नागरिकमा त्रास फैलियो, असुरक्षित बन्दै समाज

लुम्बिनीमा दिनहुँ चोरी, भेटिँदैनन् चोर

लुम्बिनीमा दिनहुँ चोरी, भेटिँदैनन् चोर

बुटवल : दिनहुँ घरमा हुने चोरीका घटनाले बुटवलका नागरिक आजित भएका छन्। दसंैको मुखमा तोडफोड गरेर घरमा भएका नगद, सुनका गहना, सवारीसाधन र ल्यापटपहरू चोरी भएपछि नागरिक त्रसित भएका छन्। दसैंमा दिनहुँजसो शृृखंलाबद्ध चोरी भए पनि घरमा पसेर चोरी गर्ने चोरहरू भने पत्ता लाग्न सकेका छैनन्। प्रहरीले चोर खोज्ने क्रम जारी रहेको बताए पनि नागरिकलाई विश्वस्त हुने गरी नतिजा हात पार्न सकेको छैन। 

दसैंमा मात्र ३३ चोरीका मुद्दा दर्ता
लुम्बिनी प्रदेशभरि दसैंको मुखमा मात्र ३३ वटा घरमा भएको चोरीका घटनाको प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ। चोरी भएको तर दर्ता नभएका घटनाहरू भने थुप्रै छन्। ती घटनाहरू मुद्दाको अभिलेखमा पर्दैनन्। असोज महिनामा मात्रै चोरीका मुद्दा दर्ता हुने जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा १० वटा छन्। त्यसपछि रुपन्देहीमा ९ वटा चोरीका मुद्दा प्रहरीले अदालतमा दर्ता गरेको छ। दाङमा पाँचवटा, बर्दियामा तीन, रुकुम र कपिलवस्तुमा दुई/दुईवटा, नवलपारासी र प्यूठानमा एक/एकवटा मुद्दा दर्ता भएका छन्। पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पामा चोरीका मुद्दा दर्ता शून्य छ। यी जिल्लामा दसैंको बेला चोरीका घटना भएका छैनन्।

पहाडमा भन्दा तराईमा त्रास
तथ्यांक हेर्दा चोरी डकैतीका घटना हुनेमा तराईका जिल्ला बढी जोखिमा देखिएका छन्। सबै खालका मानिसको बसोबास हुने र तराईमा बसोबास गर्नेहरू चाडपर्वको बेला जन्मथलो पहाडमा जाने भएपछि चोरीका घटना बढ्ने गरेका छन्। रित्तो घरमा चोरहरूलाई ढुक्कसँग चोरी गर्न हौसला मिल्ने गरेको छ। पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा र प्यूठान चोरी हुने जिल्लामा पर्दैनन्। प्रहरीको तथ्यांकअनुसार आर्थिक अभावले थिचोमिचोमा परेका प्रायःजसो सुकुम्बासी क्षेत्रका युवायुवतीहरू चोरीमा संलग्न हुने गरेको पाइएको छ। 

३ महिनामै १६६ चोरीका घटना
लुम्बिनी प्रदेशभरि चालु आर्थिक वर्षको ३ महिना नबित्दै १ सय ६६ वटा विभिन्न चोरी डकैतीका घटनाहरू घटेका छन्। १२ जिल्लामध्ये तराईका जिल्लामा सर्वाधिक चोरी भएको छ। सबैभन्दा धेरै बाँकेमा ५२ वटा चोरी डकैतीका घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। त्यसपछि दाङमा ३९ र रुपन्देहीमा ३७ वटा विभिन्न चोरीका घटनाहरू घटेका छन्। नागरिकको धनमाल, गरगहना, विद्युतीय सामग्री (ल्यापटप, कम्प्युटर) र सवारीसाधन चोरी भएका छन्। 

जिल्लामा  सुरक्षा अवस्था मजबुत छ। नागरिक त्रास भइहाल्नु पर्दैन। जेन–जी आन्दोलनपछि  नागरिकमा केही त्रास हुनु स्वाभाविक हो। तर, हामीले नागरिकलाई ढुक्क हुने  वातावरण बनाएका छौं। जेन–जी आन्दोलनपछि रुपन्देहीको कारागारबाट कुनै पनि  कैदीबन्दीहरू भागेका छैनन्। छिमेकी जिल्लाका कारागारबाट भागेका  कैदीबन्दीहरूलाई उच्च निगरानीमा राखिएको छ। चाडपर्वमा सुरक्षाको तयारी पनि  राम्रोसँग गरेका छौं। चोरीका घटनाहरूमा संलग्नलाई पक्राउ गर्न प्रहरी  खटिरहेको छ। 
डा.टोकराज पाण्डे - प्रमुख जिल्ला अधिकारी, रुपन्देही

दसैं मनाउन जन्मघर पहाड अर्घाखाँची गएको बेला घरमा तोडफोड भयो। औंठी र तिलहरी गरी ढाई तोला सुन र बुवा ऋषिराम पोख्रेलले बाकसमा बचत गरेर राखेको २ लाख ३५ हजार रुपैयाँ नगद चोरी भयो। अहिलेसम्म चोरको पत्तो छैन। दसैंमा टीका लगाउन सबै परिवार गाउँ गएका थियौं। ०५८ सालदेखि बुटवलमा बस्दै आए पनि पहिलोपटक घरको ताल्चा फोडेर चोरी भयो। घटनामा हामी त्रसित छौं। यहाँका सबै नागरिक त्रासमा छन्।  
डिल्ली पोख्रेल, पीडित, बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्ज

दिनहुँजसो भइरहेको चोरीका घटनाले नागरिकमा त्रास फैलिएको छ। एक/दुईवटा घरमा चोरी भएको विषय पत्ता नलाग्नु फरक कुरा हो तर २०/२२ वटा घरमा चोरी हुँदा एउटा पनि चोर पत्ता नलाग्नु निकै गम्भीर विषय छ। यसमा प्रहरी प्रशासन चुक्यो भन्ने नै हो। नागरिकलाई ढुक्कसँग घरमा बस्ने वातावरण हुनुपर्छ। चोरी बढी हुने क्षेत्रमा रातको बेला प्रहरीले गस्ती बढाउनुपर्छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नागरिकलाई ढुक्कसँग घरमा बस्ने र चाडपर्व मनाउन जन्मथलो पहाडतिर जाने वातावरण बनाउन सकेन। नहरपुर मिलनटोल क्षेत्रमा भएको चोरीका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख आएर जानुभयो। तर, चोर कहाँ छन् अझै पत्तो छैन। 
टानबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा रुपन्देही (बुटवल १९ मिलनटोल)

कपिलवस्तुमा सात वटा, नवलपरासी र पाल्पामा तीन/तीनवटा, पूर्वी रुकुममा पाँचवटा, प्यूठानमा चार र अर्घाखाँचीमा एकवटा चोरीका घटना भए। रोल्पा र गुल्मीमा भने चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा चोरीका घटना शून्य छन्।

एउटै घरबाट ९ तोला सुन चोरी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडा पकलेमा दसैंको टीका लगाउन गएकी बुटवल उपमहानगरपालिका–१२ ढवाह निवासी रीता पौडेलको घरबाट ९ तोला सुन चोरी भएको छ। पौडेल सुत्ने कोठामा रहेको दराज फोरेर सुन चोरी भएको सतगढी टोल विकास संस्था ढवाहका अध्यक्ष योगेन्द्र छन्त्यालले बताए। ‘हाम्रो टोलमा एकै दिन चारवटा घर तोडफोड गरेर चोरी भयो’, छन्त्याल भन्छन्, ‘एउटै चोरले चोरेको आशंका छ। तर, अहिलेसम्म चोरको पहिचान भएको छैन।’ पौडेलका   श्रीमान् रोजगारका लागि पर्चुगलमा छन्। 

बुटवल उपमहानगरपालिका–१४ स्थित मोतीगञ्जका ५२ वर्षीय डिल्ली पोख्रेलको घरमा पनि तोडफोड गरेर दसैंको मुखमा सुनका गहना र नगद चोरी भयो। ‘टीका लगाउन सबै परिवार जन्मथलो पहाड अर्घाखाँची गएका थियौँ’,पोख्रेलले भने, ‘राम्रोसँग दसैं मनाउन नपाउँदै बुटवलको घरमा चोरी भएको खबर आएपछि फर्किनुपर्‍यो।’ उनको पहाड घर अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खनमा पर्छ। घर तोडफोड गरी औंठी र तिलहरी गरी ढाई तोला सुन र बुवा ऋषिराम पोख्रेलले बाकसमा बचत गरेर राखेको २ लाख ३५ हजार रुपैयाँ नगद चोरी भएको उनले बताए।  

‘०५८ सालदेखि बुटवलमा बस्दै आएका छौं’, पोख्रेलले भने, ‘यसअघि घर तोडफोड गरेर चोरी भएको थिएन्। अहिले मात्रै यस्तो भयो। घरमा कोही नभएको मौका छोपेर चोरेछन्। छिमेकीको घरमा पनि चोरी भएको छ। चोरको प्रकृति एकै खालको छ तर चोर पत्ता लागेको छैन।’

उनले नेपाल प्रहरीलाई स्थानीयवासीको तर्फबाट आफूहरूले जतिबेला पनि साथ दिन तयार रहेको बताउँदै विगतका चोरीका घटनामा संलग्न चोरहरूको पहिचान गरेर भए पनि अहिलेका चोरहरू पत्ता लगाउन आग्रह गरे। उनकै घरको तल्लो तलामा फ्ल्याट भाडा लिएर बस्दै आएका पर्वतको पैँयु गाउँपालिका–१ का सन्तु भुसालको कोठाबाट पनि ४० हजार रुपैयाँ दसैंको बेला नगद चोरी भयो। पोख्रेलकी छिमेकी ज्ञानु गौतमको घरबाट पनि नगद ४० हजार रुपैयाँ घर तोडफोड भएको पीडित गौतमले गुनासो गरिन्। उनीहरूको घर तोडफोड गर्नेहरूको पनि पहिचान अझैसम्म भएको छैन। nullचोरले तोडफोड गरेर नगदसहित सुनका गहना लगेपछि घरमा स्थलगत पुगेका प्रहरी मुचुल्का उठाउँदै। तस्बिर : केशरराज क्षेत्री 

चोरबाट प्रहरी नै पीडित
नेपाल प्रहरीका प्रहरी निरीक्षक पंकज चुँदालीको परिवार दसैं मनाउन जन्मघर अर्घाखाँचीस्थित सन्धिखर्क पुगेको थियो। उनी भने ड्युटीमा कपिलवस्तु थिए। दसैंको बेला चोरीका घटना हुँदा उनी पनि आफैं पीडित भए। बुटवलको ढवाहमा उनको बसोबास छ। घरमा भएको सामान चोरेर नलगे पनि उनको घर चोरले तोडफोड गरेर क्षति पुर्‍यायो। चुँदाली गोरुसिंगेस्थ्ति ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन्। चोर खोज्नेक्रम जारी भए पनि अझैसम्म पत्ता लगाउन नसकिएको चुँदालीले प्रतिक्रिया दिए। 

बुटवल उपमहानगरपालिका–१२ ढवाहकै मनु पाण्डेको घर तोडफोड गरेर १५ हजार नगद चोरी भएको स्थानीयले बताएका छन्। डेढ तोला सुन चोरी भएको ट। उनको घरको ढोकाको सबै चाबी फोरिएका छन्। दसैंको टीका लगाउन अर्घाखाँची गएका सोही ठाउँका स्थानीय टोपलाल भुसालको घरमा पनि तोडफोड भएको छ। 

nullबुटवल नहरपुरमा रहेको एक घरको तीन तलामाथिको सुत्ने कोठामा चोरले फोरेको दराज हेर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना । तस्बिर :  केशरराज क्षेत्री 

नागरिकमा त्रास फैलियो, प्रहरी प्रशासन कमजोर देखियो
दिनहुँजसो भइरहेको चोरीका घटनाले समुदायमा त्रास फैलिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका–१९ नहरपुर मिलनटोलका स्थानीय टानबहादुर केसीले प्रतिक्रिया दिए। ‘एक/दुईवटा घरमा चोरी भएको विषय पत्ता नलाग्नु फरक कुरा हो’, केसीले भने, ‘तर, २०/२२ वटा घरमा चोरी हुँदा एउटा पनि चोर पत्ता नलाग्नु निकै गम्भीर विषय छ। यसमा प्रहरी प्रशासन चुक्यो भन्ने नै हो।’

उनले नागरिकलाई ढुक्कसँग घरमा बस्ने वातावरण सिर्जना गर्न स्थानीय प्रहरी प्रशासनले साथ दिनुपर्नेमा माग गरे। चोरी बढी हुने क्षेत्रमा रातको बेला प्रहरीले गस्ती बढाउनुपर्ने र  रातभरि सार्वजनिक स्थलमा हल्ला गरेर बस्ने युवाहरूलाई प्रहरीले निगरानीमा राख्नुपर्ने सुझाव दिए। 

‘दसैंमा भएका चोरीका घटनाले नजिकिँदै गरेको तिहारमा पनि त्रास देखिएको छ’, केसी भन्छन्, ‘बुटवल १९ नहरपुर र मिलनटोल विकास क्षेत्रमा बर्सेनि चोरीका घटना भइरहेका छन्, तर अहिलेसम्म चोर पत्ता लागेको छैन। यहाँका नागरिक सधैं त्रासमा छन्।’ उनले नागरिकहरूले प्रत्यक्ष रूपमा चोरको अनुहार देखेमात्र प्रहरी प्रशासनलाई बताउन सक्ने भएकाले अनुसन्धान गरेर चोर पहिचान गर्ने विषयमा प्रहरीकै ठूलो भूमिका हुने उल्लेख गरे। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नागरिकहरूलाई ढुक्कसँग घरमा बस्ने र चाडपर्व मनाउन जन्मथलो पहाडतिर जाने वातावरण नबनाएको उनले गुनासो गरे। 
नहरपुर मिलनटोल क्षेत्रमा भएको चोरीका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना आफैं स्थलगत आएर अनुसन्धान गरेपनि चोरको पहिचान अझैसम्म हुन नसकेको केसीले बताए। 

सबै घरमा सीसीटिभी जोडौं
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले प्रविधिको अभाव र पर्याप्त प्रहरी जनशक्ति नहुँदा चोरहरूको पहिचान गर्न समस्या परिरहेको अनुभव सुनाए। ‘विगतको तुलनामा चोरीका घटनाहरूमा कमी त आएको छ तर रोकिएको छैन’, रानाले भने, ‘सबै नागरिकहरूलाई आफ्नो घरमा सडकतिर फर्काएर सीसीटिभी जडान गर्न आग्रह गर्छु। त्यो भयो भने हामीलाई पनि चोरको पहिचान गर्न सहज हुने थियो।’ 

उनले दसैंको बेला चोरी भएका घरहरूमा पुगेर घटनाको स्थलगत निरीक्षण गरिएको र चोरी गर्ने व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जानकारी गराए। तर, धेरैजसोको घरमा सीसीटिभी जडान नभएको पाइएको रानाले बताए। बुटवलको नहरपुर, पत्थरगंज, मोतिगंज, ढवाह, नयाँगाउँ, देविनगरलगायत ठाउँमा चोरीका घटनाहरू धेरै भइरहेको उनले सुनाए। 

दसैं अगाडि बुटवल उपमहानगरपालिकाका सबै वडाका अध्यक्षहरूसँग सामूहिक बैठक बसेर चोरीका घटना हुन नदिन सावधानी अपनाए पनि चोरी भएको उनले बताए। ‘धेरैजसो टोल विकास समितिहरूले रातको समयमा गस्ती गर्ने र चोर पहिचानमा साथ दिने गर्नुभएको छ’, रानाले भने, ‘तिहारमा यसलाई अझ बृहत् रूपमा अगाडि बढाउँदैछौं। नागरिक र प्रहरी मिलेर जाँदा चोरको पहिचान छिटो हुने हाम्रो अनुभव छ।’

भागेका कैदीबन्दीले झनै त्रास
जेन–जी आन्दोलनपछि फरार भएका कैदीबन्दीहरूले नागरिकमा अर्को सन्त्रास फैलिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको तथ्यांकअनुसार अझै पनि ६ सय ५३ जना कैदीबन्दी सम्पर्कमा आएका छैनन्। आन्दोलनका क्रममा १ हजार ५ सय ६९ जना कैदीबन्दी फरार भएका थिए। 

प्रहरीका अनुसार नवलपरासीबाट ५ सय ४६ जना, दाङबाट २ सय ५३ जना, कपिलवस्तुबाट ४ सय ३० जना र  बाँकेबाट ३ सय ४० जना कैदी भागेका थिए। 

सुरक्षा अवस्था मजबुद छ, आत्तिनुपर्दैन
जिल्ला सुरक्षा समितिका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जिल्लामा सुरक्षा अवस्था मजबुत बनाइएकाले कोही पनि नागरिक त्रास भइहाल्ने अवस्था नरहेको बताएका छन्। ‘जेन–जी आन्दोलनपछि नागरिकमा केही त्रास हुनु स्वाभाविक हो’, पाण्डेले भने, ‘सुरक्षा अवस्था मजबुत बनाएका छौं। नागरिकहरूलाई ढुक्कसँग बस्न आग्रह गर्छौ।’

जेन–जी आन्दोलनपछि रुपन्देहीको कारागारबाट कुनै पनि कैदीबन्दीहरू नभागेको उनले बताए। तर, छिमेकी जिल्लाका कारागारबाट भागेका कैदीबन्दीहरूलाई उच्च निगरानीमा राखिएको उनको भनाई छ। ‘चाडपर्वमा सुरक्षाको तयारी पनि राम्रोसँग गरेका छौं,’ पाण्डे भन्छन्, ‘चोरीका घटनाहरूमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटिरहेको छ।’ उनले तिहारमा नौ बजेपछि देउँसीभैलो खेल्न रोक लगाइएको र कहीँकतै खेलेको पाइएमा नजिकैको प्रहरीलाई खवर गर्न समेत आग्रह गरे। 

रुपन्देहीमा ९ बजेसम्म मात्र देउँसीभैलो

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभरी नौ बजेसम्म मात्र देउँसीभैलो खेल्न दिने निर्णय गरेको छ। तोकिएको समयभन्दा धेरै समय देउँसीभैलो खेलेमा कारहबाही हुने प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिए। जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले आइतवार निर्णय गरेको पाण्डेले बताए।

सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्नका लागि तिहारमा देउँसीभैलो खेल्ने समय तोएिको उनको भनाई छ। देउसी भैलोमा सहभागी हुनेले मर्यादित पोसाक लगाउनु पर्ने र मादक पदार्थ सेवन गर्न नपाइनेसमेत प्रजिअ पाण्डले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.