सुदूरपश्चिममा गौराको रौनक, धनगढीमा यसरी मनाइयो गौरा (फोटोफिचर)

सुदूरपश्चिममा गौराको रौनक, धनगढीमा यसरी मनाइयो गौरा (फोटोफिचर)
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिममा गौरापर्वको रौनक छाएको छ। पञ्चमीदेखि गौरा भिजाएर सुरु भएको गौरा पर्वको आज अथवा आइतबार अठेवाली पर्व मनाइएको छ। अठेवाली अथवा बिरुडाले गौरीको पुजन गरी आफन्तको टाउको पुजन गरी दीर्घायुको कामना गर्ने चलन रहेको छ।

सुदूरपश्चिमका गाउबस्तीदेखि शहरसम्म गौरामय भएका छन्। पहाडबाट तराई झरेकाहरूले धनगढीमा पनि भव्यताका साथ गौरा पर्व मनाएका छन्। सुदूरपश्चिमको मौलिक पर्वका रूपमा रहेको गौरा पर्वको आज मुख्य दिन हो। 

आइतबार अठेवाली मनाइएको छ। पञ्चमीका दिन भिजाएको अंकुरित भएको बिरुडाले आज दिनभरी गौरीको प्रतिमाको पूजा गरिन्छ भने गौरीको पूजा सकिएपछि विवाहित महिलाले श्रीमान, छोराछोरी र आफन्तजनको टाउको पुजन गरी सुस्वास्थ्य एवम् दीर्घायुको कामना गरिन्छ।

आजका दिन बिरुडाले आफन्तको टाउको पुजन गरेर आशीष मागेमा दीर्घायु हुने विश्वास रहेको व्रतालु भागरथी विष्टले बताइन्। ‘आजको दिन गौरा पर्वको मुख्य दिन हो। सबैभन्दा पहिला गौरी (पार्वती) र भगवान शिवको विवाह गरिन्छ। त्यसपछि आफन्तको टाउको पुजन गरी दीर्घायुको कामना गरिन्छ’, उनले भनिन।

धनगढीको शिवपुरी धाम, नैनादेवी र वनदेवी मन्दिरमा गौरा पर्व उल्लासका साथ मनाइन्छ। स्थानीयहरूले पञ्चेबाजा बजाएर गौरीको प्रतिमाको परिक्रमा गर्छन् भने महिलाहरूले शिव पार्वतीका मंगल गाथाहरू गाएर पार्वती अथवा गौरीको पूजा गर्ने गर्छन्। 

बिहीबार व्रतालु महिलाहरूले घर/घरमा ‘बिरुडा’ अथवा पाँच प्रकारका अन्न, मास, केराउ, गहत, गहुँ र गुराउस भिजाएका थिए। शुक्रबार नजिकको जलासय, कुण्ड वा कुवामा गएर सामूहिक रूपमा बिरुडा धुने कार्य सम्पन्न भइसकेको छ। 

शनिवार भने गौराको खालो अथवा आ-आफ्नो पायक पर्ने मन्दिरमा गौरीको पुजन सम्पन्न भएको छ। आजको दिन पनि स्थानीय भाषामा रहेको सगुन तथा गौरी पुजनको फाग गाउने चलन रहेको छ। पुरुषले लगाउने जनै जस्तै महिलाहरू आजको दिन दुबो धागो लगाउने गर्छन्।

गौरा पर्व महिलाहरूको मात्र पर्व हो। गौरा पर्वमा विवाहित महिलाले मात्र व्रत बस्नुपर्छ। यस पर्वमा पुरुषहरूले व्रत बस्नुपर्दैन तर पुरुषहरू गौरा पर्वको अवधरीभर देउडा, ढुस्को र धुमारी जस्ता खेल खेलेर रमाइलो गर्ने गर्छन्। ‘गौरा आउने बित्तिकै देउडा, ढुस्को धुमारीको सम्झना आइहाल्छ। पुरुषहरूले देउडा खेलेर रमाइलो गर्ने गर्छन्’, सुदूरपश्चिम सांस्कृतिक सम्वर्द्धन समितिका अध्यक्ष भोजराज भट्टले भने। 

विवाहित महिलाहरूले गौरा पर्वमा बस्ने व्रत अठेवालीका दिनदेखि सकिएको छ। तर, रमाइलोका लागि गौरा पर्व अझै तीन दिनदेखि एक हप्तासम्म मनाउने गर्छन्। तराईका जिल्लाभन्दा पनि पहाडी जिल्लाहरूमा अझै गौराको रौनक बढी हुने गरेको छ। 

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.