जनकपुरधामसहित तराई मधेशको जिल्लाहरुमा छठ पर्वको तयारी

जनकपुरधामसहित तराई मधेशको जिल्लाहरुमा छठ पर्वको तयारी

जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई–मधेसवासीको महत्वपूर्ण पर्व छठको रौनकता छाएको छ। मधेसको स्थायी राजधानी जनकपुरधामसहित तराई– मधेसका जिल्लाहरूमा जोडतोडका साथ छठ पर्व मनाउन श्रद्धालु आवश्यक जोहोमा लागेका छन्।

तराई–मधेसका मुख्य पर्वहरूमध्ये मिथिलानी, थारू तथा भोजपुरी महिलाहरूको विशेष कठोरताको पर्वका रूपमा रहेको छठको तयारी जनकपुरधामसहित तराई–मधेसका जिल्लाहरूमा रौनक देखिएको छ। यो पर्वलाई यहाँ सबैभन्दा ठूलो एवं प्रकृति र संस्कृतिसँग जोडेर हेर्ने गरिन्छ। 

नियम, निष्ठा र विधिविधानपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। बाँसका डाला, नाङ्ला, ढकिया, कनसुप्ती र माटाका सामग्रीलगायत छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर किनमेल गर्न सर्वसाधारण बजारमा किनमेल गर्न व्यस्त छन्।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा समापन हुनेछ। छठ पर्व व्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायत खाद्यवस्तुहरू अनिर्वाय रूपमा बार्ने प्रचलन रहेको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्। ‘छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको छ। यस पर्वमा सामान्य रूपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिँधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको हो’ संस्कृतिविद् कापडीले भने।

मधेसी समुदायका बीचमा मनाइँदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्षयतादेखि यहाँका पहाडी समुदायबीचमा समेत लोकप्रिय हुँदै गएको छ। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका महिलाहरूसमेत छठ पर्व मनाउन थालेको बर्दिबासकी रीता लामा बताउँछिन्। 

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणार्थ मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्निकुण्ड, रत्नसागर, बाल्मिकी सर, दशरथ तलाउलगायत दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघसस्ंथा र युवा कल्बहरूले सरसफाइ गरी बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाईएको जानकी चोकका युवा सुशल कर्णको भनाइ छ। 

भगवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले भाकलअनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाइधुवाइ गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा  छ। तराई–मधेसमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ।

पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत् रूपमा सम्पन्न हुन्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.