बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ चन्दामोहन बाध नजिक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
असोज १६ गते विजया दशमीको दिन बर्जु–१ मा लागेको मेलामा घुम्न गएकी बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्थानीय प्रत्यक्षदर्शीको बयान, घटनास्थलमा फेला परेका प्रमाण र टेक्निकल एनालाइसिसका आधारमा विशेष अपरेसन सञ्चालन गरी तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए। उनले घटनाका अन्य अभियुक्तको खोजी तीव्र पारिएको बताए।
उनका अनुसार पक्राउ पर्नेमा बर्जु गाउँपालिका–६ बस्ने २१ वर्षीय बुध नारायण चौधरी, सोही स्थानका २१ वर्षीय विजय साह र १५ वर्षीय एक किशोर रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनीहरूले घटनामा संलग्नता रहेको स्वीकार गरेका छन्। उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा सुनसरी जिल्ला अदालतबाट असोज १८ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !