जानकी माविको करोडौंको जग्गा हिनामिना

शिक्षाको मन्दिरलाई आफ्नै अस्तित्व जोगाउन गाह्रो

जानकी माविको करोडौंको जग्गा हिनामिना

जनकपुरधाम : नेपालकै  शैक्षिक धरोहर र जनकपुरको सबैभन्दा पुरानो विद्यालयमध्येको जानकी माध्यमिक  विद्यालयको साबिकको सम्पत्ति करोडौंको छ। तर, भएका सम्पत्तिलाई विद्यालय  प्रशासनले संरक्षण गर्न सकेन। जसको परिणामस्वरूप अहिले विद्यालय आर्थिक अभावका  कारण धराशायी बन्ने अवस्थामा पुगेको छ। 

२०२१ सालमा साकेत विहारी  रामजानकी मन्दिरभित्रै रहेको भवनहरूलाई मन्दिरका तत्कालीन महन्थ मौनी बाबाले  विद्यालय सञ्चालनका लागि दान दिएका थिए। त्यसभन्दा पहिले २०२० सालसम्म सो जानकी  आधारभूत विद्यालय जनकपुरको गंगासागरको डिलमा रहेको झुलाघरस्थित भवनमा  सञ्चालित थियो। सुर्खी (माटाको लेप र चुना) ले इँटा जोडेर निर्माण  गरिएको निकै पुरानो मन्दिरको भवनमा सञ्चालित विद्यालयका कक्षाकोठाहरू निकै  कमजोर भइसकेका छन्। ‘सबै कक्षाकोठामा बर्खाको बेला पानी चुहिन्छ। पर्खालहरू  कुनै पनि बेला ढल्ने खतरा छ। भवनमर्मत सम्भार गराउन कहीँ कतैबाट कुनै सहयोग  छैन,’ जानकी माविका प्रधानाध्यापक जगदीश साह भन्छन्, ‘हुन त विद्यालयको  करोडौंको सम्पत्ति छ तर, सबै अतिक्रमणमा छ। हाम्रो आफ्नो आम्दानीको  स्रोत केही छैन। हामी भवन मर्मतसम्भारका लागि पनि अर्काको मुख ताक्नुपर्ने र  सहयोग कुर्नुपर्ने बाध्यता छ।’

जनकपुरधाम उपमहानगरपालिका-९ स्थित जानकी  माविको उपमहानगरपालिकाको ८ नम्बर वडामा समेत गरी जम्मा १७ कट्ठा ७  धुर र ८ कन्मा जग्गा छ। नापी शाखा धनुषाबाट प्राप्त तथ्यांकअनुसार विद्यालय  रहेको ७ कट्ठा जग्गासहित सहरका महत्त्वपूर्ण स्थानहरूमा १० कट्ठाभन्दा बढी  जग्गा रहेको छ। तर, हाल विद्यालय रहेको वडा नम्बर ९ को सि.नं. १३५५-१२ को  कित्ता नम्बर ७५ को ७ कट्ठा ४ धुर जग्गामात्रै विद्यालयको अधीनमा छ। अन्य  सबै जग्गामा स्थानीयहरूले अतिक्रमण गरेका छन्। तर,  अतिक्रमण हटाउन  विद्यालयलाई कहीँ कतैबाट सहयोग छैन। 

विद्यालयको जनकपुरधाम- ८ मा  सि.नं. १३५५-०६ को कित्ता नम्बर ७३ को ४ कट्ठा ४ धुर २ कन्मा, सि.नं.  १३५४- १० को कित्ता नं. ५२ को १ कट्ठा, सि.नं. १३५५-०७ को कित्ता नं.  १३० को  १ धुर ३ कनमा जग्गा अतिक्रमित छ। त्यसैगरी सिट नं. १३५५-१२ को कित्ता  नं. १३ को १९ धुर १ कन्मा, सि.नं. १३५५-०७ को कित्ता नं. १०१ को  १७ धुर, १३५५-०७ को कित्ता नं. १२९ को १ कट्ठा १ कन्मा र १३५५-१२  को कित्ता नं. ३७ को २ कट्ठा १ धुर १ कन्मा जग्गामा जनकपुरका चर्चित  व्यक्तिहरूले नै वर्षौंदेखि कब्जा जमाएका छन्। 

मन्दिरलाई बनाइएको थियो विद्यालय 
जनकपुरस्थित रंगभूमि मैदानको छेउमै थियो–प्रसिद्ध साकेत विहारी रामजानकी मन्दिर। सो मन्दिरका संरक्षक थिए, छोटे मौनी बाबा भनिने मैथिली वल्लभशरण वैष्णव। मौनी बाबा सामाजिक कार्यमा निकै अग्रसर हुन्थे। शैक्षिक गतिविधिलाई बढावा दिन र बालबालिकाहरूलाई शिक्षा आर्जनमा सहजता होस् भन्ने उद्देश्यका साथ मौनी बाबाले मन्दिरकै भवनहरूलाई कक्षा कोठाको रूपमा विस्तार गरी मन्दिरसहित सम्पूर्ण भवनहरू जानकी माविलाई सुम्पेका थिए। 

विद्यालयको स्थापना २०२१ सालमा भएको हो। तर, २०३१ सालमा मौनी बाबाले औपचारिक रूपमा तत्कालीन प्रधानाध्यापक उपेन्द्र झासँग मञ्जुरीनामा गरी मन्दिरको सम्पूर्ण जग्गा र भौतिक संरचना विद्यालयलाई हस्तान्तरण गरेको अभिलेख छ। ‘सांकेत विहारी रामजानी छोटे मौनी बाबाको संरक्षणको नाममा दर्ता कायम रहेको जग्गा मेरो दरान तिरानको जग्गामध्ये रमदैया भवाडी गाउँ पञ्चायतको जग्गाबाहेक रंगभूमिस्थित जानकी हाइस्कुललाई तत्कालीन उक्त स्कुलका प्रधानाध्यापक लोकराम पाण्डेमार्फत उक्त स्कुलको प्रांगणमा स्थापित भगवान्को मन्दिरमा दैनिक पूजाआजाको काम चलाई बाँकी रहेको आयस्था उक्त स्कुलले खानपाउने गरी तत्कालीन जिल्ला पञ्चायत कार्यालय धनुषा मालबाट मिति २०२५।८।१२ मा बन्देजपत्र पास गरी दिएको छु। साथै जानकी माध्यमिक विद्यालयको हितका लागि मेरो तर्फबाट उल्लेखित अधिकारपत्र लेखी दिएको छु।’ मौनी बाबाले विद्यालयलाई दिएको अधिकारपत्रमा उल्लेखित छ। 

‘यो विद्यालयभित्र मन्दिर छैन। यहाँ मन्दिरलाई नै विद्यालय बनाइएको छ र मन्दिरको मातहत रहेका सम्पूर्ण सम्पत्ति विद्यालयको जिम्मेवारीमा सुम्पिएको थियो। तर, त्यसको संरक्षण न त यहाँका प्रधानाध्यापकहरूले गर्न सके, न त विद्यालय व्यवस्थापन समितिहरूले गर्न सक्यो। न त हामी शिक्षकहरूले नै,’ जानकी माविका शिक्षक दिगम्बर झा भन्छन्, ‘पटकपटक अतिक्रमण रोक्न प्रयास गरें। केही वर्ष अघिमात्रै विद्यालयकै १७ धुर जग्गामा घर निर्माण थाल्दा मैले निकै हल्लाखल्ला गरेको थिएँ। तर, त्यसबापत पुरस्कार के पाए भने मेरो सरुवा गाउँको विद्यालयमा गरियो । त्यसैले यहाँ डरधाक, धम्की देखाएर सम्पत्ति मास्ने काम हुँदैछ।’

मोहीलाई दिइएको जग्गा व्यक्तिगत सरह प्रयोग
मन्दिरको पूजाआजा, चाडपर्व र दैनिकी चलाउनका लागि सो बेला हालको जानकी मावि रहेको सांकेत विहारी मन्दिरका संरक्षकहरूले मन्दिर मातहतको जग्गाहरू खेतीपातीको लागि भन्दै स्थानीयहरूलाई मोही तोकेर दिएका थिए। मोहीयानीबापत आउने अन्नपात र धेरथोर रकमले मन्दिरको खेवाखर्च चल्थ्यो। तर, मन्दिरका जग्गाहरू विद्यालयको अधीनमा आइसक्दा पनि मोही दिने प्रचलन रोकिएन। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूकै मिलोमतोमा जग्गाहरू मोही दिन थालियो। तर, खेतीका लागि मोही दिइएका जग्गाहरूलाई मोहीहरूले निजी बनाएर खरिद बिक्रीसमेत गरे। 

जानकी मावि अधीनमा रहेको जनकपुर–९ स्थित १०१ कित्ता नम्बरको १७ धुर जग्गा अच्युतप्रसाद उपाध्यायलाई मोही कायम गरी उपलब्ध गराइएको थियो। तर, सो जग्गा उनले पछि निर्मलादेवी साहलाई बिक्री नै गरे। हाल उक्त जग्गामा निजी घर निर्माण गरिएको छ। ‘मोही कायम गरिएको जग्गा खरिदबिक्री गर्न पाइँदैन। तर, यहाँ सबथोक भएको छ। हामीले जग्गा जोगाउन सबै पक्षलाई जानकारी गरायौं तर, उल्टै धाकधम्की खेप्नु पर्‍यो’ विद्यालयका पूर्वप्रअ तथा हालका शिक्षक मनोज ठाकुर भन्छन्, ‘यहाँ विद्यालय राम्रो होस् भन्ने कसैको चाहना छैन। विद्यालयको सम्पत्तिलाई कति दोहन गर्न सकिन्छ त्यसतर्फ नै सबैको ध्यान छ।’

१२९ कित्ता नम्बरमा रहेको विद्यालयको १ कट्ठा १ कन्मा र ३७ कित्ता नम्बरमा रहेको २ कट्ठा १ धुर १ कन्मा जग्गा स्थानीय शिवराम झालाई धानखेतीका लागि मोही कायम गरी उपलब्ध गराइएको थियो। तर, सो जग्गालाई उनले पछि श्रीमती चन्द्रावती झालाई मोही बनाएर उपभोग गरे। हाल छोरा अञ्जनी झालाई मोही कायम गरिएको छ। करोडौं मूल्यको सो जग्गालाई निजी प्रयोजनमा उपभोग गरिँदै आएको छ। 

त्यसैगरी ४ कट्ठा जग्गा स्थानीय गोपाल झाले मोही भएर भोगचलन गर्दै अतिक्रमण नै गरिसकेका छन्। ‘हाम्रो विद्यालयको जग्गा अतिक्रमण गर्नेमा समाजका गन्यमान्य व्यक्तिहरूको संलग्नता छ,’ शिक्षक ठाकुरले अन्नपूर्णकर्मीसँग भने, ‘प्रहरी, प्रशासन, जनप्रतिनिधि र आफूलाई समाजका सुधारक भन्नेहरू समेतले यो अतिक्रमणप्रति मौनता देखाएका छन्। शिक्षकहरूमात्रै कति लड्ने ? लड्दा उल्टै अतिक्रमणकारीहरूको निशानामा परेका छौं।’

मालपोत कार्यालय धनुषाको जग्गा धनी दर्ता श्रेस्तामा उल्लेख भएअनुसार विद्यालयले खड्गप्रसाद भट्टराईलाई १० धुर, कुमुदिनी देवीलाई ११ धुर, तेजनारायण चौधरीलाई २ कट्ठा, सत्यनारायण झालाई १ कट्ठा ५ धुर, सुर्दशन झालाई १५ धुर, भूषण झालाई १ कट्ठा २ धुर, मिथिला शरणप्रसाद सिंहलाई १३ धुर, अच्युतप्रसाद उपाध्यायलाई १ कट्ठा, कृष्णकुमारी उपाध्यायलाई १ कट्ठा १२ धुर जग्गा मोही दिएको थियो। त्यसैगरी आनन्दप्रसाद उपाध्यायलाई १ कट्ठा ४ धुर जग्गा मोही दिएको अभिलेखहरू भेटिन्छ। 

मोही दिइएको जग्गाहरूलाई जग्गाधनीमै फर्काउनु साटो २०४४ साल फागुन २४ गते जनकपुर गुठी तहसिल तथा खर्च कार्यालय जनकपुरले गरेको एक विवादास्पद निर्णयले अतिक्रमणकारीहरूको मनोबललाई बढाउने काम गर्‍यो। सो निर्णयअनुसार गुठी संस्थान अधीनस्थ कुतमा भोगी चर्चिआएको जग्गा मोहीहरूको नाममा प्रतिकट्ठा जिन्सी मनखप बुझाई भोगकर्ताको नाममा दर्ता गर्ने काम भयो। सो बेला गुठीले जनकपुर सहरी क्षेत्र भित्रको जिन्सी मनखप जग्गाको प्रतिकट्ठा दर नै निर्धारण गरेको थियो। 

जसअन्तर्गत ‘क’ वर्गको प्रतिकट्ठा ११ हजार, ‘ख’ वर्गको १० हजार, ‘ग’ वर्गको ९ हजार, ‘घ’ वर्गको ८ हजार, ‘ङ’ वर्गको ७ हजार र ‘च’ वर्गको ६ हजार दर कायम गरिएको थियो। ‘विद्यालयका थुप्रै मोही जग्गाहरू गुठीको सोही निर्णयअनुसार स्थानीयहरूले जिन्सी मनखप बुझाएर आफ्नो नाममा नामसारी गराए। तर, केही जग्गामा मोही बसेकाहरूले नामसारी गराउन छुटेका थिए,’ जनकपुरधाम उपमहानगरपालिका-९ का वडाध्यक्ष तथा जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर साह भन्छन्, ‘गुठीले केही दिनका लागि निर्णय गरे पनि पछि त्यो प्रावधान हट्यो। तर, सो बेला जिन्सी मनखप बुझाएर जग्गा नामसारी पनि नगराएका तर, हालसम्म मोही बसेकाहरूले सोही निर्णयलाई हालसम्म नजिर मानेर जग्गामा हकदाबी गर्दै आएका छन्। यसका विरुद्ध अदालतमा मुद्दा चलिरहेको छ।’

विद्यालयबाट मोही जग्गा लिएकाहरूले कानुनबमोजिम जग्गाधनीलाई वार्षिक रूपमा कुत बुझाउनुपर्ने व्यवस्था छ। तर, हालसम्म जानकी माविलाई कुनै पनि मोहीले कुत बुझाएका छैनन्। भूमिसम्बन्धी ऐन २०२१ का अनुसार मोहियानी हक खरिद बिक्री नहुने व्यवस्था छ। मोहीयानी हक खरिद गर्न वा दान दातव्यको रूपमा वा अरू किसिमले हक छोडाई लिन नपाउने कानुनी व्यवस्था छ। सरकारी वा गैरसरकारी बिगो वा सजायमा लिलाम बिक्री नहुने व्यवस्था पनि कानुनमा छ। 

गुठीको जग्गा अतिक्रमणका विषयमा गृह मन्त्रालयको २०८० फागुन ९ गते को विज्ञप्तिमा सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएको जग्गा गैरकानुनी वा अनाधिकृत रूपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएको देखिएको उल्लेख छ। त्यसरी अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैरकानुनी रूपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेसमेत आह्वान गरेको थियो। तर, सरकारको सो निर्णयको फाइदा उठाएर जानकी माविको अतिक्रमित जग्गा जोगाउन पहल भएन।

‘यसै वर्ष हाम्रो २ कट्ठा जग्गामा अतिक्रमण हुँदा निर्माण कार्य रोक्नका लागि मैले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई गुहारे। तर, उहाँले कुनै सुनवाइ गर्नु भएन,’ प्रअ साहले भने, ‘जग्गा जोगाउन जाँदा मुद्दा खेप्नेदेखि लिएर गाली बेइज्जती सबै सुन्नु परेको छ। यो हाम्रो व्यक्तिगत जग्गा होइन समाजको सम्पत्ति हो र यसको संरक्षणका लागि समाजले सहयोग गर्नै पर्छ।’

विद्यालयलाई सामान्य खर्च टार्न धौ धौ
कुनै बेला जनकपुरको नाम चलेको शैक्षिक संस्थाको रूपमा रहेको जानकी माविलाई हाल अस्तित्व जोगाउन गाह्रो हुँदै गएको छ। विद्यालयमा नाम लेखाएका छात्रछात्राहरूको संख्या पाँच सयभन्दा बढी छ। तर, कक्षा कोठामा मुस्किलले सयदेखि डेढ सय जना जुट्ने गरेका छन्। ‘सार्वजनिक विद्यालय भएकोले विभिन्न सुविधा पाउने लोभमा रजिस्टरमा नामांकन गराउने बढी छन् तर, अधिकांश यहाँ नाम लेखाएर निजी विद्यालयहरूमा पढ्छन्,’ जानकी माविका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज मिश्र भन्छन्, ‘शैक्षिक गतिविधिमा निकै ह्रास आएको छ। राजनीति बढी हाबी भएको छ। ’

‘जुन बेला हामी यो विद्यालयमा अध्ययनरत थियौं त्यत्तिखेर जनकपुरभरि चारवटा मात्रै विद्यालय थिए। हाम्रो पालामा विद्यार्थी संख्या पनि १५ सयभन्दा बढी नै थियो र पढाइ पनि अब्बल हुन्थ्यो,’ जानकी माविबाटै कक्षा १० सम्म अध्ययन गरेका पूर्वविद्यार्थी राधेश्याम झा भन्छन्, ‘पहिला निकै राम्रो व्यवस्थापन थियो तर, जहिलेदेखि विद्यालयमा राजनीति सुरु भयो त्यही बेलादेखि धराशायी हुँदै गएको छ।’

पाँच सय विद्यार्थीलाई अध्यापन गराउनका लागि मात्र १६ जना शिक्षक शिक्षिकाको दरबन्दी छ। जेनतेन विद्यालयको अध्यापन सञ्चालन गरिरहेको जानकी माविमा सामान्य खर्च जुटाउन पनि कुनै स्रोत छैन। प्रअ साह भन्छन्, ‘अहिले यिनै खर्च र गर्जो टार्नका लागि विद्यालयको अनुपयोगी कक्षा कोठाहरूलाई क्यान्टिनका लागि भाडामा दिएका छौं। त्यसैगरी दुईवटा थप सटरहरू बाहिरबाट निकालेर एउटा निजी क्लिनिकलाई भाडामा लगाएका छौं। भाडाबाट महिनाको १६ हजार जति रकम आउँछ, जसबाट हामी सानातिना खर्चहरू पूरा गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.