कास्की र तनहुँबाट भागेका ६ कैदी गोरखामा पक्राउ
गोरखा : तनहुँ र कास्की कारागारबाट भागेका ६ कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। कास्की कारागारबाट भागेर आएका पाँचजना र तनहुँ कारागारबाट भागेका एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका ६ चुम्चेतका कैदी हुन्। गत भदौ २४ गते कास्की कारागारबाट भागेर गोरखा भित्रिएका चुमनुब्री ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी बताउँछन्। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको प्रहरीले उपरीक्षक सुवेदीले जानकारी दिए।
चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारैजनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए। त्यस्तै कास्की कारागारबाट भागेर गोरखा आइपुगेका भीमसेन थापा १ मसेलका राजेश विश्व सुनारलाई पनि गोरखा प्रहरीले पक्राउ गरेको जनाएको छ। कर्तव्य ज्यान मुद्दामा २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका ८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ। चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए। उनलाई शुक्रबार पक्राउ गरेको डीएसपी सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !