डुबानमा मधेस
जनकपुरधाम/वीरगन्ज : अविरल वर्षा र बाढीले मधेस प्रदेशका आठै जिल्ला डुबानमा परेको छ । वर्षा र बाढीले हालसम्म यस प्रदेशमा ६ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर ३ जनाको मृत्यु भइसकेको छ भने ३ जनाको शव खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी गराएका छन् । रौतहटमा चट्याङ लागेर शनिबार साँझ कटहरिया नगरपालिका २ हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका नवीन यादवको मृत्यु भएको थियो भने इशनाथ नगरपालिका–८ मनसरीका ४५ वर्षीय शेख जमरुलको आफ्नो घरकै बरन्डामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले मधेस प्रदेशको कोशी, कमला, बागमती, रातु, लालबकैया सहितका ठूला नदीहरूमा जलस्तर निकै बढेपछि ठाउँ–ठाउँमा कटान गरी बस्तीहरू नै डुबानमा परेका हुन् ।
वर्षाले महोत्तरी जिल्लाको विभिन्न क्षेत्रहरूमा बाढी ल्याएको छ । महोत्तरीमा रातो, जंग्हा, माढा, विग्ही, गेरुकीलगायतका दर्जनभन्दा बढी नदीहरूमा जलस्तर बढेपछि तटबन्ध कटान गरेर पानी बस्तीहरूमा छिरेको छ । रातो नदीमा पानीको बहाव उच्च भई रतवारा भन्ने स्थानमा २० मिटर बाँध कटान र धवौलीमा ३५ मिटर जति बाँध कटान गरेपछि पानी सोझै सदरमुकाम जलेश्वर छिरेको हो । जलेश्वरमा बाढीको पानी जमेर नगरक्षेत्र नै डुबानमा परेको छ । त्यसैगरी जिल्लाको एकडारा गाउँपालिकामा नदीको तटबन्ध भत्किँदा गाउँमा पानी पसेको छ । बाढीको कारण औरही नगरपालिकामा १५ वटा घरहरूमा क्षति पुगेको छ भने बलवा नगरपालिकामा बस्तीमा पानी पसेपछि सुरक्षाकर्मीहरूले स्थानीयलाई उद्दार गरेका छन् ।
पानी जलेश्वर कारागारमा प्रवेश गरेपछि कारागारमा रहेका कैदीबन्दीहरूको अवस्था निकै अस्तव्यस्त भएको छ । कारागारमा पानी छिरेपछि कैदी बन्दीहरू पहिलो तल्लामा भएको भवनमा जेनतेन बस्न बाध्य भएका छन् । सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झन्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको हो । आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्युसेक मापन गरिएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी गराएका छन् ।
रौतहट सदरमुकाम गौरसहित पालिकाहरूमा बागमती र लालबकैया नदीको बाढी प्रवेश गर्दा सर्वसाधारणलाई सास्ती भएको छ । गौरभन्सार क्षेत्रमा पानी जमेपछि नेपाल र भारत आवतजावत गर्नेहरूलाई ठूलो समस्या भएको छ । एकातर्फ नदीहरूमा पानीको सतह बढ्दै जानु र अर्कोतर्फ सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले उचित निकास पाउन नसक्दा सदरमुकाम गौर जलमग्न भएको हो । धनुषामा कमला नदीमा पानीको जलस्तर निकै बढेपछि सो क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।
जनकपुरदेखि कमलासम्म जाने हुलाकी राजमार्गअन्तर्गत परवाहामा बाढीको पानी प्रवेश गरेपछि आवतजावत रोकिएको हो । त्यसैगरी जनकपुर यदुकुहा सडक खण्डअन्तर्गत पौडेश्वरस्थित जमुनी नदीको पुल दुवैपट्टि कटान हुँदा सडक आवागमन पूर्णरूपमा अवरुद्ध छ । एकातर्फ बाढीले जनजीवन अस्तव्यस्त बनाएकै बेला हुरीबतासले बिजुलीका पोलहरू र तारहरूमा क्षति पु¥याउँदा गाउँबस्तीमा विद्युत् आपूर्ति पछिल्लो २ दिनदेखि नै ठप्प भएको छ । विद्युत् नहुँदा सञ्चार सम्पर्कसमेत विच्छेद भएर सर्वसाधारणले आफन्तहरूसँग भलाकुसारी गर्नेे अवस्थासमेत छैन । सडकमा आवतजावत गर्न नसकिने र बिजुली नहुँदा सञ्चारसमेत बन्द भएपछि कठिनाइ झनै थपिएको सर्वसाधारणले बताएका छन् ।
वीरगन्जका आधादर्जन वडाहरू डुबानमा
शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण नदीको जलस्तर बढेर मानव बस्तीहरूमा छिर्दा वीरगन्ज महानगरमा मात्रै ३ सय बढी घर डुबानमा परेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार आइतबार दिउँसो १ बजेसम्म प्राप्त जानकारीअनुसार सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरपालिकाका दर्जन बढी बस्तीहरूमा छिरेको छ । वडा नम्बर ९,१०,११,२३,२३ र २४ मा बाढी पसेर घरहरू डुबानमा परेका हुन् ।
दिउँसोसम्म डुबानमा परेका वस्तीहरूबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको नगरप्रहरी टोलीले ५ सय बढी मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रजिअ अर्यालले जानकारी दिए । विद्यालय, धर्मशाला, क्लबका भवनलगायतमा लगेर राखिएका उनीहरूलाई वीरगन्ज उद्योग वाण्ज्यि संघको समन्वय वीरगन्ज महानगरपालिकाले ड्राइफुड, पिउनेपानीको बोतल र आवश्यक औषधि वितरण गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
बस्तीमा पसेको बाढीको पानी पूर्णरूपमा कम नभएसम्म उनीहरूलाई घर नफर्काइने पनि सुबेदीले बताए । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको बाढीबाट हालसम्म वीरगन्ज महानगरका आधादर्जन वडाहरू डुबानमा परेको बताए । आइतबार बिहान डुबानमा परेका वडाहरूमा आफैं पुगेका मेयर सिंहले भने, ‘घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरूलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानहरूमा राखिएको छ । उनीहरूका खानपान र बासको प्रबन्ध मिलाएका छौं ।’
बस्तीमा पसेको बाढीको पानी निकासका लागि महानगरपालिकाले आफ्ना चार वटा डोजरहरू बिहानैदेखि परिचालन गरेको जानकारी पनि उनले दिए ।
डुबानग्रस्त क्षेत्रहरूमा उद्धार र राहत वितरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको नगर प्रहरी गरी १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी पनि उनले गराए । उनले भने, ‘बाढी र डुबानबाट वीरगन्जमा अहिलेसम्म मानवीय क्षति भएको छैन । घरहरूमा बाढीको पानी पस्दा सरसामानहरू केही मात्रामा नोक्सान भएका छन् ।’
प्रतिक्रिया दिनुहोस !