सीमामा प्रहरीको कडा निगरानी : नवलपरासीमा एक महिनामा मात्रै ७२ लाखको अवैध सामान बरामद
परासी : नवलपरासी प्रहरीले अघिल्लो महिनाको तुलनामा अवैध रुपमा ल्याउँदै गरेको दोब्बर सामान बरामद गरेको छ । सीमा नाकामा गस्ती र निगरानी बढाएसँगै अवैध सामान बरामद हुन थालेका हुन् ।
विगतका वर्षमा जिल्लामा पिकअप, ट्रकलगायतका सवारीसाधनबाट तस्करी हुँदै आएकोमा पछिल्लो समय प्रहरीले बढाएको निगरानीले उक्त कार्यमा कमि आएको सीमाका स्थानीयले बताएका छन् ।
तर, मोटरसाइकल, साइकलबाट किराना, लत्ताकपडाका सामान भने आउने क्रम रोकिएको छैन । मुल र सहायक बाटोभन्दा अन्य बाटोबाट भन्सार छली गरेर सामान आउन थालेपछि प्रहरीले त्यस क्षेत्रमा बढाएको निगरानीसँगै भन्सार छलीका सामान बरामद हुन थालेको बताइएको छ ।
गएको साउन महिनामा ३९ लाखका सामान बरामद गरेको प्रहरीले भदौ महिनामा ७२ लाख बढीको बरामद गरेको छ । बरामद सामानमा किराना, लत्ताकपडा, खसीबोका, चल्ला, कुखुरा, इलेक्ट्रिक सामानलगायतका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए ।
भदौ महिनामा बरामद भएका सामानमा सबैभन्दा बढी किराना सामान २९ लाख ७१ हजारका रहेका छन् । त्यसैगरी लत्ताकपडा १४ लाख, खसीबोका १२ लाख ८० हजार, इलेक्ट्रिक सामान ४ लाख ६६ हजार, कुखुरा, चल्ला र माछा ३ लाख ८५ हजार र ६ लाख १४ हजार बराबरका अन्य सामान बरामद भएको प्रहरीले जनाएको छ ।
अवैध सामान बरामद गर्नेक्रममा किराना सामान ओसारपसारमा संलग्न १ जना र खसीबोकामा संलग्न दुईजनालाई समेत पक्राउ गरी आवश्यक काराबाहीका लागि राजस्व कार्यालय र महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !