किसानका पीडा: वर्षाले ढाल्यो धान, माटोमै मिसियो मेहनत
असार–साउनमा पर्याप्त पानी नै परेन। किसानलाई रोपाइँ गर्ने समस्या भयो। किसानले जेनतेन रोपाइँ त गरे। तर, भित्र्याउने बेला (बिहीबारदेखिको बेमौसमी वर्षा) ले पाकेको धान खेतमै ढल्यो। काटेको धान पानीले चुर्लुम्म डुबायो। ४ दिनदेखिको वर्षाले पराल पनि कुहिने अवस्थामा छ। यसैकारण १५ प्रतिशत धान उत्पादन घट्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा बताउँछन्। पाकेको धान भित्र्याउन नपाउँदा किसान निराश छन्। बेमौसमी वर्षा (अपेक्षित नगरिएको वर्षा) ले धान बालीमा ठूलो क्षति पुर्याएको डा. शर्मा बताउँछन्।
मुख्य सिजनको धानमा व्यापक क्षति
‘अहिले मुख्य सिजनको धान काट्ने बेला हो,’ सचिव डा. शर्माले भने, ‘काटेको धानमा क्षति पुगेको छ।’ कोशी, लुम्बिनी, गण्डकी, र मधेस प्रदेशका विभिन्न भागमा वर्षाको प्रभाव देखिएको उनले जानकारी दिए। सचिव शर्माका अनुसार केही किसानहरूले मौसम पूर्वानुमानको सूचना पाएपछि धान काटेनन्। काटिएको धान चाँडै उठाउनुपर्ने हतारोले र सबै ठाउँमा सूचना नपुग्दा पनि क्षति भएको उनले जानकारी दिए। ‘हाल ठूलो बाढी नआएको भए पनि पानीको मात्रा ठूलो छ।
यसले गर्दा खेतमा कुनीहरू सुक्न समय लाग्ने, धानमा चिसो (मोस्चर कन्टेन्ट) बढ्ने, र परालहरूको गुणस्तर बिग्रने अवस्था आयो,’ उनले भने। यसअघि दसैंको बेला आएको बाढीले रोपेको धान खेतमै बगाएर ठूलो नोक्सानी पुर्याएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मुलुकभर यो वर्ष १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा धान खेती हुने अनुमान थियो। तर, सबै ठाउँमा पानीका अभावका कारण रोपाइँ भएन। अर्थात्, ७० हजार १७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएन। औसत ९४.९ प्रतिशत मात्रै वर्षे धान रोपाइँ भयो। अर्थात्, ५.१ प्रतिशत भूमिमा वर्षे धान रोप्न बाँकी नै रह्यो। जबकी गत वर्ष ९८.५४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो।
गत वर्षभन्दा यसपटक ४.५४ प्रतिशतले कम धान रोपाइँ भयो। यसवर्ष मनसुन छिटो भित्रिए पनि पर्याप्त पानी समयमा नपरेकाले रोपाइँमा समस्या भएको र हाल भित्र्याउँदा पानी पर्दा गाह्रो भएको बाली विज्ञ डा. टीका कार्की बताउँछन्। कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव शर्मा थप्छन्, ‘मधेस र लुम्बिनी प्रदेशमा सुरुमा ढिलो वर्षा (सुक्खा) भएका कारण धानको बीउ राख्न सकिएन र रोपाइँ नै ढिलो भयो। कतिपय ठाउँमा धेरै जग्गाहरू बाँझो रह्यो। ढिलो रोपाइँ भएको धानमा राम्रोसँग वनस्पति वृद्धि (भेजिटेटिभ ग्रोथ) नहुने र दाना राम्रो नलाग्ने समस्या हुन्छ।’
कृषि सचिव डा. शर्माका अनुसार गत वर्ष नेपालमा लगभग ५५ मेट्रिक टनदेखि ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो, जुन राम्रो अवस्था थियो। तर, यस वर्ष धान उत्पादन १० देखि १५ प्रतिशतसम्म घट्न सक्ने आंकलन गरिएको छ।
कोशी प्रदेशमा धानबाली सोत्तर
चार दिनदेखि हावाहुरीसहित परेको अविरल वर्षाले कोशी प्रदेशका अधिकांश जिल्लाको धानबालीमा ठूलो क्षति पुर्याएको छ। सुनसरी, मोरङ र झापामा खेतमै पाकिसकेको धान भिजेर नष्ट भएपछि किसान निराश छन्। समयमै धान थन्क्याउन नपाउँदा मेहनतको फल खेर गएको किसानहरूको गुनासो छ।
अबिरल वर्षा र हावाहुरीले प्रदेशका १४ जिल्लामा २ लाख ६८ हजार ७ सय ६५ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पुगेको छ। सबैभन्दा बढी सुनसरी, मोरङ र झापाको धानबालीमा क्षति पुर्याएको छ। झापाको दमक, गौरादह, गौरिगन्ज, कनकाई, बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, हल्दिबारी, कमल, मेचीनगर, चारपाने, तोपगाछी, केरखा, शिवसताक्षी, बाहुनडाँगी र खुदुनाबारी, चाराली, धुलाबारी, भद्रपुर लगायतका स्थानमा लगाइएको धानबालीमा क्षति पुर्याइएको छ।
खेतमै धान कुहिन थालेपछि झापाका किसान चिन्तित छन्। दमकको ढुकुरपानीका किसान राजकुमार बानियाले भने, ‘धान भित्र्याउने तयारीमा थियौं, तर पानीले सबै काम रोकियो। ढलेको धान उठाउन नसक्दा कुहिन थाल्यो। यसपटक धान उत्पादन घट्ने भयो।’ सुनसरीको बराहक्षेत्र, इटहरी, धरान उपमहानगरपालिका, देवानगञ्ज, हरिनगर, दुहवी, रामधुनी, इनरुवा, कोशी गाउँपालिका, भोक्राहा नरसिंह र पकली क्षेत्रका किसानका खेतमा पानी जम्दा धान ढलेर सोत्तर भएको छ। रामधुनी–५ का किसान विवस आचार्यले तीन दिनदेखि लगातार परेको पानीले खेतभरि पानी जमेको र पाकेको धान काट्ने बेला सबै डुबाएको बताए। ‘अहिले खेतमा पस्नै सक्दैनौं, धान बाली भिजेर सड्न थालेको छ,’ उनले भने।
मोरङमा पनि धानबालीमा ठूलो क्षति भएको छ। पाक्न लागेको धानबालीमा क्षति पुर्याएपछि मोरङका पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई, रंगेली, सुन्दरहरैंचा, बेलबारी, जहदा, केराबारी, कटहरी, ग्रामथान, डंग्राहा, बुढीगंगा, ग्रामथान लगायतका किसान चिन्तित छन्। सिजुवाका किसान राजेन्द्र गौतम भन्छन्, ‘धान काट्ने तयारी गर्दै थियौं, तर तीन दिनदेखि नरोकी परेको पानीले सबै खेत डुबायो। अहिले खेतभित्र पस्ने हालत छैन, पानीमै बाली सड्दैछ। यस वर्षको मेहनत पूरै खेर गयो,’ गौतमले भने। कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि वर्षाले धनबालीमा ठूलो क्षति पुर्याएको छ। उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, संखुुवासभा र सोलुखुम्बुमा पनि खेतमा पानी जम्दा धानबाली सोत्तर भएको किसानको दुःखेसो छ। खोटाङ दिक्तेलका किसान गोपाल आचार्यले भने, ‘यो वर्ष धान राम्रो उत्पादन हुने आशा थियो, तर असमयको वर्षाले धान ढलाएर सोत्तर बनायो।’
यस वर्ष कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर खेती योग्य जमिनमध्ये २ लाख ६८ हजार ६ सय ७५ हेक्टर जमिनमा (९७.२४ प्रतिशत) धान खेती लगाइएको कोशी प्रदेश कृषि निर्देशनालयका निर्देशक प्रकाशकुमार डागीले बताए। उनका अनुसार झापामा ७५ हजार ४ सय ५९ हेक्टर, मोरङमा ६९ हजार ८ सय १७ हेक्टर र सुनसरीमा ४८ हजार ९ हेक्टरमा धान खेती गरिएको बताए। उदयपुरमा १३ हजार ३ सय ८९ भोजपुरमा १२ हजार, इलाममा १२ हजार र खोटाङमा ९ हजार ९ सय ८८ हेक्टरमा धान खेती लगाइएको थियो। खोटाङमा २५ हजार ६ सय मेटृकटन थान उत्पादन हुने लक्ष्य राखिएकोमा जिल्लाका १० वटै स्थानिय तहमा वर्षा र हावाहुरीले धानवालीमा क्षति पुर्याएको कृषि कार्यालय खोटाङका प्रमुख विशाल मोदीले बताए।
वर्षाले धानबालीमा क्षति पुर्याएपछि धान उत्पादनमा यस वर्ष करिब २५ देखि ३० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ। अहिले कृषि ज्ञान केन्द्रहरूलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको छ। कृषि निर्देशनालयका प्रमुख डागीले भने, ‘के कति क्षति भयो भन्ने निश्चित विवरण आउन अझै दुई/तीन दिन लाग्छ।’ धान पाक्ने समयमा परेको असमयको वर्षाले उत्पादन मात्र होइन, आगामी वर्षको बीउ संकलनमा पनि समस्या आउने देखिएको छ। सुनसरीको बराहक्षेत्रका किसान देबी घिमिरे भन्छिन, ‘धान त गयो, अब अर्को वर्षको बीउ नै बचाउन सकिँदैन कि
भन्ने डर छ।’
खडेरीले धान रोप्नै सकिएन, अहिले वर्षाले डुबायो
प्राकृतिक प्रकोपको सर्वाधिक मारमा मधेसका किसान परेका छन्। ‘लामो खडेरी र सुक्खायाममा जेनतेन रोपेको धान पाकेर भित्र्याउन मात्रै बाँकी रहँदा फेरि बिहीबारदेखिको वर्षाले सबै मेहनत सखाप पार्यो,’ मोन्था चक्रवातका कारण निराश किसान रामसेवक साहले भने, ‘सबै बर्बाद भयो। वर्षभरी
अब के खाएर बाँच्ने होला ?’
मधेसमा सुक्खा र खडेरीका कारण खाद्य तथा नगदे बालिको रोपाइँ निकै कम भएको थियो। असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले २ अर्ब ९८ करोड ८० हजार ४ सय ९७ रुपैयाँभन्दा बढिको क्षति पुर्यायो। बाढीबाट जेनतेन बचेको धान अहिले दुई दिन देखिको वर्षाले पाकेर खेतमै कुहिने अवस्थामा पुगेको छ।
प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार असोजमा आएको बाढीले २३ हजार ६ सय ६४ मेट्रिक टन धानलाई क्षतिग्रस्त बनायो। वर्षाले ७० करोडभन्दा बढीको धानबाली मात्रै नष्ट गर्यो भने १२ सय ६३ हेक्टर क्षेत्रफलमा लगाइएको ७६ हजार ९३० मेटिक टन उखु बाली वर्षा र बाढीले क्षतिग्रस्त भयो। जसबाट ७६ करो ९३ सय रुपैयाँको क्षति भयो।
त्यसैगरी १ सय ३३ हेक्टर क्षेत्रफल जग्गामा लगाइएको २ हजार ३२० मेट्रिकटन तरकारी बाली क्षतिग्रस्त भयो। जसबाट २३ करोडभन्दा बढी रकमको क्षति भयो। अन्य १ सय ६३ हेक्टर क्षेत्रफलमा लगाइएका ४१५ मेट्रिकटन बाली क्षतिग्रस्त हुँदा ५ करोड ६७ हजारभन्दा बढी रकमको क्षति भयो।
यसअघि खडेरीले गर्दा मधेसमा रोपाइँ पनि निकै कम भएको थियो। कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार प्रदेशका आठै जिल्लामा यस वर्ष धान रोपाइँ ८३ प्रतिशत मात्रै भएको थियो।
मधेसमा खेती योग्य जमिन ५ लाख ४२ हजार ५८० हेक्टर छ। धान रोपाइँ हुने जमिन ३ लाख ७० हजार १४५ हेक्टर छ। त्यसमध्ये ३ लाख १९ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको थियो। धान पाकेर काट्ने समयमा परेको तीव्र वर्षा र हावाहुरीले अधिकांश खेतमा धान लडेको छ। केही खेतमा बाला झुलिएर कुहिन थालेको र केही खेतमा भर्खर बाला लाग्ने क्रममा रहेको हुँदा क्षतिको दायरा अझैं बढ्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले मौसमको वर्षाको पूर्वानुमान गरे पनि त्यससम्बन्धी जानकारी सबै किसानमाझ पुग्न सकेन। ‘अहिले बासमती धान काट्ने तयारी गाउँमा गरिएको थियो तर, मैले सामाजिक सञ्जालमा मौसम बिग्रिने र वर्षा हुने सूचना पहिलानै पाएपछि गाउँमा सबैलाई केही दिन धान नकाट्न सुझाव दिए र जेनतेन धान जोगिएको छ,’ धनुषाका युवा किसान देवनारायण मण्डल भन्छन्, ‘प्रविधिमा खासै दखल नराख्ने किसानहरूलाई मौसमका बारेमा गरिने पूर्वानुमान जानकारी पाउनै गाहे छ। सबै सामाजिक सञ्जालमा सक्रिय छैनन्। यस्तो अवस्थामा केन्द्रको जल तथा मौसम विभागबाट जारि हुने सूचनाका आधारमा सम्बन्धित स्थानीय तहहरू सक्रिय हुन आवश्यक छ।’ कृषि विज्ञका अनुसार जलवायु परिवर्तनका कारण कृषि चक्र अस्थिर बन्दै गएको हो।
प्रदेश सरकार मुकदर्शक
प्राकृतिक विपद्को मारमा परेका किसानलाई राहत तथा क्षतिपूर्ति दिनेतर्फ मधेस प्रदेश सरकार निकै उदासीन देखिएको छ। प्राकृतिक विपद् आउँदा विपद् व्यवस्थापन समितिको बैठक बसेर सुझाव र अपिल गर्नुबाहेक सरकारले थप कुनै कार्यक्रम वा व्यवस्थापन गर्न सकेको छैन। ‘यो देशमा किसानको पीडा बुझिदिने कोही छैनन्। किसानले नत समयमा बिउ पाउँछन्, नत मल पाउँछन्, नत सिँचाइको सुविधानै। जेनतेन खेती गर्न खोज्दा प्रकृतिले पनि किसानलाई नै हेप्छ,’ महोत्तरीका किसान अरुण राय भन्छन्, ‘यहाँ खेती गरेर जीविकोपार्जन गर्ने सपना अब नदेखे हुन्छ। यसवर्ष त लगानी पनि वर्षाले डुबायो। ऋण लिएर गरेको खेती सबै बर्बाद भयो। अब अर्को वर्षदेखि खेती गर्दिन् बरु खेत बाँझै रहोस्।’
खेतमै भिज्यो धान
अर्घाखाँचीमा लगातारको झरीले धान खेतमै भिजेपछि कृषकहरू चिन्तित छन्। मानु रोपेर मुरी भित्र्याउने समयमा जिल्लाका विभिन्न फाँटमा काटेको धान खेतमै डुबेपछि कृषकहरू चिन्तित बनेका हुन्। जिल्लाको बागी खोला, घोचेखोला, सूर्य खोला, शीतखोला, छिर्लिंग खोलालगायतका फाँटमा लगाएको धान अविरल परेको झरीले नोक्सान गरेको छ।
धान काट्नै पाएनन्
महोत्तरीको गौशाला–४ रजखोरका रमेश महतोले वर्षाको कारण धान काट्न नपाएको गुनासो पोखे। ‘यसअघि चाडपर्वमा व्यस्त थियौं। फुर्सद पाएपछि त मौसमले साथ नदिँदा खेतमै धान नोक्सान हुने सम्भावना छ,’ उनले भने, ‘गत वर्ष पनि धान काट्ने समयमा वर्षा भएपछि खेतमै आधा धान नोक्सान भयो। यो वर्ष पनि त्यही समस्या दोहोरिँदा त मन नै खिन्न भएको छ।’
बेमौसमी वर्षाले धान काट्न मात्र नभई खेतमा अन्य बालीनाली लगाउन पनि समस्या भएको सोनमा गाउँपालिकाका किसान महेन्द्र यादवले बताए। उनले भने, ‘मौसम प्रतिकूल भएकै कारण पाकिसकेको धान काट्न पाएको छैन। धान त त्यस्तै खेर गयो। अझ समयमै धान खेत खाली नभएपछि अन्य बालीनाली लगाउन अवेला भइरहेको छ।’ आकाशे पानीको भरमा खेतीपाती हुने महोत्तरीका किसानलाई जहिले नि समस्या हुने गरेको औरही नगरपालिकाका किसान दिनेश राउत बताउँछन्। उनले भने, ‘भगवान् भरोसे खेतीपाती गर्ने किसानलाई मौसमले पनि साथ दिँदैन। रोप्ने बेलामा खेतमा पानी किनेर पठायौं। समयमा मलखाद्य पाउन सकेनांै। अहिले काट्ने बेलामा चाहिँ वर्षाले खेतमै धान नोक्सान भयो। अब के खाने? कसरी जीवन धान्ने ? भन्ने चिन्ता छ।’ चाडपर्व सम्पन्न भएलगतै हिउँदे धान काटेर खेतमा गहुँबाली लगाउने सोच बनाएका गौशालाका नरेश महतोको योजना वर्षाले तुहाएको छ। उनले भने, ‘केही दिनमा धान खेत खाली हुन्थ्यो। त्यसमा अरू बाली लगाउने सोच थियो। तर, वर्षाले केही गर्नै पाइएन।’
पोखरेली जेठोबुढो धान उत्पादनमा असर पर्ने चिन्ता
बेमौसमी झरीले पोखराको रैथाने जेठोबुढो, पहेंलेलगायतका धान उत्पादनमा असर पर्ने भन्दै किसान चिन्तित छन्। पोखरामा कुल धान उत्पादनमा ४० प्रतिशत जेठोबुढो धान उत्पादन हुन्छ। जेठोबुढो धानको दाना पुष्टिने समयमा धान ढलेको छ । दाना पुष्टिने समयमा धान ढल्दा खाना राम्रोसँग बनाउन नसक्ने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।
धान ढल्दा गुणस्तर बिग्रने र उत्पादनमा पनि असर गर्ने उनले बताए। हाइब्रिड धान पाकी सकेको र पोखरामा करिब ३० प्रतिशत हाइब्रिड धान काटिसकेको कृषि महाशाखाले जनाएको छ। बेमौसमी झरीका कारण काटेको धान भिज्यो भन्ने किसानको गुनासो त्यति नआएको पनि उनले बताए। बरु दाना पुष्टिने समयमा रैथाने जेठोबुढो लगायतका धान ढलेकोले उत्पादन घट्ने हो कि भन्ने किसानमा चिन्ता रहेको छ। पोखराको जेठोबुढो धानको पकेट क्षेत्र फेवा फाँटमा करिब ५० प्रतिशत धान ढलेको र धान उत्पादनमा असर पर्ने चिन्ता बढेको स्थानीय किसान मित्रमणि तिमिल्सिनाले बताए।
धान भित्र्याउन ढिलो
बंगालको खाडीमा विकसित मोन्था चक्रवातका कारण बर्दियामा धान दाउने तथा तोरी छर्नेसँगै आलु लगाउने किसानलाई असर पुगेको छ। मौसम पूर्वानुमान बुलेटिनले आइतबारदेखि शनिबारसम्म मौसम बदलीसँगै वर्षा र बाढीको पूर्वानुमान सम्प्रेषण गरेपछि किसानले हतार–हतार कृषि कार्य रोक्दा चाँडै पाकेका धान दाउन ढिलाइ भएको राजापुर नगरपालिका–३ निवासी जगन्नाथ खनालले बताए।
केही किसानले धान काटेर भित्र्याए पनि वर्षातको डरले ७५ प्रतिशत धान खेतमै छ। उनले भने, ‘पानी पर्ने डरले अगाडि बढ्न सकिएन। आलु लगाएका किसान र तोरी छर्न तयारी भएका किसानहरूलाई पुन खेतबारी तयार पार्नुपर्ने समस्या खटकएको छ।’ बर्दियामा भारी वर्षा त भएन पानीको छिटा मात्र परे पनि आलु लगाएका किसानलाई समस्या पार्यो।
बेमौसमी वर्षाले हिमालमा फाइदा, तराईमा समस्या
बिहीबारदेखिको बेमौसमी वर्षाले तराई र पहाडको क्षेत्रमा असर गर्ने कृषि सचिव डा. शर्मा बताउँछन्। उनी भन्छन्, ‘सामान्यतया वर्षाको अपेक्षा असोज १५ सम्म मात्रै गर्छौं। तर, यसपटक उच्च हिमाली क्षेत्रमा परेको हिउँ (स्नोफल) राम्रो मानिएको छ। यसले पानीको चिस्यान (वाटर मोस्चर कन्टेन्ट) बढाउने र लामो समयसम्म रिचार्ज गर्ने हुनाले हिमाली क्षेत्रमा खासै समस्या हुँदैन।’ उनका अनुसार यस वर्षाले मध्यपहाड र तराई भेगमा तोरी र गहुँ लगाउने तयारी गरिएका क्षेत्रमा भने नकारात्मक असर पारेको छ। ‘धान काटिएपछि तोरी लगाउने सिजन हो। खेतमा हिलो जमेकाले माटो तयार पार्न (जोत्न) र तोरी तथा अन्य तरकारी बाली लगाउन ढिलो हुने भएको छ। कसैले तोरी रोपिसकेको भए त्यहाँ पनि समस्या हुनेछ,’उनले भने।
चामल आयातमा वृद्धि हुने
मुलुकमा धान उत्पादन हुने गरे पनि भारतबाट बर्सेनि अर्बौं रुपैयाँको आयात हुने गरेको छ। जबकी मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै छ। तर, धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्ष यता सामान्य वृद्धि भएको देखिन्छ। तथापी आयातमा निर्भर मुलुक धानमा पनि पर निर्भर छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै चामल तथा धान ३९ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ बराबरको आयात गरिएको छ। यसपटक मुलुकमा खडेरीका कारण अधिकांश क्षेत्रमा रोपाइँ ढिला भएको र धान काट्नेबेला वर्षाले असर गरेको छ। यसकारणले पनि आयात गर्ने धान तथा चामलको आकार आगामी दिनमा बढ्ने अनुमान गरिएको छ।
ममता थापा: काठमाडौं
रत्नप्रसाद आचार्य: सुनसरी
मनिका झा: जनकपुरधाम
कृष्णमणि बराल: पोखरा
धनवीर महतो: महोत्तरी
प्रेमनारायण आचार्य: अर्घाखाँची
यादव आचार्य: बर्दिया
प्रतिक्रिया दिनुहोस !