कार्यसम्पादन बैठकमा गगन थापाले भने- पार्टी पुनर्गठन कि विशेष महाधिवेशनबाहेक हामीसँग विकल्प छैन
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठन वा विशेष महाधिवेशनको माग गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन बैठकमा उनले विषम परिस्थितिमा दुई विकल्प अघि सारेका हुन्।
पार्टीको दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तनसहित पुनर्गठन गर्नुपर्ने उनको माग छ। तर, त्यो विधिसम्मत तरिकाले हुनुपर्ने उनको भनाइ छ।
उनले पार्टी घाइते अवस्थामा रहे पनि दायित्व र जिम्मेवारीबाट भाग्न नमिल्ने बताए। उनले युवा पुस्ताको आन्दोलनबाट व्यक्त भावना, खासगरी सुशासन र भ्रष्टाचारमुक्त देश र समाज निर्माण गर्न कांग्रेसले दायित्व बहन गर्नुपर्ने बताए।
लामो संघर्षपछि नेपाली जनताले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाटै समुन्नतिको यात्रामा डोर्याउन स्थापनाकालदेखि आजसम्म जुनसुकै कठिन अवस्थामा पनि सम्झौता नगरेका राजनीतिक मूल्य, मान्यता, अहिंसा, नागरिक स्वतन्त्रता, विधिको शासन लगायतका मूल्यलाई जोगाउने दायित्व पार्टीसँग रहेको उनको भनाइ छ।
उनले दोस्रो विकल्पका रूपमा नियमित महाधिवेशन र विशेष महाधिवेशनको माग गरेका हुन्। 'पार्टीको विधानअनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ। अब म्याद नथपौं, यो परिस्थितिमा थप्न मिल्दैन। नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौं। हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौं र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौं,' बैठकमा महामन्त्रीले थापाले भने।
त्यस्तै विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेकाले अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गर्नुपर्ने बताए।
'तत्काल पार्टी पुनर्गठनका लागि यी दुईभन्दा अर्को विकल्प छैन। यसरी आउने नेतृत्वले मात्र अहिलेको अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने माथि उल्लिखित दायित्व पूरा गर्न सक्छ। अब बस्ने केन्द्रीय समितिको बैठकले यो विषयमा निर्णय गर्नैपर्छ,' बैठकमा उनले जोड गरे।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष अधिवेशन बलाउन माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस !