गोरखाको हिरासत कक्ष बन्दीको मानवअधिकारमैत्री
गोरखा : जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षलाई स्तरोन्नति गरिएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रहरी कार्यालयले हिरासत कक्षलाई बन्दीको मानव अधिकार अनुकूल बनाइएको प्रहरी प्रमुख एसपी भरत बिकले जानकारी दिए।
उनका अनुसार अबदेखि गोरखा हिरासतमा रहेकालाई भेट्न आउने आफन्तहरुले बन्दीका लागि ओढ्ने, ओछ्याउने बोकेर आउनु नपर्ने भएको छ। सरसफाइ र न्यानोका लागि स्तरोन्नति गरिएको एसपी बिकले जानकारी दिए।
‘यसअघि हिरासत रहेकाहरुका लागि आफन्तले घरबाट ओढ्ने कम्मल, ओछ्याउन म्याट्रेससमेत ल्याइदिनु पर्ने अवस्था थियो’, उनले भने, ‘अहिले हामीले बन्दीको मानव अधिकारलाई सम्मान गरी पर्याप्त सरसफाइ गरेका छौँ। न्यानो ओढ्ने, ओछ्याउनेको व्यवस्था गरेका छौँ। तातो–चिसो पानीको व्यवस्था, थर्मस, टिसर्ट लगायतका सुविधा उपलब्ध गराएका छौँ ।’
गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा प्रहरी कार्यालयले हिरासत कक्षा सुदृढीकरण गरेको हो। दुई पालिकाबाट जुटेको तीन लाख ९४ हजार आर्थिक सहयोगले हिरासत कक्षामा रङ्गरोगनसहित थप सेवा सुविधाहरु थपिएको एसपी भरत बिकले बताए।
उनका अनुसार हिरासतमा रहेका व्यक्तिहरुको मौलिक अधिकार, सुरक्षा, स्वास्थ्यता र मानव अधिकार संरक्षण गर्ने उद्देश्यसहित हिरासत कक्षालाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाएको हो। ‘पहिला र अहिलेको हिरासतको अवस्था धेरै अन्तर छ’, उनी भन्छन्, ‘पहिला आधारभूत सेवा सुविधा पनि दिन सकिरहेका थिएनौँ। अहिले आर्थिक सहयोग जुटाएर स्तरोन्नति गरेका छौँ।’
प्रतिक्रिया दिनुहोस !