‘मिनी पाटन’ भनिने भोजपुरे टक्सार सुनसान
भोजपुर : भोजपुरको टक्सार भन्नेबित्तिकै हस्तकला र धातुकलाको झल्को आउँछ। नेपालकै पहिलो तामाको ‘टक’ काट्ने अर्थात् तामाको पैसा छाप्ने प्रसिद्धि पाएको यो टक्सारबजार पछिल्लो समय गुल्जार छ। घर त छन्, तर मान्छे मुस्किलले मात्रै भेटिन्छन्। हातबाट बनेका धातुकला यहाँको विशेषता हो। केही दशकअघिसम्म घरलौरी नै कलात्मक करुवालगायत धातुका सामग्री बन्थे। तर, विगतका केही वर्षहरूदेखि पाँच घरले मात्रै यहाँको धातु उद्योगहरू धान्दै आएका छन्। बसाइँसराइ र कच्चापदार्थ अभावमा यहाँको कलात्मक धातु उद्योगहरू ओझेलिँदै गएका छन्।
देशविदेशमा नाम कमाएको भोजपुरे खुकुरीपछिको दोस्रो पहिचान बोक्ने कलात्मक धातुका उद्योगहरू कालीगढ र वनपैदावर कमी हुन थालेपछि बन्द हुने स्थितिमा पुगेका छन्। १८७२ तिर राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापित भोजपुरे टक्सारको धातु व्यावसाय क्रमशः खस्किँदै गएको हो।
धातु उद्योगले प्रसिद्धि पाएको भोजपुर नगरपालिका–१२, स्थित टक्सार क्षेत्रमा कुनैबेला घरैपिच्छे कलात्मक धातुका सामानहरू बनाइन्थे। तर, अहिले आएर कच्चापदार्थ नै पाउन छाडेपछि केही घरधुरीबाहेक सबै बन्द भइसकेका छन्। गाह्रो, अप्ठ्यारो, फोहोरी काम हुने भन्दै अधिकांश नयाँ पुस्ताले यो पेसा छाडिसकेका छन्। तर, पनि सात घरधुरीले भने दुःखसुख कच्चापदार्थ जुटाउँदै यो पेसा धानिरहेका छन्।
घरलौरी नै हुने यो धातु पेसा वनले लगाएको प्रतिबन्धले कच्चापदार्थ नै पाउन मुस्किल हुन थालेपछि गाउँका अधिकांशले पेसा छाडेको विगत ३१ वर्षदेखि धातुका सामान बनाउँदै आएका टक्सारका धातु उद्यमी बुद्धराज शाक्य सुनाउँछन्। ‘एकातिर गाउँमा धातुका काम गर्ने छैनन्। अर्कोतिर साल, सिसौ, खयरका रूख पाउनै गाह्रो, वनले रोक लगाएपछि ती वनपैदावर कच्चापदार्थ ठप्पै हुने गरेको छ। व्यावसाय चलाउनै गाह्रो भयो,’ उनले भने, ‘कच्चापदार्थ अभावले नै बाँकी उद्योगहरू पनि बन्द हुने अवस्थामा छन्।’ उनीलगायत टक्सारमा अहिले पाँच घरले मात्र कलात्मक धातु व्यावसाय धानिरहेका छन्।
धातु उद्योगसम्बन्धी जिल्लामा तालिम, प्रवर्धन गर्ने निकाय, सरकारी बजेट पनि नपाएको उद्यमीहरू गुनासो गर्छन्। धातु उद्यमीहरूका लागि कुनै तालिम, अनुदानमा पनि बेवास्ता गरेको अर्का स्थानीय धातु उद्यमी देवकुमार शाक्यले बताए। उनले पुख्र्यौली पुरानो पेसाप्रति ऊर्जा थप्न र जनशक्ति उत्पादन गर्न उद्यमी र अन्य मानिसलाई पनि तालिम, प्रशिक्षण आवश्यक रहेको ठम्याए। भने, ‘बेलाबेला हामीलाई तालिम, प्रशिक्षण गराए सबै जातिले यो पेसा गर्न सिक्ने मौका पाउँथे। जसले यो कला, यो पुरानो व्यावसायको पनि संवर्धन हुने थियो।’
भोजपुरको टक्सारमा वनेका कलात्मक बुट्टे धातुका सामग्रीभन्दा पनि आयातीत धातुका सामग्रीहरू स्थानीय बजारहरूमा पाइने गरेकाले पनि उद्योग संकटमा पर्दै गएको घरेलु तथा साना उद्योग कार्यालय टक्सारका प्रमुख रमेश ढकालले सुनाए।
धातुका सामान बनाउन जटिल, फोहोरी र हिचकिचाहटपनले गर्दा नयाँ पुस्ता पलायन हुनुपरेको ढकाल सुनाउँछन्। थप्छन्, ‘नयाँ पुस्तामा यो पेसाप्रति कुनै चासो देखिँदैन। भएका धातु उद्यमीहरू पनि परम्परागत रूपमै रुचाएका छन्। उनीहरू पनि नयाँ ढंगले इच्याइएका देखिँदैनन्। त्यसरी पनि यो पेसा संकटमा पर्दै गएको हो।’ धातु पेसालाई प्रवर्धन गर्न वस्तु विकास केन्द्र बनाएर सहजीकरण गर्ने, देशविदेशका प्रदर्शनीमा सहभागी गराएर बजार व्यवस्थापन गर्ने, कच्चापदार्थसँग सम्बन्धित प्रशासनिक जटिलतालाई सहजीकरण गर्नुपर्ने उनको जोड छ।
व्यावसायी बद्री श्रेष्ठका अनुसार पछिल्लो समय स्थानीय भोजपुर बजारमा दक्ष कालीगढ अभावका कारण पनि मागअनुसारका धातुका सामानहरू ग्राहकलाई धान्न गाह्रो भएको छ। भोजपुरमै बनाइएका धातुका सामानमा सात दिनसम्म पानी राख्दा पनि लेउ र खिया नलाग्ने हुँदा यहाँको गुणस्तरीयता बाहिरबाट आयात हुने सामानभन्दा सयांै गुणा बढी राम्रो र भरपर्दो रहेको उनको भनाइ छ।
स्थानीय टक्सारमा वनने कलात्मक भोजपुरे करुवा देशविदेशमा प्रचलित छ। एउटा बुट्टे कलात्मक करुवा पूर्ण रूपमा तयार हुन एक महिनादेखि ३ महिनासम्म लाग्छ। यहाँको करुवा अन्यभन्दा कलात्मक, आकर्षक र टिकाउ भएकै कारण माग धेरै हुने गरेको अर्का धातु व्यावसायी ईश्वर श्रेष्ठले बताए।
भोजपुरमै उत्पादन हुने धातुका सामानहरू बाहिरबाट ल्याइने धातुका सामानभन्दा गुणस्तरीय, भरपर्दो, टिकाउ, आकर्षकसँगै महँगो पनि छ। भोजपुरमै उत्पादित धातुका कलात्मक करुवाको मूल्य अहिले बजारमा ११ सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म किनबेच हुन्छ। बाहिरबाट ल्याइने एउटा कांसे थाल १८ सयदेखि ३५ सय रुपैयाँसम्म पर्दा स्थानीयस्तरमै उत्पादित त्यही कांसे थाल ३ हजारदेखि पाँच हजारसम्ममा बेचविखन हुने गरेको व्यावसायीहरू बताउँछन्।
यहाँका कलात्मक टक्सारे करुवा, आम्खोरा, डाडु, खड्कुलो, थाल, कचौरा, गाग्रीलगायत विभिन्न धातुका सामानहरू जिल्लामा निकै प्रचलितमा छन्। यहाँका कलात्मक टक्सारे करुवा जिल्लामा मात्रै नभई देशविदेशसम्म आफन्तजन, अतिथीलाई कोसेली र सम्झना स्वरूप आदानप्रदान गरिने गरिन्छ। तर पछिल्लो समय वन ऐनले वनजंगलमा धातु बनाउनका लागि चाहिने अतिआवश्यक साल, सिसौ रूखका कोइला, काठ निकासीमा लगाएको प्रतिबन्धले उद्यमीले चाहेजस्तो कच्चापदार्थ पाउन नसकेको टक्सारका स्थानीय विमल रणपहेली बताउँछन्।
पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौं मूल्यका धातुका सामग्री तथा डोली पैसासमेत छाप्ने टक्सारबजार पछिल्लो समय सुनसान हुँदै गएको छ। ललितकलामा ख्याती कमाएको पाटनक्षेत्र जस्तै धार्मिक सम्पदा र व्यापार शैली भएकाले टक्सारलाई ‘मिनी पाटन’ को नामले पनि चिनिन्छ।
प्रतिक्रिया दिनुहोस !