गर्भवतीका लागि गाउँमै भिडियो एक्सरे
सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य अवस्था थाहा पाउनका लागि भिडियो एक्सरे गर्नका लागि सन्धिखर्क तथा बुटबल जानुपर्ने बाध्यतामा रहेका शितगंगाका गर्भवती महिलाको सुविधाका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए।
यस आर्थिक वर्षमा शितगंगा नगरपालिकाका १२ वटा वडामा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ। वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन भएको यो सेवाबाट ग्रामीण क्षेत्रका १ सय ५० भन्दा बढी महिलाको अल्ट्रासाउन्ड गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले बताए।
गर्भवती जाँच र अल्ट्रासाउन्ड गर्नकै लागि सन्धिखर्क तथा बुटबलमा महंगो खर्च गरेर जान नपरोस् स्वास्थ्य सेवा गाउँमै प्रदान होस भन्ने उद्देश्यले गाउँमै गएर अल्ट्रासाउन्ड गर्न सुरु गरिएको नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !