भेप तस्करीमा वनकै कर्मचारीको मिलेमतो

हुम्लाबाट बाँके जाने गाडीको रुट नै परिवर्तन गरियो

भेप तस्करीमा वनकै कर्मचारीको मिलेमतो

वीरेन्द्रनगर : हुम्लाबाट नेपालगञ्जका लागि सेतक चिनीको छुटपुर्जीमा गरिएको विद्युतीय चुरोट (भेप) तस्करीमा डिभिजन वन कार्यालय हुम्लाका कर्मचारीहरूकै मिलेमतो देखिएको छ। हुम्लाबाट बाजुरा, कालीकोट, दैलेख, सुर्खेत हुँदै गाडीहरू बाँके जान्छन्। तर, उक्त भेप तस्करीको कन्टेनरलाई हुम्लाका डिभिजन वन अधिकृत लोकजंग शाहीले छुटपुर्जीमा रुट परिवर्तन गरिदिएका थिए।

हुम्लाबाट बाजुरा, कालीकोट, दैलेख, अछाम, कैलाली, बर्दियाको कोहलपुर हुँदै नेपालगन्ज बाँकेको रुट दिएका थिए। दैलेखबाट सुर्खेत रुट लिँदा बाटोमा धेरै चेकपोस्ट पर्ने भएकाले चेकपोस्ट कम भएको बाटोको रुट दिइएको थियो। अर्थात् उक्त भेप तस्करीमा कर्मचारीहरूको समेत मिलेमतो देखिएको हो। डिभिजन वन कार्यालय हुम्लाबाट ५ हजार केजी सेतक चिनी उल्लेख गरेर बाँकेको नेपालगन्जका लागि जाँचपास गरिएको कन्टेनरमा तस्करीका ३९ हजार ९ सय थान भेप फेला परेपछि हुम्लाका डिभिजन वन अधिकृत शाही नै तस्करीमा संलग्न भएको आशंकाहरू भए। उनका साथीसमेत रहेका व्यापारी कुन्साङ दोर्जी लामाको जडीबुटीको कन्टेनरमा राजस्व छलीको भेप फेला पर्नु र संकलनदेखि छुट पुर्जीसम्म लोकजंग शाहीले नै दिए।

तस्करीका भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाकै नाम्खा गाउँपालिकाको लिमी हुँदै भित्रिएको र त्यही भेप उनीसँगै सेतक चिनीका मालिक कुन्साङ दोर्जी लामासँगकै मिलेमतोमा भएको हुन सक्ने प्रशस्त आधारहरू रहेको स्रोतले बतायो।

३ जना कर्मचारीलाई उपस्थित गराउन राजस्वको पत्र
डिभिजन वन कार्यालय हुम्लालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले यस कार्यालयमा दर्ता भएको राजस्व चुहावट मुद्दासम्बन्धी अनुसन्धानका सिलसिलामा त्यहाँ कार्यालयमा कार्यरत निमित्त डिभिजन वन अधिकृत लोकजंग शाही, फरेस्टर सन्तोष खत्री र वन रक्षक कृष्णबहादुर हमाललाई यस मुद्दासँग सम्बन्धित केही बुझ्न उपस्थित गराई अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको पत्र हुम्ला डिभिजन वन कार्यालयमा पुगिसकेको छ।

हुम्लाबाट आएको जडीबुटीको कन्टेनर दैलेखका खिड्कीज्यूलाई पक्राउ परेको दिनबाट हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाही कार्यालय गएका छैनन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य, प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीका आफ्नै भाइ हुन्। राजस्व अनुसन्धान केन्द्रको पत्र भदौ ११ गते डिभिजन वन कार्यालयमा पुग्यो। त्यसै दिनबाट निमित्त डिभिजन वन अधिकृत शाही सम्पर्कविहीन जस्तै छन्। 

उनीसहितका अन्य दुईजना कर्मचारी पनि राजस्व अनुसन्धान केन्द्र कोहोलपुरमा गएका छैनन्। उनीहरू सम्पर्कविहीन नै छन्। उनीहरूको मोबाइमा फोन त लाग्छ तर उठ्दैन। कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक लामा पनि फरार नै छन्। उनी कन्टेनर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको दिनबाटै फरार भएका थिए। स्रोतले भन्यो, लामा हुम्लाबाट चीनको तिब्बततिर फरार भएको अनुमान छ।

राजस्व अनुसन्धान विभागले फरार रहेका निमित्त वन अधिकृत र व्यवसायी लामालाई पक्राउ गरिदिन नेपाल प्रहरीलाई पत्राचार गरिएको छ। तर, प्रहरीले पनि उनीहरूलाई फेला पार्न सकिरहेको अवस्था छैन। प्रहरीका अनुसार विभागको पत्रपछि फरार रहेका शाही र लामाको खोजी कार्य भइरहेको छ। अन्य वनका २ जना कर्मचारी पनि राजस्व अनुसन्धान कार्यालयमा गएका छैनन्। डिभिजन वन कार्यालय हुम्लाका प्रमुख चन्द्रवीर गरुङ करिब एक महिना अगाडिदेखि सुर्खेतमै रहेको बुझिएको छ। तर, उनको पनि मोबाइल अफ छ। तस्करीको भेप रहेको कन्टेनरका साथ प्रहरीले हुम्लाकै सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगुका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय भूमि रोकायलाई पक्राउ गरेको थियो। भूमि कन्टेनरका चालक हुन्। जनक र छिरिङ जडीबुटी मालिक लामाका सहयोगी हुन्।

तीनैजना जाँचपास गरिएको कन्टेनर लिएर बाँकेतर्फ प्रस्थान गरेकामा त्यसको पिछा गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) सादा पोसाकका टोलीले नियन्त्रणमा लिएका हुन्। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सशस्त्रको टोलीले खिड्की जिउलाबाट कन्टेनर र त्यसमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको थियो।null

डिभिजन वन कार्यालय हुम्लाका निमित्त प्रमुख लोकजंग शाहीले भेप तस्करी भएको कन्टेनरलाई सेतक चिनीको नाममा दिएको छुुटपुर्जी ।

राजस्वलाई पक्राउ परेका व्यक्ति र कन्टेनरलाई नेपालगन्जतर्फ लैजाने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित बांगेसीमलमा सशस्त्रको टोलीले राजस्वको जिम्मा लगाएको थियो। सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएको जानकारीपछि राजस्वको कोहलपुर कार्यालयका कर्मचारी सुर्खेत प्रस्थान गरेका थिए। 

राजस्वले सशस्त्रको सुरक्षामा कन्टेनर कोहलपुर कार्यालय पु¥याएर हेर्दा ईएलएफबीएआर ब्रान्डका ३९ हजार ९ सय थान तस्करीका भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी भेटियो। कन्टेनरमा फेला परेको भेपको बजार मूल्य करिब १० करोड रुपैयाँ रहेको अनुमान छ। वनले जाँचपासका क्रममा कन्टेनरमा ५ हजार केजी जडीबुटी उल्लेख गरेपछि आधाभन्दा कम परिमाणमा सेतक चिनी माथिल्लो भाग र त्यसभन्दा मुनि तस्करीमा भेप राखेर पठाएको भेटियो। त्यसपछि अगाडि बढेको तस्करीको अनुसन्धानका क्रममा वनकै अधिकृत शाही र जडीबुटी व्यापारी भनिएका लामाको संलग्नता खुल्ने आधारहरू भेटिएका छन्।

प्रारम्भिक अनुसन्धानमा तस्करीका भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाको नाम्खा गाउँपालिकाको लिमी हुँदै भित्रिएको हुन सक्ने अनुमान राजस्वको छ। एक अधिकारीले भने, ‘त्यसरी भित्रिएका भेप केही समय गोप्य ठाउँमा लुकाएर राखिएको र जब वनका कर्मचारीसँग सेटिङ मिल्यो, त्यसपछि सेतक चिनीको कन्टेनर देखाएर नेपालगन्जसम्म लैजाने र त्यसपछि भारत पठाउने तयारी रहेको देखिन्छ।’ घटनाले के मिल्न जान्छ भने, गत साउन महिनाको ५ र ६ गते सुर्खेतमा गत आर्थिक वर्षको वार्षिक समीक्षा थियो। डिभिजन वन कार्यालय प्रमुख चन्द्रवीर गुरुङ र योजना शाखा प्रमुख लोकजंग शाही आउनुपर्ने थियो। तर, उनी लोकजंग शाही सुर्खेत आउन मानेनन्। उनले योजना शाखा प्रमुख नेत्रबहादुर शाहीलाई आफ्नो सट्टामा पठाए।

त्यसै समयमा जडीबुटी व्यापारी लामा र निमित्त डिभिजन वन अधिकृत शाहीको सेटिङ मिलेको हुन सक्ने आशंका छ। केही दिनदेखि सम्पर्कविहीन बनेका लामा र वन अधिकृत शाहीबीच विगतमा पनि अस्वाभाविक साँठगाँठ देखिएको र त्यही सम्बन्धका आधारमा शाही निमित्त वन अधिकृत भएको मौकामा तस्करीका भेप पास गराउने योजना बनाएको हुन सक्ने स्रोतको ठम्याइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.