हाँसीखुसी अभाव र गरिबी टार्दै चेपाङ परिवार
गोरखा : पाँच वर्षपछि गण्डकी १ थापागाउँ पुग्दा भिरालो पखेरामा बाँसको कप्टेराले बारेको, कटुसको स्याउलाले छाएको टहरो देखिएन। बरु त्यही ठाउँमा ढुंगामाटोको गारो अनि जस्ताले छाएको एक कोठेघर उभिएको थियो। त्यो पनि आलो माटोले लिपेको भर्खर बनेजस्तो देखिन्थ्यो।
सानै भए पनि टहरोबाट घरमा सर्न पाउँदा पवित्रा चेपाङको भुइँमा खुट्टा छैन। अर्थात् तला नभएको साँगुरो झुप्रोमा बस्दै आएकी उनी अहिले तला भएको घर पाएपछि भुइँमा बस्दिनन्, माथिल्लो तलामा मात्रै बस्छिन्। १३ वर्षकी पवित्रामात्र होइन, उनकी १० वर्षकी बहिनी सिर्जना, ७ वर्षकी प्रमिला, ६ वर्षकी निशा र ४ वर्षकी बहिनी पूजा पनि उनीसँगै लस्करै माथिल्लो तलामा खेलिरहन्छन्। भर्खर–भर्खर तलामा बस्न पाएकाले होला तलामोह धेरै नै देखिन्थ्यो।
यो घर आफ्नै हो भनेर दाबी गर्न प्रमिलाले कापीको पानामा निलो मसीले लेखेर भित्तामा माटाले टालेकी छिन्, ‘प्रमिलाको घर’।पाँचै दिदीबहिनी औधी मिल्छन्, साथीजस्तै। उनीहरूको एउटै स्वभाव छ, बिनाकाम गाउँघर चाहारेर नहिँड्ने। विद्यालय समयभन्दा अघि वा पछि फुर्सद हुँदा पनि कहिल्यै गाउँ चाहार्दैनन्। गाउँका दौतरीहरूलाई उनीहरू चाहियो भने यतै धाउँछन्। पोहोरसम्म उनीहरू बाँसको कप्टेराले बारेको घरमा बस्थे। बुबा बुद्ध चेपाङले ४८ वर्षको उमेरसम्म हाडछाला घोटेको कमाइले बल्लतल्ल यस वर्ष ठडिएको एक कोठेघर छ। खेल्न, बस्न, थकाइ लाग्यो भने सुत्नलाई यहीँभित्र ठाउँ छ। घरमा राख्ने अन्नबाली, लुगाकपडा नभए पनि ओत लाग्ने घर उनीहरूले पाएका थिए।
हावाहुरी चल्दा, पानी पर्दा बस्न नसकिने टहरोबाट अब अलिअलि भए पनि पक्की घरमा बस्न पाएपछि अहिले सबै परिबार खुसी छन्। ९० हाराहारीका बाजे (थापा माहिला)लाई भने नयाँ घर बनेकामा हर्ष न बिस्मात। किनभने, उनको बास उनी मात्र अटाउने सानो कटेरोमा थियो। ओछ्यानबाट उठ्न नसक्ने उनलाई बस्ने ठाउँ आँगनको छेउमा बनाइएको थियो। ज्येष्ठ नागरिक उभिन, बस्न, नमिल्ने छाप्रोमा उनी थन्किएका थिए।
‘चामल यी यहाँ छ’, फरासिली सिर्जना बिनाप्रसंगको विषयमा उत्साहित हुँदै बोरा देखाउन दौडिइन्। चामल पिँधमा देखेपछि लजाउँदै भनिन्, ‘यो सक्किएपछि फेरि बाबाले अर्काे बोरा ल्याउँछ।’ आफ्नो बारीको उब्जनीले एक महिना पनि नधान्ने उनीहरूको प्राण यही बोराले धानेको छ। बुबाआमालाई दुःख छ भन्ने जानेर उनीहरूमा कुनै रहर जाग्दैन।
अभावमा पनि उनीहरूमा तनाब छैन, असन्तुष्टि छैन, न त तृष्णा नै। ‘मीठो खान पनि माग्दैनन्। जे खान दियो त्यही खान्छन्। राम्रो लगाउन पनि माग्दैनन्। जस्तो दियो त्यस्तै लगाउँछन्। पाँचवटै छोरीहरू उस्तै छन्’, बुद्ध चेपाङ भन्छन्, ‘बाहिर जति दुःख भए पनि घरभित्र छोरीहरूसँग बस्न आनन्द छ।’ पाँचै दिदीबहिनी एक घण्टाको बाटो पर गोर्दीमा रहेको जनजागृति आधारभूत विद्यालयमा पढ्छन्। स्कुल टाढा भए पनि उनीहरू दिन नबिराइकन कक्षामा हाजिर हुन्छन्।
पाँच वर्षअघि त्यहाँ पुग्दा पवित्राबाहेक उनीहरू धुलो माटोमा निर्वस्त्र भएर खेलिरहेका भेटिन्थे। उमेर बढ्दै गएपछि अहिले उनीहरू आङ ढाक्ने कपडामा भेटिन्छन्। भरपेट खाना, आङ ढाक्ने पर्याप्त लुगाकपडा नभए पनि सुखी र खुसी देखिन्छन्। ‘मोबाइल त कहाँ खेलाउन पाउनु ? ’ फरासिली सिर्जना हाँस्दै भन्छिन्, ‘बुबासँग एउटा टिकटिके फोन छ। नम्बर पनि थाहा छैन।’
१३ वर्ष लागेकी पवित्रामा बिस्तारै किशोरी सुलभ लक्षणहरू देखिन थालेका छन्। तर, उनीसँग त्यसलाई व्यवस्थापन गर्ने आधारभूत उपायहरू छैनन्। यो बुझे पनि बुबाआमासँग यसलाई सम्बोधन गर्ने उपाय पनि छैन। आवश्यकता छ तर माग छ्रैन, आपूर्ति पनि छैन। मनमनै महसुस गरी पवित्राका दिन बितिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !