कग्युमोलमलाई किस्पाङ गोल्डकपको उपाधि
नुवाकोट : ‘छैटौ किस्पाङ गोल्ड कप’ खुल्ला फुटबल प्रतियोगिताको उपाधि भाल्चेको कग्युमोलम युवा क्लबले जितेको छ। समाज सेवा युवा क्लब किस्पाङ ५ मनकामना पुरानो गाउँले आयोजना गरेको प्रतियोगिताको उपाधि कग्युमोलमले जितेको हो। विजेताले ७० हजार सातसय ७७ रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।
किस्पाङस्थि खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा घरेलु मैदानमा कग्युमोलम युवा क्लबले रेडपाण्डा क्लब डाँडागाउँ रसुवालाई पराजित गरेको हो। उपविजेता रेडपाण्डा क्लब डाँडागाउँले नगद ४० हजार चारसय ४४ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पूर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन्। उप्रतियोगितामा विजेता कग्युमोलम युवा क्लबका सजन तामाङले उत्कृष्ट खेलाडी, सोही क्लबका प्रतिश घलेले सर्वाधिक गोलकर्ता (२८ गोल)को पुरस्कार थापे।
प्रतियोगितामा नुवाकोट र रसुवा विभिन्न ३४ वटा फुटबल टिमको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस !