फिनिक्स चराको कथालाई मजाक नबनाऔँ, नयाँ पुस्तालाई नेतृत्व दिउँ : सुरेन्द्र चौधरी
काठमाडौं : नागरिक अभियन्ता सुरेन्द्र चौधरीले प्रमुख दलका नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन र नयाँ पुस्तालाई नेतृत्व दिन आग्रह गरेका छन्।
उनले जेनजी आन्दोलनको मर्म स्मरण गर्दै राजनीतिक दलहरूले विगतका कुकर्म त्यागेर नयाँ स्वरूपमा आउनुपर्ने बताए। पुराना दलहरू निरन्तर 'फेरि उठ्ने' बताइरहेका बेला अभियन्ता चौधरीले प्राचीन मिथक फिनिक्स चराको कथालाई मजाक नबनाउन चेतावनी दिए। उनले बिना आनाकानी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए।
'पुराना दलका मुखियाहरूले कार्यवाहक नेतृत्वसमेत नयाँ पुस्तालाई दिन आनाकानी गर्दा फिनिक्सको प्रतीकलाई आफ्नो आदर्श भन्नु जेनजी आन्दोलनले उठाएको आदर्शवादको खिल्ली उडाउनु हो,' उनले भने।
फिनिक्स मिथकले नवीकरण, पुनरुत्थान र विपत्तिबाट नयाँ सुरुवातको सन्देश दिने भन्दै उनले दलहरूलाई प्रतिप्रश्न गरे, 'के तपाईंहरू दलीय सिन्डिकेटको संस्कारबाट बाहिर निस्किन तयार हुनुहुन्छ? के तपाईंहरू विगतका कुकर्म त्यागेर बलियो र नवीकरण भई नयाँ सुरुवात गर्न चाहनुहुन्छ?'
चौधरीका अनुसार, यही विचार नै जेनजी विद्रोहको मूल मर्म हो। तर, पुरानै सोच र नेतृत्त्वलाई सर्वसत्तावादमा लाद्ने प्रवृत्ति जारी रहे दलहरूले फिनिक्सको आदर्शलाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने अधिकार राख्दैनन्।
प्रतिक्रिया दिनुहोस !