उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी
गोरखा : उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो १ बजेतिर आगलागी भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए।
आगलागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको उनले बताए। सो भवनको करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए। त्यहाँ लामासहित ६० जना भिक्षु बस्ने गरेको उनले बताए।
आगलागीको कारण भने खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। घटनाको कारण र यसबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनको भनाइ छ। यहाँको रिपुम गुम्बा हजार वर्ष प्राचीन मानिन्छ। जलेको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो।
प्रतिक्रिया दिनुहोस !