सर्वोच्च अदालतले सुरु गर्यो बन्दीप्रत्यक्षीकरण र तारिख दिने काम
काठमाडौं : सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो ।
सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगाएतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थीति नरहेपनि क्रमश कामकारवाही सुरु हुने बताए । स्थिति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाइ सुरु गर्न सुझाव दिइएको उनले उल्लेख गरे।
त्यस्तै अदालत पुगेका अधिवक्ताहरुले अदालतमाथि आक्रमण हुनु दु:खद भएको बताए । अधिवक्ता ताराप्रसाद अर्यालले आस्थाको धरोहरमा भएको आक्रमण जायज नभएको बताए । उनले बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ सुरु भइसकेको उल्लेख गरे।
त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दीप्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि विस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गरे ।
हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज जलेको सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !