हैजाबाट सुरक्षित हुन खोप लिऔं

हैजाबाट सुरक्षित हुन खोप लिऔं
सुन्नुहोस्

हैजाविरुद्धको खोप कस्तो प्रकारको खोप हो ?
 
हैजा रोगविरुद्धको खोप मुखबाट खुवाइने खोप हो। यो खोप सुरक्षित र प्रभावकारी छ। यो खोप तयारी झोलको रूपमा प्लाष्टिकको ट्युबमा उपलब्ध हुन्छ। यस खोप अभियानको लागि नेपालमा उपलब्ध हुने खोप इयुभिकोल–एस हो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो। नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त छ।

यो खोप किन जरुरी छ? 
हैजा रोगबाट सुरक्षित हुन यो खोप खान जरुरी हुन्छ। साथै हैजाको महामारी भएका स्थानबाट अन्य स्थानमा यो रोग फैलिनबाट रोक्नको लागि यो खोप लगाउनु पर्छ।

यो खोप कति मात्रा खुवाइन्छ? 
प्रतिकार्य स्वरूप सञ्चालन गरिन लागिएको छ। यस अभियानमा हैजाविरुद्धको खोप एकपटक दिइनेछ।

हैजा विरुद्धको खोप अभियान कहिले र कहाँ सञ्चालन हुँदैछ ? 

यो खोप अभियान यही २०८२ साल असोज–कात्तिक महिनामा सञ्चालन हुँदैछ। यो खोप अभियान पर्सा जिल्लाका सबै स्थानीय तहहरू र बारा जिल्लाका कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहहरूमा सञ्चालन हुँदैछ।

यो खोप कुन उमेर समूहलाई दिइन्छ? 
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरूले खानु पर्दछ। गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन हुन्छ। कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, एचआईभी संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि यो खोप दिनु पर्दछ।

नियमित खोप वा अन्य खोपसँगै यो खोप खान हुन्छ कि हुँदैन ? 
हुन्छ। नियमित खोप तथा अन्य खोपसँगै हैजाविरुद्धको खोप खान हुन्छ।

यो खोप कति उमेरकाले खानु हुँदैन ? 
यो खोप एक वर्षभन्दा कम उमेरका बालबालिकाले खानु हुँदैन। ज्वरो आइरहेको, झाडापखाला भएको वा अन्य कुनै सिकिस्त बिरामी भएको अवस्थामा यो खोप दिनु हुँदैन। तर निको भएपछि यो खोप दिनु पर्दछ। विगतमा यो खोप खुवाउँदा वा यो खोपमा भएको कुनै तत्त्वको कारणले रियाक्सन (प्रतिक्रिया) भएको भए, स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श पछि मात्र यो खोप दिन सकिन्छ।

यो खोप लिएपछि के–के असरहरू देखिन सक्छन्? 
यो खोप खाएपछि अत्यन्तै न्यून संख्यामा निम्न सामान्य असरहरू देखिन सक्छन्। र यी असरहरू प्रायः आफैं ठिक हुन्छ। पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने हुन सक्छ। ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू दुख्ने, खाना खान मन नलाग्ने, थकाइ लाग्ने पनि हुन सक्छ। खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने हुन सक्छ। कसैकसैलाई जिउ चिलाउने पनि हुन सक्छ।

खोप अभियानमा खोप केन्द्र कहाँ–कहाँ सञ्चालन हुन्छ ? 
यस खोप अभियानमा विभिन्न स्थानहरूमा खोप केन्द्र सञ्चालन गरेर हैजाविरुद्धको खोप दिइन्छ। महानगर र उपमहानगर, नगरपालिका, गाउँपालिका कार्यालय र वडा कार्यालयमा खोप केन्द्र 
सञ्चालन हुनेछ।

त्यस्तै सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्थाहरू र अस्पतालहरूका साथै विद्यालय, कलेज तथा अन्य शिक्षण संस्थामा पनि खोप केन्द्र रहनेछ। सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्रमा पनि सञ्चालन हुने छ। मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इँटाभट्टाजस्ता अन्य स्थानहरूमा खोप सञ्चालन हुनेछ।

यो खोप लिन छुट भएमा के गर्ने? 
आफूलाई पायक पर्ने स्थानको खोप केन्द्रबाट खोप लिन छुटेमा नजिकैको अर्को खोप केन्द्रमा गएर यो खोप लिनु पर्दछ।

परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभागका डा. विवेककुमार लालसँग गरिएको कुराकानी 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.