युवा जनशक्ति बिदेसिएपछि गाउँ–गाउँमा ‘थ्रेसर दाइँ’

युवा जनशक्ति बिदेसिएपछि गाउँ–गाउँमा ‘थ्रेसर दाइँ’

गोरखा : गोरखाका गाउँ–गाउँमा थ्रेसर प्रयोग गरेर दाइँ गर्ने प्रचलन बढेको छ। विगत पाँच वर्षयता प्रवेश गरेको थ्रेसरको प्रयोग गाउँहरूमा बर्सेनि बढ्दै गइरहेको छ। दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासी स्वीकार्छन्।

युवा (पुरुष) जनशक्ति विदेश पलायन भएपछि मेसिनले दाइँ गर्ने प्रचलन बढेको हो। मेसिनले गर्ने दाइँमा दयँरे पनि महिलाहरू हुने गरेको पालुङ्टार नगरपालिका– ९ का महेन्द्र श्रेष्ठको भनाइ छ। ‘पुरुषहरू त गाउँमा कमै छन्। त्यसैले घान हाल्ने र खन्याउने ठाउँमा चाहिँ पुरुष हुन्छन्। अरू काममा त प्रायः महिलै हुन्छन्’, उनले भने।

हाल गोरखामा ६० प्रतिशत दाइँ सकिएको छ। जसमध्य प्रायः तल्लो भेगको समथर फाँटहरूमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। ‘अहिले तल्लो भेगको ठूला फाँटहरूमा जहाँतहीँ थ्रेसरको प्रयोग गरेर दाइँ भइरहेको छ। माथिल्लो भेगको साना गरा भएका टारी खेतहरूमा भने दयँरे र हल गोरु प्रयोग गरेरै दाइँ हुने गरेको छ’, केन्द्रका सूचना अधिकारी सुमन भट्टराई भन्छन्, ‘गोरखा नगरपालिका, पालुङ्टार नगरपालिकाका, सिरानचोक गाउँपालिकाका फाँटहरूमा थेसर प्रयोग हुन्छन् भने बारपाक सुलिकोट, भीमसेन थापा र गण्डकी गाउँपालिकाका टारी फाँटहरूमा अहिले पनि मान्छेले नै दाइँ गर्ने गरेका छन्।’

ठूला फाँटहरूमा दयँरे र हलगोरुको प्रयोग गरेर दाइँ गरेको दृश्य दुर्लभ भइसकेको स्थानीय किसानहरूको भनाइ छ। पालुङ्टार नगरपालिका– ९ को फाँटमा मात्र सातवटा थ्रेसर मेसिन चल्ने मेसिनधनी महेन्द्र श्रेष्ठ बताउँछन्। ‘एक महिनायता सात वटा मेसिनलाई भ्याइनभ्याइँ भएको छ’, उनले भने, ‘एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा पनि अझै माग धान्न गाह्रो छ।’ कृषिमा यान्त्रिकीकरण हुनु सुखद पक्ष हो। यान्त्रिकीकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ। उनका अनुसार खर्च घटाउनुमात्र प्रमुख कारण नभई युवा जनशक्ति पलायनका कारण पनि थ्रेसर दाइँको परम्परा बढेको हो। ‘ठूला फाँटहरू भएका र चक्लाबन्दी गरेका ठाउँमा जनशक्ति पलायनका बेला थ्रेसर वरदान सावित भएको छ’, उनी भन्छन्।

दाइँमा मात्र नभै गोरखाका फाँटहरूमा रोपाइँमा पनि ट्र्याक्टरको प्रयोग हुने गरेको छ। ठूला फाँटहरूमा र चक्लाबन्दी गरेका प्रायः सबै खेतहरूमा रोपाइँमा ट्र्याक्टर र दाइँमा थ्रेसर मेसिनको प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। जनशक्ति कम भएका बेला कृषिमा यान्त्रिकीकरण बाध्यकारी जस्तै भइसकेको कार्यालयको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.