अद्यावधिक प्रक्रियामा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता
मतदाता नामावली अद्यावधिक सच्याउन मंसिर २६ सम्म अवसर
काठमाडौं : के मतदाता नमावलीमा नाम दर्ता गराउँदा तपाईंको केही त्रुटि भएको थियो ? कसैले मतदाता नामावलीमा दोहोरो नाम लेखाएको छ ? अनि मृत्यु भएको व्यक्तिको नाम पनि मतदाता नामावलीमा भएको तपाईं थाहा छ ? त्यसो हो भने मतदाता नामावली अद्यावधिक (दाबी/विरोध) गर्न निर्वाचन आयोगले मंसिर २६ सम्मको समयसीमा दिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रारम्भिक चरणको मतदाता नामावली आयोगको वेबसाइटमा सार्वजनिक गरेको छ। मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत कुनै पनि मतदाताले दाबी/ विरोध गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (कट–अफ डेट) निर्धारण गर्दै अद्यावधिकका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। मंसिर ५ सम्म देशभरिबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट शनिबार मिति निर्णय भएको थियो।
‘देशैभरिबाट संकलित मतदाता नामावली दाबी/विरोधका लागि हामीले निर्वाचन आयोगको वेबसाइटमा प्रकाशित गरेका छौं,’ उनले भने, ‘आफैंले आफ्नो मतदाता नमावली हेर्नुस्, त्रुटी भए सच्याउन निवेदन दिनुस् र अर्काको बारे आयोगलाई मंसिर २६ भित्र सूचना दिनुहोस्।’
अनलाइनबाटै दाबी/विरोधको निवेदन
मतदाता नमावली बारे दाबी/विरोध र त्रुटि सच्याउन आयोगको अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने सकिने छ। यसमा सर्वसाधारण तथा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि आयोगले अपिल गरेको छ।
प्रवक्ता भट्टराईका अनुसार कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिनुपर्ने छ। कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिनुपर्ने छ। ‘मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिनुहोस्,’ उनले भने, ‘मतदाता नामावली अद्यावधिक (दाबी/विरोध) कार्यक्रममा उल्लिखित कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ। यसरी प्राप्त निवेदन, सूचनाबमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पुरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुने छ।’
अद्यावधिक प्रक्रियामा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि मंसिरसम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम भरेका थिए। निर्वाचन कार्यालयमा गएर ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाताले आवेदन दिएका थिए। नयाँ थपिएका मतदातासहित कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६ सय ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ।
२०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो। मतदाता नामावली अद्यावधिक (दाबी/विरोध) कार्यक्रमअन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित, थप शुद्ध तुल्याउन आममतदाता एवं सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेको आयोगले जनाएको छ। मंसिर २६ भित्र प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमासम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
‘पायक पर्ने मतदान स्थल छनोट गर्नुहोस्’
मतदाताको सहजताका लागि तोकिएको मापदण्ड र प्रक्रियाबमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससमेतका आधारमा आयोगबाट केही मतदान स्थलहरू पुनरावलोकन गरिएको छ। प्रवक्ता भट्टराईले भने, ‘आफूले मतदान गर्ने मतदान स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने मतदान स्थल छनोटका लागि निर्वाचन आयोगको वेबसाइट वा प्रदेश, जिल्ला निर्वाचन कार्यालय मार्फत मंसिर २६ भित्र निवेदन दिनुपर्ने छ।’
समानुपातिक निर्वाचन प्रणाली तर्फ ६७ दलको निवेदन
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन सोमबारसम्म ६७ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो। मंसिर २१ गते ३३ र २२ गते ३४ वटा राजनीतिक दल गरी ६७ वटा दल निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता भट्टराईले जनाए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।
आयोगका अनुसार राजनीतिक दलहरूले निवेदन दिँदासम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्नेछ। उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !