बसाइँसराइका कारण फेरिएको पालिकाको काम

बसाइँसराइका कारण फेरिएको पालिकाको काम
सिरानचोक गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर।
सुन्नुहोस्

गोरखा : पहिले सेवाग्राहीहरू गाउँपालिकाको कार्यालय, वडा कार्यालय खोज्दै धाउँथे। अहिले सेवाग्राही खोज्दै गाउँपालिका, वडा कार्यालय धाउन थालेको छ। पहाडी गाउँबाट बसाइँसराइको दर बढेपछि गाउँपालिका, वडा कार्यालयहरूको सेवा दिने प्रकृति फेरिन थालेको हो।

अहिले गाउँका बासिन्दाले काठमाडौं, चितवन, पोखरा तथा गोरखा बजार भरिएका छन्। छोराछोरी सहरिया भएपछि वृद्ध बुबाआमा पनि पछ्याउँदै सहर झर्न बाध्य छन्। गाउँघरमा सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही नभए पनि पालिका तथा वडाका कर्मचारी सेवाग्राही खोज्दै गोरखा बजार, चितवन र काठमाडौंमा खटिन थालेका पालिका प्रमुखहरूको भनाइ छ।

जिल्लाका ११ मध्य ६ वटा पालिकाले सहरमा घुम्ति शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गराएका छन्। सुगममा अवस्थित पाँच पालिकाले भने पालिकाबाटै काम गरेका छन्। बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौं र चितवनका सहरहरूमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो।

जनप्रतिनिधि तथा कर्मचारीको टोली खटिएर विभिन्न मितिमा सहरहरूमा शिविरि सञ्चालन गरेको जनाएका छन्। ‘काठमाडौंमा यही साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे, जसबाट २५० जनाले सेवा लिए’, उनले भने, ‘चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ। चितवनको घुम्ती शिविरबाट कम्तीमा पनि ३०० जनाले सेवा लिएको अनुमान छ।’ पालिकाले काठमाडौंको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका ११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।

अधिकांश वृद्धवृद्धा सन्तानको साथ लागेर तथा औषधि उपचारका लागि काठमाडौं, चितवनजस्ता सहरहरूमा बस्दै आएका छन्। ती वृद्धवृद्धालाई पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए। उनका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो। ‘वृद्धवृद्धाहरू गाउँमामा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो। कतिपय त ह्विलचियरसहित आउनुपर्ने अवस्था छ। हाम्रो अधिकांश पालिकावासी काठमाडौं र चितवनमा बसोबास गर्नुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौं’, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले भने। शिविरमा एकजना एमआईएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधिहरू खटिएका उनको भनाइ छ।

कतिपय वृद्धवृद्धा भने औषधि उपचारका ती सहरहरूमा बस्दै आएका छन्। उनीहरू गाउँमा आउनुभन्दा पालिकाका कर्मचारी नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उनको भनाइ छ। पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो। गाउँपालिकाको ४८ सय जना नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेकोमा आधाभन्दा धेरै पालिकाबाहिर बसोबास 
गर्दै आएका छन्।

सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौं र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ। पालिकाले यही साउनको अन्तिम साता काठमाडौंं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको हो। आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ।
बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा शिविर सञ्चालन गरी ४२५ जनालाई सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए। जसबाट ४२५ जनाले सेवा लिएका उनले जानकारी दिए।

उनका अनुसार चितवनको शिविरमा १२९ जना र काठमाडौंमा भएको शिविरमा २९६ जनाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिएको छ। सो गाउँपालिकाका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्। तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पनि काठमाडौं र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको कागजात नवीकरण गरेको छ। पालिकाले साउनको पहिलो हप्तामा उक्त शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताए। वडा सचिवहरू खटिएर सहरमा नवीकरण घुम्ती शिविर सञ्चालन गरिसकेपछि अहिले वडाहरूमा नवीकरणको काम सुरु गरेको उनले जानकारी दिए। 
अधिकांश पालिकाबासी काठमाडौं र जिल्ला सदरमुकाममा बस्ने भएकाले सहरबाटै सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सुरु गरेको उनको भनाइ छ।

विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ। यही भदौको १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए। शिविरबाट करिब ६०० जनाले सेवा लिएका उनको अनुमान छ।

अजिरकोट गाउँपालिकाले पनि चितवन र काठमाडौंमा घुम्ती शिविर सञ्चालन गरेको थियो। पालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौंमा शिविर आयोजना गरेको थियो। जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौंमा घुम्ती शिविर गरेको छ। पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो। जसबाट २३५ जनाले सेवा लिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.