पर्साको एमाले पार्टी कार्यालयमा तालाबन्दी, महाधिवेशन प्रतिनिधि चयनको चुनाव स्थगित
वीरगन्ज : पर्सामा नेकपा एमाले ११औं केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौटको चुनावी प्रक्रिया विवादका कारण स्थगित भएको छ।
प्रतिनिधि छनौट प्रक्रियामा धाँधली भएको भन्दै एक समूहले विरोध गर्दै शुक्रबार जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेपछि महाधिवेशन प्रतिनिधि छनौटका लागि हुने चुनावी प्रक्रिया हालका लागि स्थगित गरिएको एमाले पर्साका सचिव महेश दासले बताए।
युवा क्लस्टरमा प्रदीप यादव र सन्तोष पासवानको उम्मेदवारी परेकोमा प्रदीप यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको आरोप लगाउँदै यादव समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो। अन्याय र मनोमानी निर्णय गरेको आरोप लगाउँदै गर्दै प्रदीप यादव समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।
त्यस्तै दलिततर्फ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका वीरगन्ज-३२ का सोनालाल हजरा हालै अर्को पार्टी त्यागेर एमाले प्रवेश गरेकाले महाधिवेशन प्रतिधिनिका लागि उनको हकमा ७ वर्षे नियम नछुने बताउँदै उनको उम्मेदवारी कायम हुनुपर्ने एमाले वीरगन्ज महानगर कमिटीका लेखा समिति अध्यक्ष अजय साहले बताए। अन्य पार्टीबाट आएकाहरूको ७ वर्षे म्याद लागू नहुने भए पनि पर्सामा केही नेताहरू आफू खुसी लागू गरेको साहको आरोप छ।
पर्सामा एमाले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर १० देखि सुरु निर्वाचन तालिका अनुसार शनिबार मतदान हुने तय गरिएको थियो। तर, शुक्रबार एक समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले हालका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको जिल्ला सचिव दासले जानकारी दिए। विवाद सुल्झाउनका लागि नेताहरु छलफलमा जुटिसकेको उनले बताए।
एमालेको आसन्न ११औं केन्द्रीय महाधिवेशनका लागि पर्सा जिल्लाको ५ वटै निर्वाचन क्षेत्रबाट गरी कूल ३५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। त्यसका लागि ९३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रक्रियामा १८ हजार १५० जना मतदाताले भाग लिनेछन्।
प्रतिक्रिया दिनुहोस !