पहिरोले बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध
गोरखा : शुक्रबार रातभरको बर्षापछिको पहिरोले बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध भएको छ। सडकमाथिबाट झरेको पहिरोले माछाखोला-जगत सडकखण्डको तातोपानीनेर शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
नेपाली सेनाले निर्माण गरेको धार्चे गाउँपालिका-३ स्थित सो सडक अवरुद्ध हुँदा उत्तरी गोरखा आवतजावत गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। 'शनिबार राति ठूलो पानी परेपछि माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ', गुरुङले भने, 'माथिबाट पानी बगेर आइरहेको छ। सडकको सतह पनि पहिरिएर बूढीगण्डकीमा झरेको छ। अब फेरि ब्लास्टिङ गरेर पहरो खनेर सडक बनाउनुको विकल्प छैन। त्यसका लागि कति दिन लाग्ने हो थाहा छैन।' सडक मर्मत गर्न भीरबाट बगेर आएको पानी सुक्नुपर्ने उनको भनाइ छ।
सडक अवरुद्ध भएपछि चुमनुब्री ३ जगतसम्म चल्ने सवारी चल्न सकेको छैन भने पैदल यात्रुलाई पनि सकस भएको छ। 'गाडी त हिँड्न सक्ने कुरै भएन। पैदल यात्रु पनि रोकिएका छन्। कोही कोही जोखिम मलेर पहिरो छिचोल्दै हिँडेका छन्', गाउँपालिकाका अध्यक्ष गुरुङ भन्छन्, 'माथिबाट गेगर झरिरहेको पनि वास्ता नगरी हिँड्नेलाई प्रहरी परिचालन गरी पहिरोभन्दा माथिबाट घुमेर जान आग्रह गरेका छौँ, तर कतिपयले अटेरी गरी हिडिरहेका छन्।'
सडकमाथि ठूलो ढुंगो अड्किएर बसेकाले जुनसुकै बेला त्यो सडकमा झर्न सक्ने उनले बताए। सडक अवरुद्ध हुँदा धार्चे ३ र चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दा सदरमुकाम तथा सहरी क्षेत्र झर्नबाट बञ्चित भएका छन्।
प्रतिक्रिया दिनुहोस !