टेरामक्स प्रविधि खरिद प्रकरण
पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं : टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीशहरू हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा पेशी चढेको छ।
यसअघि असार ९ गते सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १९ जनामाथि ३ अर्ब २१ करोड रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो। थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छड्न आदेश दिएपछि बस्नेत थुनामुक्त भएका थिए। परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गएर एकल निर्णयमा टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आयोगको ठहर छ। पूर्वमन्त्री बस्नेतले ‘मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारको अपव्याख्या गरी इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने’ निर्देशन पनि दिएको अख्यितारको आरोप पत्रमा उल्लेख छ। सरकारले प्राधिकरणलाई निर्देशन दिने निहित अधिकारको उनले दुरुपयोग गरेको अख्तियारको जिकिर छ।
पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। प्राधिकरणका तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गर्दै मुद्दा दायर गरिएको छ।
परामर्शदाता भ्यानराइज सोलुसन सल र उसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालि काठमाडौंलाई पनि अख्तियारले आरोपी बनाएको छ। आयोगका अनुसार भ्यानराइजका सीईओ जमाल अनौटी,कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलोमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको अख्तियारले आरोपपत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !