्यही समाजले नेपालमा पूर्वाधारको विकास भएन भन्दै आलोचना गरेको छ ।
सरकारी विद्यालयमा पढाउने शिक्षकले निजी विद्यालयमा छोराछोरी पढाएका छन् । सरकारी अस्पतालमा रहेका डाक्टर निजी अस्पताल धाएका देखिन्छन् । भ्रष्टाचार गर्दै अकुत सम्पत्ति जोडेका मानिसलाई समाजले बहिष्कार गर्न सक्दैन । उल्टै सम्मान दिन्छ । यस्तो अवस्थामा मुलुकमा रहेका विद्यमान समस्याहरू राजनीतिक दलका नेताले गर्दा मात्र समाधान हुन नसकेको भन्न कत्तिको जायज होला ? यसबारे मनन् गर्न जरुरी देखिन्छ । विकास बहुआयामिक तथा गतिशील प्रक्रिया हो । विगत आधा शताब्दीअघिको आर्थिक–सामाजिक अवस्था र अहिलेको अवस्थामा आकाश जमिनको फरक छ । तथापि, अन्य मुलुकको तुलनामा यसको गति भने सुस्त भएकोमा भने स्विकार्नु पर्छ ।
फिल्महरूमा देखाइएका सुपरहिरोहरूले जस्तो क्षणभरमै कसैले पनि मुलुकलाई आर्थिक एवं सामाजिक रूपले सम्पन्न बनाउन सक्दैन । यसका लागि पर्याप्त समय, उचित योजना, दीर्घकालीन सोच र प्रभावकारी कार्यान्वयनको आवश्यकता पर्छ । राजनीतिक नेतृत्वले दीर्घकालीन सोच सहितका योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । जसको कार्यान्वयनमा आमजनता र नागरिक समाजले सहकार्य गर्नुपर्ने आवश्यकता छ । हाम्रै समाजले सिर्जेका समस्याहरूको समाधान समाजभित्रबाटै खोजिनुपर्ने देखिन्छ । कुनै बाहिरबाट आउने दोस्रो एवं तेस्रो व्यक्तिको आशामा बस्यौं भने समस्या ज्युँकात्यँु रहनेछ । समाजले सुपरहिरोको प्रतिक्षा गर्नुभन्दा आफ्नो सामाजिक उत्तरदायित्वप्रति गम्भीर भएको खण्डमा मात्र छिट्टै समृद्धिको सास फेर्ने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !