एमाले महाधिवेशन : पदाधिकारीका असंख्य आकांक्षी

एमाले महाधिवेशन : पदाधिकारीका असंख्य आकांक्षी

काठमाडौं : एमालेको पदाधिकारी बन्न ५० भन्दा बढी नेताले आकांक्षा राखेका छन्।  हाल लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल र टोपबहादुर रायमाझी सचिव छन्। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेकाले पद निलम्बनको अवस्थामा छ। केही बिदा हुने र केही माथिल्लो पदमा जाने भए पनि अधिकांश पुरानैलाई  व्यवस्थापन गर्न गाह्रो छ। थप आंकाक्षी बग्रेल्ती छन्।  

कोशी प्रदेशबाट हाल योगेश भट्टराई सचिव छन्। उनले ईश्वर पोखरेल समूहबाट महासचिवमा लबिङ गरिरहेका छन्। महासचिव नपाए भट्टराई उपमहासचिवको उम्मेवार बन्ने पक्का जस्तै छ। कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राई पनि महासचिवका अर्का प्रमुख दाबेदार हुन्। उनले उपमहासचिव नपाए सचिवका लागि लबिङ गरिरहेका छन्। अन्यमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्रप्रसाद गौतम, भीम आचार्य, हिक्मत कार्की, विनोद ढकाल, भानुभक्त ढकाल, अग्नि खरेल, विशाल भट्टराईलगायतले लबिङ गरिरहेका छन्। भीम आचार्यलाई भने पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलको भ्रष्टाचार मुद्दा लागेको छ। विनोद ढकालबाहेक सबै संस्थापन पक्षका हुन्।

मधेसबाट पदाधिकारीमा सचिव रघुवीर महासेठ छन्। उनले सचिवभन्दा माथिल्लो पदमा दाबी गर्ने तयारी छ। उपाध्यक्ष नभएमा उपमहासचिव त्यो पनि नपाए सचिवमा नै दोहोरिने छन्। महासेठका साथै मधेस प्रदेश पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले पदाधिकारीका लागि लबिङ गरिरहेका छन्।

बागमती प्रदेशबाट पदाधिकारी आंकाक्षीको संख्या झन् धेरै छ। हाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल बागमतीबाट छन्। अष्टलक्ष्मी उपाध्यक्षमा पुनः दोहोरिने कि नदोहिने भनेर खुलेकी छैनन्। उनी ईश्वर पोखरेल समूहमा छिन्। सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्न नपाए उपाध्यक्षमा नै उम्मेदवार हुने पक्का छ। माओवादीबाट आएका थापाले पनि निरन्तरताको विषयमा बोलिसकेका छन्। अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सधैं जसो सहयोगीको भमिका रहँदै आएका रिमाललाई व्यवस्थापन गर्नेुपर्ने बाध्यता ओलीलाई छ।

यस्तै, बागमती प्रदेशबाट काशीनाथ अधिकारी, रघुजी पन्त, राजन भट्टराई, गोकुल बास्कोटा, महेश बस्नेत, शेरबहादुर तामाङ, बिन्दा पाण्डे, माधव ढुंगेल, आनन्द पोखरेल, महेशकुमार बर्तौला, पार्वत गुरुङ, रचना खड्कागायतले पदाधिकारीमा जाने चाहना राखेका छन्। बास्कोटा र पाण्डे पोखरेल समूहका हुन् बाँकी सबै संस्थापन पक्षमा छन्।

गण्डकी प्रदेशबाट हाल पृथ्वीसुब्बा गुरुङ उपमहासचिव र पद्माकुमारी अर्याल सचिव छन्। गुरुङले महासचिवमा लबिङ गरिरहेका छन्। महासचिव नपाए उपाध्यक्षमा जाने वा उपमहासचिवमा नै दोहोरिन सक्छन् गुरुङ। अर्यालले उपमहासचिवमा उक्लने चाहाना राखेकी छिन्। अर्याललाई महाधिवशेनको प्रचारप्रसारको जिम्मेवारी पनि अध्यक्षले सुम्पिएका छन्। उनी उपमहासचिव नभएमा सचिवमा नै दोहोरिने छिन्। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, किरण गुरुङ, पदम गिरी, थममाया थापा र जगत विश्वकर्मालगायत पदाधिकारीमा उक्लन चाहन्छन्।

लुम्बनी प्रदेशमा आकांक्षीको लाइन नै छ। हाल उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी गण्डकीका हुन्। भुटानी नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलिरहेकोले रायमाझी निलम्बनमा छन्।

पौडेल उपाध्यक्षमा नै दोहरिने पक्का छ। उनले अध्यक्ष र महासचिवमा आफ्नो दाबी नरहेको बताइसकेका छन्। युवराज ज्ञवाली ईश्वर पोखरेल समूहमा खुले पनि पदाधिकारीको चुनाव लड्न÷नलड्ने भन्नेमा खुलेका छैनन्। वर्तमान महासचिव पोखरेल र उपमहासचिव ज्ञवाली महासचिवका दाबेदार हुन्। पोखरेल र ज्ञवाली दुवै अध्यक्ष ओलीका अतिविश्वास पात्र, योजनाकार पनि हुन्। पोखरेललाई पुनः महासचिव बनाएर ज्ञवालीलाई उपाध्यक्ष वा उपमहासचिवमा नै दोहोर्याउने वा पोखरेललाई उपाध्यक्ष बनाएर ज्ञवालीलाई महासचिव बनाउने भन्ने विषयमा अध्यक्ष ओली पनि दुविधामा रहेको उनी निकटहरू बताउँछन्। सचिव विष्ट पनि ईश्वर पोखरेल टिममा छन्। उनले महासचिव बन्ने चाहना राखेका छन्। पोखरेल समूहबाट महासचिवको उम्मेदवार बन्न नपाए उपमहासचिव पदका लागि विष्ट बलिया दाबेदार हुन्। विष्ट नवौं र १० औं महाधिवेशनबाट दुई पटक सचिव भइसकेकाले अब पुन ः तेहरिने सम्भावना भने कम नै छ।

उता ०७९ सालमा दलित समुदायबाट १६५ सिटमा एक मात्र प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा उपाध्यक्ष वा उपमहासचिवको दाउमा छन्। त्यसो नभए उनी पुनः सचिवमा नै दोहोरिने सम्भावना पनि छ। लुम्बिनी प्रदेशबाट सूर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, लीला गिरीलगायत नेता पदाधिकारीका लागि दौडधुपमा छन्। झाक्री हालै एमालेमा फर्किएको र चर्चित नेतृसमेत भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवको उम्मेदवार बनाउने सम्भावना प्रबल छ। ठाकुर गैरे ईश्वर पोखरेल समूहमा खुलेका छन्।

कर्णाली प्रदेशबाट हालको कमिटीमा कोही पनि पदाधिकारी छैनन्। त्यसकारण यस पटक कर्णालीबाट पदाधिकारी बनाउनैपर्ने नेतृत्वलाई दबाब छ। प्रदेश मुख्यमन्त्री यामलाल कँडेल, गोरख बोगटी पदाधिकारीको लबिङमा छन्। नीरज आचार्य, विष्णु रिजाललगायतले पनि सचिवमा उठने चाहना राखेका छन्।

सुदूरपश्चिम प्रदेशबाट सचिवमा लेखराज भट्ट एक जना मात्रै पदाधिकारी छन्। नेकपा कालमा माओवादी केन्द्रबाट आएका भट्टको व्यवस्थापन चुनौती छ। उनलाई पदाधिकारीमा समेट्नै पर्ने दबाब नेतृत्वमाथि छ। भीम रावलले एमाले छोडेपछि अवस्था समाल्न पनि सुदूरपश्चिममा एमाले बलियो प्रतिस्पर्धी तयार गर्नुपर्ने देखिएको छ। विद्यादेवी भण्डारीको सदस्यताको विषयमा सुरुआतदेखि नै लबिङ गरिहेका स्थायी कमिटी सदस्य कर्ण थापा र केन्द्रीय सदस्य ऐन महर पनि पदाधिकारीको दौडमा छन्। 

सुदूरपश्चिमबाट पूर्वउद्योगमन्त्री दामोदर भण्डारी, पोलिटब्युरो सदस्य नारदमुनि राना र लीला भण्डारी पनि पदाधिकारी हुने आकांक्षा राखेका छन्। दोस्रो महाधिवेशनबाट पारित विधानअनुसार हाल अध्यक्षसहित पदाधिकारीको संख्या १५ मात्रै छ। जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र ७ सचिवको व्यवस्था छ। यति धेरै आकांक्षीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती नेतृत्वलाई छ। त्यति मात्रै होइन, केन्द्रीय कमिटीमा आउने इच्छा राख्ने पनि असंख्य छन्। २० प्रतिशत प्रतिनिधि ४० वर्षमुनिका छन्। विधान महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो।

अन्तिमसम्म सहमतिको ढोका खुला
एमालेले नेतृत्व चयनको अन्तिम समयसम्म सहमतिका निम्ति सबै ढोका खुला राख्ने जनाएको छ। महाधिवशेनको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले नेतृत्व चयनमा सहमतिका लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीले सहमतिका निम्ति पार्टी प्रयत्नशील रहेको बैठकपछि बताए। ‘जबसम्म उम्मेदवारीको मनोनयनको बेला हुँदैन, दाबी÷विरोध हुँदैन, उम्मेदवारी फिर्ता लिने अन्तिम सीमा कटेर अन्तिम सूची प्रकाशन गर्ने बेला नभएसम्म सहमतिका निम्ति सबै ढोका खुला हुन्छन्, उनले भने, ‘हामी सहमतिका निम्ति प्रयत्नशील नै छौं।’

अन्तिमसम्म पनि सहमति नभएमा एमालेले स्वस्थ, लोकतान्त्रिक र मर्यादित रूपमा एकतालाई सुदृढ गर्ने गरी नेतृत्व तय गर्ने पनि उनले जानकारी दिए। उपमहासचिव ज्ञवालीले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने विधानमा नै व्यवस्था छ। ‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कुल संख्याको ५ प्रतिशतले हुन आउने १ सय ८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले शनिबार सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भने।

सचिव योगेश भट्टराईले महाधिवेशनलाई मर्यादित ढंगले सम्पन्न गर्ने साझा प्रतिबद्धता जनाइएको बताए। सचिवालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति बनेको छ। उनले ईश्वर पोखरेलको दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने सहमति भएको जानकारी दिए। पोखरेलले २२ गते महासचिव शंकर पोखरेललाई छुट्टै राजनीतिक एवं सांगठनिक दस्ताबेज बुझाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.