बेनिघाट–लार्के सडक अवरुद्ध
गोरखा : केही दिनदेखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ। धार्चे ३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ। दोभाननेर दुई तीन ठाउँमा पहिरिएको छ’, उनले भने, ‘गाउँपालिकाले पहिरो फाल्दै त छ तर कहिले पन्छ्याइसक्छ थाहा छैन।’ बूढीगण्डकी जलविद्युत आयोजनाले पनि सहयोग गर्न सक्ने उनले बताए। ‘बूढीगण्डकी जलविद्युत आयोजनालाई पनि अनुरोध गरेका छौँ। उनीहरुले पनि सहयोग गर्छ होला।’
यसअघि तातोपानी–दोभान खण्डमा झरेको पहिरो झण्डै एक महिनापछि बूढीगण्डकी जलविद्युत आयोजनाले पन्छ्याएर सडक खुलाएको थियो। सडक अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिका आवतजावत गर्न कठिनाइ भएको छ। साथै धार्चे गाउँपालिकाको वडा नं. १ र ३ को उहियाका बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ। साथै पर्यटकीय सिजन सुरु भएसंगै मनास्लु क्षेत्र तथा चुम उपत्यका आवतजावत गर्ने पर्यटकलाई पनि समस्या भएको छ।
सडक अवरुद्ध हुँदा मनास्लु आरोहणका लागि अनुमति लिएका ३५० जना धन्दा धेरै आरोहीको सामान ढुवानी गर्ने भरिया तथा खच्चडका लागि पनि सकस भएको छ।
प्रतिक्रिया दिनुहोस !