यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक
काठमाडौं : देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन्। जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भूभागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो।
यातायात अवरुद्ध हुँदा दसैंका लागि काठमाडौं उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ। सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सडक अवरुद्ध भएका कारण दसैं सकेर उपत्यका फर्कने कतिपय स्थानका यात्रुले सास्ती बेहोर्नुपरेको बताए। 'अहिले विषेशगरी नेपालको पूर्वी क्षेत्रका सडक अवरुद्ध भएका कारण उपत्यका बाहिरिएका सवारीसाधन समयमा नै फर्किन पाएनन्। यात्रुहरूले पनि सास्ती बेहोर्नुपरको छ। सम्भव भएको स्थानमा हामीले वैकल्पिक मार्ग प्रयोग गरेका छौं,' उनले भने। कतिपय सम्भव नभएका सडकखण्ड अवरुद्ध भए पनि अन्य सडकखण्डका पहिरो समयमा नै पन्छ्याउदा सहज पनि भएको उनले बताए।
यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक
गत असारको बाढीले गोसाइँकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित नेपाल र चीनलाई जोड्ने मितेरी पुल क्षति पुर्याएको छ। पुलमा क्षति भएपछि यतिबेला सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहेको छ। त्यसैगरी, सोही गाउँपालिका-२ बालुवाखानी र तातोपानी क्षेत्रमासमेत पासाङ ल्हामु सडक खण्ड माथिबाट सुक्खा पहिरो र ढुङ्गा खसेपछि बाटो पूर्णरूपमा बन्द भएको छ। यसै सडकखण्डको गोसाइँकुण्ड-३, फ्याङलुङ क्षेत्रमा भोटेकोसी खोलाले करिब ३५-४० मिटर सडक कटान गरेपछि उक्त खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका-४, बरुणखोला नजिक बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी-थुमसुर खण्ड अवरुद्ध भएको छ। सडक विभागका अनुसार वर्षायामभर यो खण्ड सञ्चालनमा ल्याउन कठिन भएको र अब मनसुन सकिएसँगै सडक मर्मतको कार्य अगाडि बढाइने छ।
त्यस्तै मकालु गाउँपालिका-३, एकुवा नजिक पनि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले पूर्ण रूपमा रोकिएको छ। असोज १८ गते बिहान ११ बजे काभ्रेको रोशी गाउँपालिका-१ माम्तीखोला, डालाबँसी र बुलढुङ्गा आसपासको बिपी राजमार्ग माथिबाट ढुङ्गा खसेपछि बाटो दुबै तर्फी अवरुद्ध भएको हो । सडक सफाइ र मर्मत कार्य भइरहेको विभागले जनाएको छ।
रुकुम (पूर्व) को भूमे गाउँपालिका-४, काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग मङ्गलबार साँझ पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक माथिबाट लेदो, ढुङ्गुर माटोको ठूलो मात्रा खसेका कारण बाटो खुलाउन कठिनाइ भइरहेको जनाइएको छ। विभागको अनुसार १ सय ७४ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !