धादाङकोकको भिर, १० वर्षमा लडेर गयो ६ जनाको ज्यान
गोरखा : चुमनुब्री–६ धुम्चेतका ४३ वर्षीय रिन्जिन लामा गत सोमबार साँझ बिजुलीको मिटिङबाट घर फर्कंदै थिए। धादाङकोकको भिरबाट लडेर निधन भयो। उनको शव निकाल्न जाँदा सिप्चेतका हिसे दोर्जे लामा पनि त्यही भिरबाट खसे र उनको पनि ज्यान गयो। यसअघि पनि सो भिरबाट बर्सेनिजसो बटुवाहरू लडेर ज्यान जाने गरेको स्थानीयवासी बताउँछन्।
ताजुदेखि खी रेन्जोमसम्मको साँघुरो बाटोबाट स्यारखोलामा खसेर १० वर्षमा ६ जनाको मृत्यु भएको वडासदस्य हिसेग्याम्जो लामाले बताए। दर्जनौं खच्चड, घोडा, चौंरी र याकहरू पनि सोही भिरबाट लडेर मरेको स्थानीयको भनाइ छ।
साँघुरो बाटो, ज्यादै अग्लो र जोखिम भिर भएकाले लडेपछि जोकोही पनि जीवित नरहने गरेको वडासदस्य हिसे ग्याम्जोको भनाइ छ। ‘त्यही एउटै भिरबाट ९–१० वर्षमा ६ जना लडेर मरिसके। घोडा, खच्चड, याक, चौंरी त कति गए गए। अझै कति जाने हुन् ? ’, वडासदस्य हिसे ग्याम्जोले भने, ‘९, १० वर्षअघि सिप्चेतको सेराप दोर्जे बारीमा काम गरेर फर्किंदा त्यहाँबाट खसेर मरे। फेरि आठ, नौ वर्षअघि सिप्चेतकै ङवाङ तान्जेन ताजुमा काठको काम गरेर फर्कंदा त्यही छेउबाट लडेर मरे। सिप्चेतकै ङिमा तान्जेन लामाको पनि बारीमा काम गरेर फर्किंदा त्यही भिरबाट लडेर ज्यान गयो। केही वर्षअघि तराईतिरबाट भाँडा बेच्दै आएका अर्का एकजना पनि यहीँबाट खसेर मृत्यु भएको थियो। सिप्चेतका मान्छे त भिरबाट लडेरै सक्किने भए।’ बाटो असाध्यै
असजिलो र झुक्किएर लडेमा छेकबार केही पनि नभएकाले सिधै डेढ, दुई सय मिटर तल स्यारखोलामा पुग्ने उनको भनाइ छ।
चुमनुब्री गाउँपालिकाको प्रवेशद्वार वडा नं. ३ को पाङसिङसम्म मात्र मोटर बाटोले छोएको छ। वडा नं. ६ पाङसिङबाट एक दिनको पैदल यात्रापछि पुग्ने ठाउँ हो। यहाँका बासिन्दाका लागि मोटर बाटो सपना मात्र भएको छ। ‘मोटर बाटो त कहिले हो कहिले ? हामीले आशा पनि गर्न छोडिसक्यौं’, वडासदस्य हिसे ग्याम्जो भन्छन्, ‘हामीलाई सुरक्षित गोरेटो बाटो मात्र भए पनि बनाइदिए हुन्थ्यो। बर्सेनि कति मान्छे मर्ने।’
ताजुदेखि खी रेन्जोमसम्मको करिब दुई किलोमिटर बाटो अलिकति चौडा बढाउनुपर्ने, छेउमा रेलिङ बनाएमा सुरक्षित हुने स्थानीय गोपाल लामाको भनाइ छ। ‘साँघुरो बाटोमा भारी बोकेर हिँड्ने खच्चड, घोडा भित्तामा ठोक्किएर भिरबाट स्यारखोलामा खस्छन्’, उनी भन्छन्, ‘टाउकामा भाँडाको भारी बोकेर आएका तराईका एकजना पनि भित्तामा भारी ठोक्किएर तल खसेर मरे। त्यसैले बाटो अलि फराकिलो बनाउनुपर्छ। लडिहाल्यो भने अड्काउने रेलिङ र ग्याभिन तारबारले छेक्नुपर्छ। नत्र, सधंै यो बाटोमा यस्तै घटना भइरहन्छन्।’ दुई किलोमिटर नै एकैपटक बनाउन नसके पनि तत्काल दुई सय मिटर जति बाटो असाध्यै कठिन भएकाले त्यतिलाई सुरक्षित बनाउनुपर्ने उनको भनाइ छ।
गाउँपालिका वा वडाको बजेटले सो काम गर्न बजेट अपुग हुने भएकाले सो बाटोका लागि संघ वा प्रदेशबाट बजेट र कार्यक्रम विनियोजन हुनुपर्ने स्थानीयवासीको माग छ।
प्रतिक्रिया दिनुहोस !